भर्खरै :

चैते छठ पर्व मनाइयो

जनकपुरधाम, २० चैत । चैते छठ पर्वअन्तर्गत ब्रतालुले आज यहाँ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजाअर्चना गरेका छन् ।
ब्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, अरगजालगायत पोखरीमा अर्घ सामग्री लिई सूर्यलाई पूजा अर्चना गरेका हुन् । अर्घ सामग्रीमा ठकुवा, वेसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ ।
यसपर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैंटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दे अर्घ दिइन्छ ।
छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । यो पर्व वर्षभरमा दुईपटक मनाउने गरिएको छ । शरद ऋतुको कार्तिक पष्ठीका दिन र अर्कौ वसन्त लागेको चैत महिनाको षष्ठीका दिन यो पर्व मनाइन्छ । सङ्ख्यात्मक दृष्टिले चैते छठ पर्वमा व्रत गर्नेको सङ्ख्या अपेक्षाकृत कम हुने गरेका छन् ।
सूर्यलाई आदि देवता पनि भनिन्छ । मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको मान्यता पाइन्छ । त्यसैले सूर्यलाई एउटा अभीष्ट देवताका रूपमा वैदिक कालदेखि नै पूजिएको छ ।
वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना रहेको छ । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ भने ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ । छठ पर्वमा सूर्यलाई ‘छठिमाइ’को रूपमा पूजा गर्ने चलन छ । जसलाई वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण मानिएको छ । यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूप लोकमानसमा ठाउँ पाएको हुन सक्ने विश्वास पाइन्छ ।
छठ पर्वमा अर्घ दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूल प्रकृतिप्रति कृतज्ञता र केरामा भगवान विष्णुको वास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश पनि दिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *