भर्खरै :

सहमतिपछि चिया उद्योग सञ्चालन

इलाम, १५ असार । स्थानीय तहले बनाएको चियाको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य निर्धारण गर्न नसकिने भन्दै उद्योग नै बन्द गरेका सूर्योदय नगरपालिकाका चिया उद्योगीले आजदेखि उद्योग सञ्चालन गरेका छन् ।
नगरपालिकासँग शनिबार बेलुका बसेको बैठकबाट सहमति जुटेसँगै आजदेखि चिया उद्योग सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले तोकेको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य दिएमा चिया उद्योग सञ्चालन गर्न नसकिने भन्दै सूर्योदय टी एशोसिएसनमा आबद्ध ५२ वटा चिया उद्योग गत बिहीबारदेखि बन्द भएका थिए । तर ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ कायम राख्ने तर एउटा चिया उद्योगले अस्वीकार गरेको चिया अर्को उद्योगले नलिने सहमतिपछि उद्योग खुलेका हुन् ।
यसभन्दा अघि हामी उद्योगीबीच पनि जथाभावी गुणस्तरहीन चिया किन्ने प्रचलन थियो । सूर्योदय टी एशोशिएसनका सचिव गोपाल कट्टेलले भन्नुभयो, “अब चियाको गुणस्तर कायम नै राखेर एउटा उद्योगले नलिएको चिया अर्कोले पनि नलिने गरी सहमति भएको छ ।”
नगरको कार्यविधिमा किसानले न्यूनतम ४० प्रतिशत सुइरो भएकै हरियोपत्ती उद्योगलाई बेच्नुपर्ने, उद्योगीले त्यस्तो पत्तीको कम्तीमा प्रतिकिलो ४० रुपैयाँ किसानलाई दिनुपर्ने उल्लेख छ । “कार्यविधिमा भएकै व्यवस्थालाई नगरपालिकाले उद्योगी र किसानसमेत समेटिएको टोली बनाएर अनुगमन गर्ने सहमति भएको छ”, छलफलमा सहभागी सूर्याेदय नगरका आर्थिक समिति संयोजक देवेन्द्र शर्माले भन्नुभयो । अनुगमनका लागि चिया विस्तार आयोजनाका प्रमुख रामअवतार साहको संयोजकत्वमा १३ सदस्यीय समिति बनाउने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *