भर्खरै :

वनस्पति विज्ञ पाण्डेको शत्वार्षिकी मनाइने

काठमाडौँ, १६ असार (रासस) : नेपालका प्रथम वनस्पतिविज्ञ प्रयागराज पाण्डेको बुधबार शत्वार्षिकी मनाइने भएको छ । विसं १९७६ मा काठमाडौँमा जन्मनुभएका पाण्डेको पहलमा २०१६ सालमा सरकारी तवरबाट वनस्पति विभागको स्थापनापछि नेपालमा वनस्पतिको खोज तथा अनुसन्धान शुरु भएको थियो ।
नेपालको आर्थिक विकासमा टेवा पु¥याउने वनस्पति क्षेत्रको विकासमा पहिलो विज्ञका रुपमा गर्नुभएको योगदानलाई चिरस्मरण गर्न पाण्डेको शत्वार्षिकी मनाइन लागेको वनस्पति विभागका पूर्वमहानिर्देशक हरिकृष्ण सैँजुले राससलाई जानकारी दिनुभयो । नेपालमा हालसम्म छ हजार किसिमका फूल फूल्ने वनस्पति रहेका उहाँले बताउनुभयो ।
यस्तै फूल नफुल्ने प्रजातिका १० हजार वनस्पति रहेका सैँजुले जानकारी दिनुभयो । सरकारी तथ्याङ्कअनुसार ७०० प्रकारका जडीबुटी नेपालमा उपलब्ध छन् । उहाँका अनुसार वनस्पतिको सदुपयोग भयो भने नेपालको आर्थिक विकास हुन्छ भन्ने सोच्ने पाण्डे वनस्पति क्षेत्रका दूरदर्शी व्यक्तित्व हुनुहुन्थ्यो ।
वनस्पति विज्ञ पूर्णहरि अमात्यले देशको आर्थिक विकासका लागि वनस्पतिको अनुसन्धान तथा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रथम वनस्पति विज्ञका रुपमा पाण्डेले खेल्नुभएको भूमिका ओझेल पर्दै जाने भएकाले यस्ता कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
विभागका अर्का पूर्वमहानिर्देशक तथा फाउण्डेशनका अध्यक्ष मधुसूदन विष्टले स्व पाण्डेका बारे स्मरण गर्दै वनस्पति गोस्वाराको जडीबुटी शाखाबाट सेवा प्रारम्भ गर्नुभएका पाण्डेले वनस्पति विभागअन्तर्गत राष्ट्रिय हर्वेरियम, औषधि अनुसन्धानशाला, वनस्पति उद्यान, जडीबुटी उद्यान तथा जडीबुटी व्यापार केन्द्रको विकास गर्नुभएको जानकारी दिनुभयो । उहाँका अनुसार पाण्डेले औषधि अनुसन्धानशालामा वनस्पतिको रसायनको अनुसन्धान गरी एलोप्याथिक औषधि बनाउने कामको पनि थालनी भएको थियो ।
वन मन्त्रालयको प्रथम सचिवको समेत कार्यभार सम्हालिसक्नुभएका स्व पाण्डेले त्रिभुवन विश्वविद्यालयमा बोटानीतर्फ स्नात्तकोत्तर तहको अध्ययन अध्यापन कार्यको थालनीमा महत्वपूर्ण भूमिका खेल्नुभएको फाउण्डेशनका अध्यक्ष विष्टले बताउनुभयो । अर्थविद् विमलराज पाण्डेले नेपालको कूल गार्हस्थ्य उत्पादनको १४ प्रतिशत योगदान वनस्पति क्षेत्रको रहेको जानकारी दिनुभयो ।
विसं २०७३ भदौ १६ गते सो फाउण्डेशनको स्थापना भएको हो । फाउण्डेशनले पाण्डेले शुरु गर्नुभएका कार्यको अध्ययन–अनुसन्धान गरी अभिलेख राख्ने उद्देश्य राखेको छ । कान्तिपुर भ्याली कलेजका संस्थापक प्रिन्सिपल पुष्पमान अमात्यले वनस्पति क्षेत्रका अग्रजको सम्मान गर्नसके वनस्पतिको विकास गर्न सकिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *