भर्खरै :

धान रोप्ने खेतमा जथाभावी डोजर चलाएपछि जनता आन्दोलित

भक्तपुर, १३ असार । चाँगुनारायण नपा वडा नं ५ सैनिक शिक्षालय ब्यारेकदेखि वडा कार्यालय छालिङ्ग जाने बाटोमा सहरी विकास प्राधिकरणले असारे बजेट विनियोजन गरी जथाभावी जनताको खेतमा ठेकेदारमार्फत डोजर चलाउने काम गरेपछि बाटोमा जग्गा पर्ने स्थानीय जनता आन्दोलित भएका छन् ।
जग्गावाला स्थानीय किसानहरूले आफूसँग सरसल्लाह नगरी केही सीमित व्यक्तिले उपभोक्ता समिति गठन गरी बाटो फराकिलो पार्ने नाममा घर जग्गाबाट उठिबास गराउने हिसाबले खेतमा डोजर चलाउने काम गरेको बताए । काठमाडौंँ उपत्यका विकास प्राधिकरणबाट विनियोजित योजनामा उपभोक्ता समिति बनाउन आवश्यक नरहने भए तापनि कमिसनको खेलमा विकासे दलालहरूले समिति बनाएर जनता झुक्याउने काम गरेका छन् ।
सरकारले पुँजीगत खर्च गर्न नसकेर हैरान भएको अवस्थामा केही व्यक्तिहरूको सेटिङअनुसार उक्त बजेट असारमा छोडिएको हो । कमिसनको चक्करमा किसानले धान रोप्दै गरेको खेतमा हतार–हतार जथाभावी डोजर चलाएपछि किसान आन्दोलित भए । यस्तै गरी हस्तक्षेप गरे आफूहरू प्रतिकारमा उत्रने पीडित जनताले बताए ।
चाँगु नगरपालिकाले अवैज्ञानिक ढङ्गबाट सैनिक शिक्षालयदेखि रातोपाटी पुलसम्म सेन्टरबाट दायाँबायाँ ६ मिटर र त्यसभन्दा माथि ७ मिटर तोकी एउटै बाटोमा फरक–फरक मापदण्ड बनाएपछि यो अवस्था आएको स्थानीयले बताए । अहिले बाटो निर्माणको क्रममा आधा बाटो सेन्टरबाट ६÷६ मिटर दायाँबायाँ र आधा बाटो ७÷७ मिटर दायाँबायाँ चौडाअनुसार अव्यवहारिक ढङ्गले काम थालेको देखिन्छ ।
त्यसरी बाटो चौडा गरे साविक गाविस छँदा ५ मिटरको मापदण्डअनुसार निर्माण गरिएको करिब २५÷३० घर भत्किने र बाटो छेउ थोरै जग्गा भएका जनताको जग्गा पनि सकिने अवस्था सृजना हुने देखिन्छ ।
आफूहरू हिँड्ने बाटोमा स्थानीय जनतासँग परामर्श नगरी आफूखुसी मापदण्ड तोकेर नगरपालिकाले जनतालाई अन्यायमा पारेको गुनासो छ । नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले सबै कुरा जानेको हुन्छ भन्ने होइन । यसकारण मापदण्ड तोक्दा आफूहरूसँग अन्तरक्रिया गर्नुपथ्र्यो । सो नगर्दा जनता अन्यायमा परेको गुनासो वडावासीहरूको छ ।
ठेकेदारले जबरजस्ती गर्न थालेपछि पीडित जनता वडा कार्यालय घेराउ गर्न पुगे । चानपा ५ का वडाध्यक्षले छालिङ्गकै तेलकोटबाट नाट्टेश्वरी चाँगु दुवाकोट हुँदै मुलपानी जोड्ने बाटोको मापदण्ड सेन्टरबाट ७÷७ मिटरको भए पनि जनइच्छाअनुसार दुवैतर्फ ५÷५ मिटरको चौडाअनुसार स्तरोन्नति गर्दै गरेको उदाहरण दिँदै सैनिक शिक्षालयबाट वडा कार्यालय आउने छोटो बाटो भएकोले दुवैतर्फ ५÷५ मिटरभन्दा बढी बनाउनु आवश्यक नभएको उल्लेख गर्दै चाँगु नपाका मेयरले ७÷७ मिटरकै बनाउनुपर्छ भनेर पेलेपछि आफू अन्योलमा परेको बताउनुभयो । उहाँले कोही जनताको घरबास उठिबास नहोस् भन्ने पक्षमा आफू रहेको र ५÷५ मिटरमात्रै बाटो चौडा गर्दा व्यवहारिक हुने पनि बताउनुभयो । स्थानीय जानकारका अनुसार नेकपाका कार्यकर्ताहरूले नपामा आफू जितेको दम्भ देखाउँदै वडा कार्यालयमा अनावश्यक दबाब दिने र आफूखुसी उपभोक्ता समिति गठन गरी योजनामा हात हालेर अनियमित गर्ने गरेका छन् ।
स्थानीय जनताले अनावश्यक ढङ्गले बाटो चौडा गर्ने काम तत्काल रोक्न र जग्गावाला स्थानीयको रायअनुसार काम गर्न शुक्रबार उपत्यका विकास प्राधिकरण भक्तपुर, चाँगुनारायण नपा, चानपा ५ नं वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हस्ताक्षरसहितको निवेदन दर्ता गराएका छन् । यसरी निवेदन पेश गरेपछि पनि सम्बन्धित निकायले जबरजस्त गरे प्रतिकारमा उत्रने चेतावनी पीडित जनताले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *