काठमाडौं, असार २४ : एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले छ । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि जितेको हो ।

हङकङलाई हराउँदै उपाधि जितेको नेपाल यु-१९ एसिया कपमा छनोट भएको छ ।

९६ रनको झिनो लक्ष्य पक्ष्याएको नेपालले मात्र ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

ओपनर ब्याट्सम्यान रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए । पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रन बनाएका थिए । खड्ग बहादुर बाेहरा ८ रनमा पाेविलियन फर्किए ।

यसअघि, क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रनको लक्ष्य खडा गरेको थियो ।

खराब सुरुवात गरेको हङकङले रनको खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाएको थियो । तर, आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै उसका रौनक कपुरले १२ रन बनाए ।

हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले किफायती बलिङ गरे । १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिए ।

यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारीको नाममा एक एक विकेट रह्यो ।

उपाधि सहित एसिया कपमा छनोट नेपालले टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।