भर्खरै :

भक्तपुर नगरपालिकाको नगरसभा चालू

भक्तपुर, १४ असार । भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाको बैठक शनिबार पनि चालू रह्यो । सभाले ‘भक्तपुर नगरपालिकाको विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका २०७६’, ‘भक्तपुर नगरपालिका खेलकुद प्रशिक्षकसम्बन्धी कार्यविधि २०७६’ पारित गरेको छ ।
सभाका सभाअध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र आइपर्ने विपद् व्यवस्थापनको लागि प्राप्त कोष परिचालन गर्न विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका तयार गरेको, भक्तपुर नगरपालिकाका क्षेत्रभित्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट अनुशासित र स्वस्थ राख्न, लागूपदार्थ सेवनजस्ता कुलतबाट जोगाउन र नगरवासी युवाहरूको अभिन्न अङ्गको रूपमा विकास गर्न खेलकुद प्रशिक्षकसम्बन्धी कार्यविधिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
पारित निर्देशिका र कार्यविधिमाथि नगर सभासद्हरू बलराम न्हिसुतु, राजेन्द्र माक, श्यामसुन्दर मातां, सिद्धिराम अवाल र गोविन्द दुवाललगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
भक्तपुर नगरपालिकाको विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका २०७६ सभासद्हरूद्वारा व्यक्त जिज्ञासामाथि विधायन समितिका संयोजक हरिराम सुवालले विपद् व्यवस्थापन कोषको प्रयोग र खर्चबारे प्रस्ट पार्नुभयो ।
युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले हाल नगर खेलुकद समितिले ६ वटा विभिन्न खेलहरूको प्रशिक्षण सञ्चालन गरिरहेको जानकारी गराउँदै युवाहरूलाई देशको सार्वभौमिकता रक्षामा दत्तचित्त बनाउन र छाडा संस्कृतिविरूद्ध सचेतना फैलाउन कार्याविधिले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
२०७६ असार १० गते भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पेश गर्नुभएको आ.व. २०७६÷७७ को वार्षिक बजेटबारे भएको छलफलमा नगरसभासद्हरूले आ–आफ्नो सुझावहरू राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *