प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
छियान सुमिन
जून २० मा इरानले संरा अमेरिकाको एउटा ड्रोनमाथि हमला गरी आकाशबाट खसाल्यो । लगत्तै संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिकारमा हमला गर्ने घोषणा गरे । तर, पछि हतारमा हमला स्थगित गर्ने निर्णय गरियो । तथापि ट्रम्पले रकेट र मिसाइल नियन्त्रण गर्ने इरानी कम्प्युटर प्रणालीमाथि साइबर हमला गरेको भने स्वीकारे ।
“इरानलाई फेरि महान् बनाऔँ”, शनिबार ट्रम्पलले बोले । इस्लामिक गणतन्त्र इरानसँग नयाँ सम्झौता गर्ने चाहना अभिव्यक्त गर्दै उनले त्यस्तो भनाइ सार्वजनिक गरेका हुन् । इरानप्रति ह्वाइट हाउसको धारणामा एकाएक आएको परिवर्तनले संसारको ध्यानाकर्षण भएको छ ।
इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी र उनले नेतृत्व गरेका केही प्रतिष्ठानमाथि दबाब दिन गत सोमबार ट्रम्पले इरानमाथि नयाँ नाकाबन्दीको घोषणा गरे । “पछिल्ला सातामा इरानी सरकारले देखाएको आक्रामक व्यवहारको शृङ्खलापछि आजको यो निर्णय गरिएको हो”, अमेरिकी राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ट्रम्पले भनेका छन् । ट्रम्पले अघि भने, “इरानका सर्वोच्च नेता नै इरानी सरकारले गरेका सबै आक्रामक व्यवहारको लागि जिम्मेवार हुनेछन् ।”
समाचार स्रोतले जनाएअनुसार अमेरिकी नाकाबन्दीले आयोतोल्लाह अली खामेनी, उनको कार्यालय र अन्य सम्बन्धित कार्यालयलाई वित्तीय स्रोतमाथिको पहुँचमा रोक लगाउनेछ । संरा अमेरिकी राज्य कोष विभागले पछिल्लो नाकाबन्दी इरानी इस्लामिक क्रान्तिकारी गार्डका आठजना वरिष्ठ अधिकारीमाथि लक्षित छ ।
नयाँ सम्झौतामा इरान सहमत नभएसम्म इरानविरुद्ध आफ्नो अधिकतम दबाब कम नहुने संरा अमेरिकी विदेश विभागले जनाएको छ ।
संरा अमेरिका र इरानबीचको पछिल्लो विभाजनबीच ड्रोन हमलाप्रति ट्रम्पको प्रतिक्रिया असंयमित छ । इरानमाथि हवाई हमला स्थगित गर्न ट्रम्पको निर्णय पछाडि तीनवटा कारण हुनसक्छन् ।
पहिलो, इरानले प्रत्याक्रमण गर्न सक्नेमा ट्रम्प चिन्तित हुनसक्छन् । ड्रोनमाथि हमलाजस्ता घटनाको प्रतिरोध गर्न संरा अमेरिकी रक्षा विभागले केही सीमित क्षमताको प्रतिरोध प्रणालीको मात्र विकास गरेको थियो । तर, कडा खालको प्रत्याक्रमण गरेर इरानले युद्धलाई अझ बढाउन सक्ने र संरा अमेरिकी रणनीति पूर्वतयारीलाई ध्वस्त पार्न सक्नेमा अमेरिका सजग देखिएको छ ।
दोस्रो, ट्रम्पको प्रमुख चासो यतिबेला आसन्न निर्वाचनमा छ । उनलाई आगामी निर्वाचनमा दोस्रो कार्यकालको लागि जसरी भए पनि जित्नुछ । पहिलो कार्यकालको लागि भएको निर्वाचनमा ट्रम्पले ‘अमेरिकी प्रथम’ नीति लिएका थिए । साथै मध्यपूर्वमा सैनिक उपस्थिति कम गर्ने आश्वासन दिएका थिए । सिरियामा रहेका संरा अमेरिकी सेनाको केही अंश उनले फिर्ता गरिसकेका छन् । अफगानिस्तानमा रहेका अमेरिकी सेना पनि फिर्ता गर्ने उनले प्रतिबद्धता व्यक्त गरिसकेका छन् । कदाचित उनले इरानमाथि हमला गरे यो उनले अघिल्लो कार्यकालमा मतदातालाई दिएको आश्वासनविपरीत हुनेछ । इरानमा युद्ध भए प्रस्टतः मतदाताको भावना विपरीत हुनेछ ।
तेस्रो, इरानसँग युद्ध गर्नु अहिलेको संरा अमेरिकी सुरक्षा रणनीतिसँग मेल खाँदैन । सन् २०१७ को डिसेम्बरमा संरा अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले जारी गरेको वक्तव्यमा प्रस्ट शब्दमा चीन र रुसलाई आफ्ना प्रमुख प्रतिस्पर्धी मानेको छ । चीन र रुसपछि मात्र इरान र प्रजग कोरियाको नाम समावेश छन् । सन् २०१८ मा संरा अमेरिकी प्राकृतिक ग्याँस र कच्चा तेल उत्पादन तीव्र गतिमा बढेको छ । त्यसकारण ऊर्जाको लागि संरा अमेरिकाले मध्यपूर्वमा आफ्नो निर्भरता घटाएको छ । संरा अमेरिका यतिबेला मध्यपूर्वमा अर्को एउटा लडाइँमा फस्ने पक्षमा देखिन्न । यो युद्ध उसको निम्ति निकै महँगो हुनेछ ।
संरा अमेरिका र इरानबीचको घर्षणले मध्यपूर्वमा निःसन्देह संरा अमेरिकालाई जालमा फसाउनेछ । यसले संसारका अन्य ठूला शक्ति देशसँग प्रतिस्पर्धा गर्ने संरा अमेरिकाको समग्र योजनामा गम्भीर प्रभाव पार्नेछ ।
संरा अमेरिका र इरान सम्बन्धका तीनवटा सम्भावना छन् ः कुनै तेस्रो पक्षको मध्यस्थतामा दुवै देशबीच वार्ता हुनेछ, तुलनात्मकरूपमा लामो समयावधिको लागि तनाव यसरी नै अघि बढिरहनेछ अथवा दुई देशबीच युद्ध भड्किनेछ । वास्तवमा न त ट्रम्प युद्धको पक्षमा छन् न खामेनी नै ।
मध्यपूर्वमा संरा अमेरिकी नीति ‘अमेरिका प्रथम’ नीति र यथार्थवादको मिश्रणमा आधारित छ ।
एकातिर, संरा अमेरिकी सरकारले मध्यपूर्वका स्रोत घरेलु आर्थिक विकासमा प्रयोग गरिरहेको छ । मध्यपूर्वबाट ऊ क्रमशः हात झिकिरहेको छ । कुनै फाइदा नहुने इरानसँगको युद्धमा ट्रम्प फस्नेछैन ।
अर्कोतिर, वासिङ्टन मध्यपूर्वमा तनावको अवस्था सिर्जना गरी आफ्नो स्वार्थ पूरा गर्न चाहन्छ । मध्यपूर्वमा तनावको अवस्था सिर्जना गरी इरानका शत्रु देशहरूलाई हतियार बेच्नु नै वासिङ्टनको स्वार्थ हो ।
जून ७ मा ट्रम्पले दोस्रो कार्यकालको लागि उम्मेदवारी दिने घोषणा गरे । यस परिस्थितिमा इरानमाथि कडा बन्दा उनले अमेरिकी यहुदी र कट्टरपन्थी इसाईहरूको मत आफ्नो पक्षमा पार्न सक्छन् । तर, युद्धको अनिश्चयले ट्रम्प सरकारको सैनिक जोखिम भने सीमित बनाएको छ ।
“कुनै युद्ध हुनेछैन… वार्ता विष हो”, मे १४ मा खामेनीले भनेका थिए । संरा अमेरिकाको स्थानलाई चुनौती दिन इरानले कुनै पहलकदमी नदिने कुरालाई अभिव्यक्ति गर्ने खामेनीको यो मिठो भाषाशैली हो ।
राष्ट्रिय शक्तिको हिसाबमा दुई देशबीच ठूलो भिन्नता छ । तसर्थ, युद्धले इरानको रणनीतिक र आर्थिक स्रोतलाई पक्कै पनि ध्वस्त पारिदिन्छ । जुनसुकै आकारको युद्ध भए पनि इरानको छविलाई गम्भीररूपमा क्षति पु¥याउनेछ ।
तीनवटा सम्भावनामध्ये वासिङ्टन र तेहरान दुवैको लागि वार्तामा बस्नु वा अहिलेकै अवस्थाको तनावलाई लामो समय तन्काउनुमा फाइदा देखिन्छ ।
(लेखक साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालयअन्तर्गत मध्यपूर्व अध्ययन केन्द्रका सहायक अध्येता हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply