देश र जनताको सेवाबाहेक हाम्रो कुनै निजी वा पार्टीगत स्वार्थ छैन
- माघ २२, २०८२
प्रस्तुतिः सृजना
मानिसहरू मन्दिर जान्छन् धर्म गर्न । हामी जनताको बीचमा जान्छौं । दुःख सुख साट्छौं । समस्याका पहाडहरू वेदनाका कथाहरू सुन्छौं । सङ्घर्षका पन्नाहरू पल्टाउँछौं । केही उनीहरूको जीवनबाट सिक्छौं । केही उनीहरू सिक्छन् – हाम्रो जीवनबाट । त्यसो त मानिसहरूको सेवा गर्नुभन्दा ठूलो धर्म कहाँ छ र ? पुण्य मिल्छ, ठूलो सन्तुष्टि मिल्छ । हो, त्यही सन्तुष्टिमा नै त छ जीवन ।
समाजका उत्पीडित महिलाहरू स्वतन्त्रता र अन्यायविरुद्ध मुठी उठाउन जब जान्दछन्, खुसी भएर बाजेबज्यै र आमाबुबाले जब शिरमा हात राखी ‘तँ ठीक बाटोमा छस्, भलो गरेस् समाजको‘ भन्दै आशिष दिन्छन् तब मन फुलेर आउँछ । केटाकेटीहरूको आँखामा हामीप्रतिको श्रद्धा देख्छु । इज्जतको जीवन बाँचिरहेछु भन्ने अनुभूत हुन्छ र सङ्घर्षको बाटोमा हिँड्न अझ हौस्याउँछ । गज्जब लाग्यो एक महिला अगुवा पञ्चमाया दुवालको भावना । उहाँलाई हामी ‘पञ्चलक्ष्मी’ भनेर चिन्छौं । उहाँ अहिले नेपाल क्रान्तिकारी महिला सङ्घ र वडाको नेतृत्वमा हुनुहुन्छ भने नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समितिको कोषाध्यक्ष भएर काम गरिरहेको बताउनुहुन्छ ।
केटाकेटीहरूको आँखामा हामीप्रतिको श्रद्धा देख्छु । इज्जतको जीवन बाँचिरहेछु भन्ने अनुभूत हुन्छ र सङ्घर्षको बाटोमा हिँड्न अझ हौस्याउँछ ।
सानो टेलर्स खोलेर आफ्नो सीपको उपयोग गरिरहनुभएको छ । आर्थिक निर्भरताले महिलाहरूलाई उठ्न अझ गार्हो पर्ने भएकोले आफ्नो खुट्टामा उभिनु नै जाती हो भन्नुहुन्छ ।
उनलार्ई टेलर्समा भेट्न जाँदा लुगा सिउने मेसिनमाथि ‘केटीहरू’ बुलेटिन देखें र सोधिहाले–‘तपाईं यहाँ पनि पढ्नुहुन्छ र ?’ मुस्कुराउँदै भन्नुभयो–‘अँ अलिअलि पढ्छु, कामबाट फुर्सद मिल्ने बेलामा । ‘केटीहरू’ बुलेटिन नेक्रामसङ्घको मुखपत्र । पार्टी प्रकाशनहरू पढिरहेकी हुन्छु । त्यही प्रौढ कक्षाको भर त हो नि, छिटोछिटो पढ्न सकिन्न, विस्तारै पढ्छु । पढिएन भने रित्तिन्छु भन्नुहुन्छ ।
उहाँको जन्म २०२८ सालमा जेंला टोलमा भयो । आमा गणेशमाया दुवाल र बुबा भाइ दुवाल, उहाँका २ दिदी र १ भाइ, एक बहिनी छन् । भाइ बहिनी पनि सङ्गठित छन् ।
उतिबेला पढ्नुपर्छ, पढाउनुपर्छ भन्ने संस्कृतिको विकास भइसकेको थिएन । छोराहरू विद्यालय जान थाले पनि छोरीहरूलाई ‘हामी पनि उनीहरूसँगै पढ्न शिक्षालय जान सक्दछौं र पाउँछौं भन्ने कुराको चेत थिएन । किसान परिवार दिनभरि खेतमा पसिना बगाउन पाए पुग्ने । बिहान बेलुकीको छाक जोहो गर्न पाए पुग्ने । हात गोडामा हिलो नलागे निन्द्रा नपर्ने । साँचै, जस्तो परिवेशमा जन्म्यो, हुर्केपछि त्यस्तै परिवेश जीवन पद्धति बन्ने रहेछ । उहाँ पनि त्यही समाजमा जन्मेका, हुर्केका । पढ्न शिक्षालय जान पाउनुभएन । तर पढ्ने सपना भने नभएको होइन ।
वडावडामा सेवा सदनबाट प्रौढ कक्षा सञ्चालन गरियो । लगत्तै २०४४ तिरबाट भक्तपुर नगरपालिकाले प्रौढ कक्षा सञ्चालन गर्यो । कक्षामा जान थाल्नुभयो, खुसी हुँदै । पढ्ने सपना उज्यालो भएर आएको थियो भन्नुहुन्छ । निरन्तर कक्षामा सहभागी हुँदा पढ्न कठिन पनि महसुस गर्नुभयो तर हजारौं पाइलाको यात्रा पाइला पाइला गरी सुरु हुन्छ आत्तिनु हुँदैन भनेर दाइहरूले उत्साह दिने क्षणहरू सम्झनुहुन्छ ।
‘उता श्रमिकमा बिहानी कक्षा सञ्चालन भएको बेला यता २ वडामा सुनिल प्रजापति सर, राम सर, कान्छा सरहरूले कानुनका कुराहरू, भूगोल, इतिहासका कुराहरू पढाउनुहुन्थ्यो । महिलाहरूको सहभागिता उत्साहप्रद, दैनिक २०–२५ जना हुन्थ्यो । त्यतिबेला महिला सङ्घ २ वडामा मङ्गललक्ष्मी दिदी, सत्यलक्ष्मी दिदीहरूले नेतृत्व गरिरहनुभएको थियो । मेरो प्रवेश अलिक पछि नै भयो’, उहाँले भन्नुभयो ।
त्यतिबेला म तान बुन्थें । तान बुन्दा पनि पाठहरू कण्ठ गर्थें, खेतमा काम गरिरहँदा स्मरण गर्थे । मेहनत गर्नुपर्छ भन्ने लाग्थ्यो, उहाँ भन्नुहुन्छ ।
श्रमिकमा बिहानी कक्षा सञ्चालन भएको बेला यता २ वडामा सुनिल प्रजापति सर, राम सर, कान्छा सरहरूले कानुनका कुराहरू, भूगोल, इतिहासका कुराहरू पढाउनुहुन्थ्यो । महिलाहरूको सहभागिता उत्साहप्रद, दैनिक २०–२५ जना हुन्थ्यो ।
सुरूसुरूमा त आमा कराउनुहुन्थ्यो, ‘जाउ जाउ पढ्न जाऊ, काम एकातिर थन्क्याउ, तान कुनामा थन्क्याउ अनि जाऊ पढ्न’ भनेर गाली गर्नुहुन्थ्यो । यद्यपि उहाँका पाइला रोकिएनन् ।
उहाँ भन्नुहुन्छ, ‘हामीले कक्षामा माओ त्सेतुङका श्रीमती च्याङ क्युङ चिन्थ्यौं । चीनको सांस्कृतिक क्रान्तिमा उनको योगदानहरू सुन्थ्यौं । जेनी माक्र्स चिन्थ्यौं । माक्र्सको जीवनमा जेनी माक्र्स नभएको भए माक्र्सलाई गार्हो हुने कुरा दाइहरूबाट बुझ्थ्यौं । क्लारा जेट्किन र अन्तर्राष्ट्रिय महिला नेतृहरूलाई त्यहीबाट चिन्यौं । त्यसकारण ती कक्षाहरू कुनै शिक्षालयभन्दा कम थिएनन् ।’
नगरपालिकाले सञ्चालन गरेका तालिमहरूमा सरिक हुनुभयो । सिलाइ–बुनाइ, पाक कक्षा, उन्नत बीउविजन तालिम, फ्रेबिक पेन्ट, बुट्टा भर्ने तालिमहरूमा भाग लिनुभयो । उहाँ नै प्रशिक्षक भएर सिलाइ तालिम वडामा ४ पटक चलाउनुभयो । यसरी महिलाहरूलाई एउटै मालामा उन्न प्रौढकक्षा र विभिन्न तालिमहरूले सघायो । महिलाहरू घरको चार भित्तामात्र बस्ने प्राणी भन्थे तर भक्तपुरका महिलाहरू घेरा तोडेर सिक्ने र सिकाउने अभियानमा जुटिरहेका थिए । स्वाबलम्बी बन्न सीपहरू सिक्दै थिए ।
‘हामीले कक्षामा माओ त्सेतुङका श्रीमती च्याङ क्युङ चिन्थ्यौं । चीनको सांस्कृतिक क्रान्तिमा उनको योगदानहरू सुन्थ्यौं । जेनी माक्र्स चिन्थ्यौं । माक्र्सको जीवनमा जेनी माक्र्स नभएको भए माक्र्सलाई गार्हो हुने कुरा दाइहरूबाट बुझ्थ्यौं । क्लारा जेट्किन र अन्तर्राष्ट्रिय महिला नेतृहरूलाई त्यहीबाट चिन्यौं । त्यसकारण ती कक्षाहरू कुनै शिक्षालयभन्दा कम थिएनन् ।’
अचानक २०४५ सालमा विनासकारी भूकम्प गयो । भक्तपुरका गरिब जनताका घरहरू गर्ल्यामगुर्लुम्म ढले । परिस्थिति प्रतिकूल बन्दै थियो । भूकम्पको चपेटा त थियो नै त्यसमाथि पञ्चायतले त्यस विपत्तिलाई नेपाल मजदुर किसान सङ्गठनलाई षड्यन्त्रमा फसाउने जालो बन्यो । कर्णप्रसाद ह्योजूलाई मारेको भन्दै नेमकिपाका नेता–कार्यकर्ताहरूलाई राज्यले पक्राउ गर्यो । ‘रोहितलाई फाँसी दे’ भन्ने नारा लगायो । धेरै अग्रज दाइहरू पक्राउ पर्नुभयो । केही दाइहरू भूमिगत ।
उहाँ भुन्नुहुन्छ, ‘त्यतिबेला थाहा पाएँ गोप्यता के हो ? नेतृत्वले कति बुद्धिमतापूर्वक काम गर्छन् ? कसरी रणनीतिहरू तयार पारिन्छन् ? सड्ढटमा नआटिइकन कसरी अघि बढ्नुपर्छ ?’
महिलाहरूको भेलाहरू हुन थाले । जुलुस, कोणसभा, मसाल जुलुसहरू भए । हाकुपटासी लगाउने महिलाहरूदेखि सबै सबै न्यायका पक्षपाती महिलाहरू सङ्गठित भए । ‘एक थुकी सुकी, हजार थुकी नदी भने झैं उतिबेलाको महिला एकता महिला सशक्तीकरणको नमुना बन्यो । नेपाल क्रान्तिकारी महिला सङ्घको नेतृत्वमा विभिन्न चोटा बैठकहरू, टोल टोलमा, घरघरमा निरन्तर चलिरह्यो । दिनरात खटिनुको विकल्प थिएन । उहाँको घरमा केही दाइहरू भूमिगत बस्नुभएको थियो । उहाँ सम्झनुहुन्छ, ‘दाइहरू जे पकाएर दिंदा पनि खानुहुन्थ्यो । पानीरोटी, सुकेको साग, रोटी, खोले जे पनि ।’
‘एउटै भावनाले सक्रिय राख्थ्यो हामी महिलाहरूलाई । अलि उठ्न थालेका हामी, अब पखेटा कातिने भयो । दाइहरूलाई जेलबाट निकाल्न सकेनौं भने हाम्रो अस्तित्व समाप्त हुन्छ । हामीले पाएको हक खोसिन्छ । हामी अझ दास बनाइन्छौं ।’ भोक, प्यास, थकान नभनी लाग्नुभयो । सर्जमिनपछि ४ दिन थला परेको स्मरण गर्नुहुन्छ ।
झूटको ढोल कति टिक्ला र ? अन्ततः सत्यको जीत भयो । २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा वडा सदस्यको जिम्मेवारीमा नेमकिपाबाट उम्मेदवारी दिने अवसर जुट्यो । ‘हामी प्रौढ कक्षाबाट दिक्षित बनाइएका सभाहरूमा बोल्न त्यति डर हुन्नथ्यो । विचार प्रचार गर्यौं, जित्यौं । सदस्यहरूमध्ये सबैभन्दा बढी भोट आएको स्मरण गर्नुहुन्छ ।
सुनिल प्रजापति वडाध्यक्ष जितेको उक्त वडामा बाटोघाटो निर्माणका गतिविधिहरू, स्वास्थ्य शिविरहरू, जनचेतनामूलक कार्यक्रमहरू, पोलियो थोपा खुवाउने अभियानहरू र स्त्रीरोगसम्बन्धी कार्यशालाहरू चलाएको सम्झनुहुन्छ ।
वृद्ध भत्ता बाँड्न हामी त्यतिबेला वृद्धवृद्धाहरूको सहजताको लागि उहाँहरूको घरघर जान्थ्यौं । सञ्चो–बिसञ्चो सोध्थ्यौं । खुसी मान्नुहुन्थ्यो । हामीलाई चिन्ने हाम्रो व्यवहारले हो त्यसकारण शिष्ट आचरण बोकेरै काम गर्यौं, उहाँले बताउनुभयो । प्रतिगमनविरोधी आन्दोलन र जनआन्दोलन २०६२/०६३ मा पनि सक्रियतापूर्वक लाग्नुभयो ।
२०७२ को भूकम्प पनि अनुभव गर्नुभयो । धेरैको घर भत्कियो । सामानहरू, खाद्यान्न पुरिए । बस्ने बास थिएन । टहरामा बस्यौं । शिविरको बसाई अनुभव गर्यौं । ‘मैले अच्चम्मलाग्दो मानव आचरण पनि देखें शिविर बस्दा । मान्छेहरूले एक पाटा जस्ता, एक अञ्जुली चामल, एक कचौरा दाल, एक प्याकेट बिस्कुट–चाउचाउ दिनेहरूको गुणगान गरिरहेका थिए भने बिहानदेखि नसुतेसम्म के–कसरी हुन्छ भूकम्प पीडितलाई नीतिगत न्याय बढी राहत दिलाउने भनी लागिपरेका अगुवाहरूलाई गाली गरिरहेका थिए ।
शिविरमा बसिरहँदा आमा बिसञ्चो हुनुभयो । ओछ्यानमै थला पर्नुभयो । जसोतसो कोठा खोजेर आमाको लागि अलिक सहज वातावरण मिलायौं । साथीहरूले आपतमा निकै सहयोग गरेको कुरा सम्झँदै आफ्नो कुरा राख्नुभयो । केही समयपछि आमा बित्नुभयो ।
उहाँ नेक्राकिसङ्घमा पनि भएकोले त्यहाँको जिम्मेवारी पनि पूरा गरिरहनुभएको छ । महाधिवेशन, सम्मेलनमा चलाइने ठूल्ठूला मेसहरू चलाउने काम गर्ने ठाउँमा प्रायः उहाँ छुट्नुहुन्न । ‘उपत्यका बाहिर सुर्खेत, धनकुटा, धरान, दार्जिलिङलगायत विभिन्न ठाउँ पुगेको छु । सङ्गठनको माध्यमले पुगेको छु’, उहाँ भन्नुहुन्छ ।
असल र राम्रो बाटोमा हिंडे पनि मान्छेहरूले कुरा काट्न छोड्दैन । सबैलाई निको नलाग्न सक्छ । बाटो कठिन छ । समाजवादी व्यवस्था नआएसम्म गरिब जनताको सुख नआउने स्पष्ट हो । त्यसमाथि विपन्न महिलाहरूको मुक्ति त्यहीं व्यवस्थामा मात्र सम्भव छ । अथक र दृढ भएर लाग्नुपर्छ । आरोहअवरोह स्वीकार्दै बढ्नुपर्छ – उहाँ भन्नुहुन्छ ।
हामी परेर सिकेका, नयाँ पुस्ता पढेर सिकेका । नयाँ पुस्ताले भक्तपुर जस्तो शिक्षाले उज्यालो पारेको ठाउँमा हुर्कन पाएका छन् । कोही डाक्टर, कोही इञ्जिनियर, नर्स, शिक्षक, पत्रकार भएका छन् । जहाँ पुगे पनि निःस्वार्थ रूपमा सेवा गर्नुपर्छ भन्ने भावना यही भक्तपुरको गर्विलो इतिहासबाट सिकोस् भन्ने लाग्छ, उहाँ जोड दिनुहुन्छ ।
Leave a Reply