भर्खरै :

खडेरीले धान रोपाइँ प्रभावित

– पूर्णप्रसाद न्यौपाने
ओखलढुङ्गा, १९ असार । आकाशेपानीमा निर्भर यहाँको खेतीमा योपल्टको लामो खडेरीको असर परेको छ । खडेरीले धान उत्पादन घट्ने भएको छ । अधिकांश ग्रामीण भेगका खेतमा सिँचाइ नहुँदा यहाँका किसान खडेरीको मारमा परेका हुन् ।
आधा असार सकिँदा पनि जिल्लामा रोपाइँको काम अझै सुरु भएको छैन । विगतका वर्षमा मध्य असारमा रोपाइँको काम अन्तिम चरणमा पुग्ने गरेको थियो । लामो खडेरीले समयमै धान रोप्न नपाउँदा यसको उत्पादनमै समस्या हुने किसानको चिन्ता छ ।
खडेरीको समस्या र सिँचाइ अभावका कारण रोपाइँको काम गर्न नसकेको पोकलीका किसान राम घिमिरेले बताउनुभयो । “खडेरीले चौपट पा¥यो, पोहोरतिर यतिबेला रोपाइँको काम आधाभन्दा बढी सकिन्थ्यो, यो पटक सुरु नै भएन”, घिमिरेले भन्नुभयो । झनझन हिउँदजस्तो घाम चर्केर खेतबारी सुक्यो, अब त पानी परे पनि रोप्ने बीउ छैन, सुकेर कामै नलाग्ने भयो ।” सिँचाइको उपयुक्त व्यवस्था भएको जिल्लाको खिजीदेम्बा गाउँपालिका र केही अन्य खोला किनार नजिकका खेतमा मात्रै रोपाइँको काम भएको छ ।
ओखलढुङ्गाको चार हजार ५०० हेक्टर जमीनमा धानखेती हुने गरेको छ । कृषि ज्ञानकेन्द्र ओखलढुङ्गाका अनुसार तीमध्ये करीब २२० हेक्टर जमीनमा मात्रै रोपाइँ सुरु भएको छ । सुनकोसी, दूधकोसी र लिखु नदी आसपासमा पर्ने तल्लो भू–भाग जिल्लाको सुक्खाग्रस्त क्षेत्र हो । यो क्षेत्रमा खेतीबाली लगाउन खडेरीका कारण समस्या छ । लामो खडेरीका कारण बारीमा लगाएको मकै र धानको बीउ सुकेर नष्ट भएको चम्पादेवी गाउँपालिकाका उपाध्यक्ष निर्मला रैका मगरले बताउनुभयो । खडेरीको पीडा सुनाउन किसान गाउँपालिकामा आउने गरेको पनि उहाँले बताउनुभयो । “घु¥यानमा लगाएको तरकारीसमेत खडेरीले खायो, मान्छेले के खाने होला भन्दै सर्वसाधारण हामीसँग सोध्न आउँछन्”, उहाँले भन्नुभयो । गाउँपालिका सुक्खाग्रस्त हो, खानेपानीकै सङ्कट छ । सिँचाइका लागि त अहिले केही गर्नसक्ने अवस्था नै छैन । जिल्लाका किसान आकाशे पानीको प्रतीक्षामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *