‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
– मेरिना शाक्य
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच सिद्धान्त र विचारको मात्र होइन सरकारी गतिविधिकै विषयमा राय बाझिएका छन् । प्रधानमन्त्री केपी ओलीले मन्त्री हेरफेरको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । तर सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद्को हेरफेरबारे अर्का अध्यक्ष ओलीसँग छलफल भइरहेको बताएकै हुन् । नेकपा अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीसँग परामर्श भइरहेको फुकेपछि पो मन्त्रिमण्डलको हेरफेरसम्बन्धी समाचार प्रकाशमा आएको हो । नेता र मन्त्रीहरुले नभनिकन, नबताइकन मन्त्रिमण्डल हेरफेरजस्तो कुरा कसरी सञ्चार माध्यममा आउँछ । मन्त्रिमण्डल हेरफेर गर्नेसम्बन्धी हल्ला गर्ने सत्तारुढ दलकै नेता र मन्त्रीहरु हुन्, अनि त्यो हल्ला सही होइन भन्ने पनि तिनै दलका नेता र मन्त्री हुन् ।
नेकपा अध्यक्ष दाहाल फुक्दै जाने र सोको खण्डन अर्का अध्यक्ष ओलीले गर्दै जाने घट्नाक्रमले दाहाल र ओलीबीचको अन्तरविरोधको दूरी चालै नपाइकन बढिरहेको अनुभूति सोही पार्टीका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरुले गर्न थालेका छन् । मन्त्रिमण्डल हेरफेर गर्ने सन्दर्भमा यसभन्दा पहिले पनि चर्चामा आएकै हो । सक्रियताको आधारमा मन्त्रीहरुको वर्गीकरणसमेत गरिएको थियो । निष्क्रिय मन्त्रीहरुको हेरफेर हुने चर्चा अरुले होइन सत्तारुढ दलकै नेताहरुले व्यक्त गरेका थिए । प्रम ओली आफैले पनि रवीन्द्र अधिकारीको निधनपछि मन्त्रिमण्डल हेरफेर हुने कुरा बताएका थिए । आफै बोक्सी आफै धामी भएर हल्ला गर्ने सत्तारुढ दलका नेता र मन्त्रीहरु किन अरुलाई दोष दिन्छन् ?
आव २०७६÷७७ को बजेट पारित भएपछि मन्त्रिमण्डल हेरफेर हुने चर्चा के सत्तारुढ दलका नेताहरुले गरेका होइनन् ? बजेट पारितसँगै सरकारको कामलाई पनि नयाँ ढङ्गले अघि बढाउन मन्त्रिपरिषद् हेरफेर हुने अभिव्यक्ति के नेकपाका अध्यक्ष दाहालले दिएका होइनन् ? दाहालको उक्त अभिव्यक्तिप्रति ओलीले समर्थन नगर्नु या कुरो अन्त लैजानु अर्को कुरा हो । नेकपाभित्रको गतिविधिलाई नियाल्दा दाहालको अभिव्यक्तिप्रति ओलीले खण्डन गरेका छन् । सरकारको नेतृत्व परिवर्तन गर्ने सहमतिसम्बन्धी दाहालको अभिव्यक्तिको पनि खण्डन गरिएको छ । दाहालले सहमतिअनुसार पालैपालो प्रधानमन्त्री हुनपाउनेबारे दिइएको अभिव्यक्तिको स्वर सेलाउन नपाउँदै प्रम ओलीमात्र होइन पूर्वएमालेका मन्त्रीहरु पनि ५ वर्ष कुनै हालतमा सरकारको नेतृत्व नहुने दाबी गर्छन् । अध्यक्ष दाहाल कहिलेसम्म अध्यक्ष ओलीको उठबसमा बसिरहने हुन् ? के अध्यक्ष दाहाल अध्यक्ष ओलीका कठपुतली अध्यक्ष हुन् ?
Leave a Reply