भर्खरै :

बालबालिकाको खानामा चिनीको मात्रा धेरै ः विश्व स्वास्थ सङ्गठन

कोपेनहेगेन, ३० असार । बालबालिकाका लागि व्यवसायिकरूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
खाद्य पदार्थमा समावेश गरिएका चिजहरूको सूची पनि अलमल पार्ने खालको रहेको डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ । सङ्गठनले खाद्य पदार्थ राखिएका झण्डै पाँच सय ठाउँका आठ हजार उत्पादनको परीक्षण गरेको अधिकारीहरूले जनाएका छन् ।
उनीहरूका अनुसार सङ्गठनले अष्ट्रिया, बुल्गेरिया, इजरायल र हङ्गेरीमा सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ को जनवरीसम्म अध्ययन गरेको थियो ।
“परीक्षण गरिएका मध्ये आधाभन्दा बढीमा ३० प्रतिशतभन्दा बढी क्यालोरी रहेको पाइएको छ,” डब्लुएचओको युरोपेली शाखाले उल्लेख गरेको छ ।
फलफूल तथा तरकारीमा भएको प्राकृतिक गुलियो पदार्थलाई भने बालबालिकाहरूका लागि सन्तुलित आहारकै रूपमा लिनुपर्ने प्रतिवेदनमा जनाइएको छ ।
“तर अति धेरै गुलियो पदार्थ व्यवसायिक खाद्य पदार्थहरूमा पाइएकोले त्यसप्रति चासो बढेको हो,” एक अधिकारीले भने ।
अत्यधिक गुलियो पदार्थको सेवनले बालबालिकाको अत्यधिक तौल र दाँतसम्बन्धी समस्या उत्पन्न गराउने खतरा रहने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
“राम्रो पौष्टिक तत्वका लागि जोड गर्नुपर्दछ, बालबालिकाको वृद्धि र विकासका लागि यो अत्यावश्यक पनि छ, यसलाई स्वास्थ्यको दृष्टिबाट ख्याल गर्नुपर्दछ,” डब्लुएचओका युरोपेली क्षेत्रीय निर्देशक जिसजसन्ना यादवले वक्तव्यमा लेख्नुभएको छ ।
डब्लुएचओले आमाको दूधको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखेको छ । ६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई घरमै बनेका खानेकुरा खुवाउन पनि डब्लुएचओले सुझाव दिएको छ ।
डब्लुएचओको वक्तव्यमा बालबालिकाका लागि उत्पादन गरिएका खाद्य पदार्थमा चिनी तथा गुलियो पदार्थको अनावश्यक तथा थप प्रयोगमा प्रतिबन्ध नै लगाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *