भर्खरै :

तमोर करिडोरको काम ६० प्रतिशत सम्पन्न

– विपुल अधिकारी
पाँचथर, ३० असार । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत तमोर करिडोरको काम ६० प्रतिशत सम्पन्न भएको छ । पूर्वी पहाडलाई तराई र काठमाडौँ जोड्ने द्रुतमार्ग तमोर करिडोरको ट्रयाक खोल्ने काम असोजसम्ममा सक्ने गरी भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
रु. ६ अर्ब २३ करोड ४९ लाख लागतमा विसं २०७४ देखि सुरु भएको यो करिडोर १४८ किलोमिटर लम्बाइ, १० मिटर चौडाइ र सात मिटर ग्राभेल रहेको मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरका योजना प्रमुख अभिमन दास मुल्मीले जानकारी दिनुभयो । यो सडक पाँचथरको गणेशचोकदेखि धनकुटाको मूलघाटसम्म ११२ किलोमिटर र मूलघाटदेखि बराहा क्षेत्र कोशी पुलसम्म ३६ किलोमिटरको छ । सात वटा निर्माण कम्पनी (सात वटा प्याकेजमा) मार्फत समयावधिमा ट्रयाक खोली सक्नेगरी तीव्र गतिमा निर्माणको काम भइरहेको मध्यपहाडी राजमार्ग योजना कार्यालय फिदिमका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिनुभयो । यो सडकको विसं २०७४ देखि ३० महिने समयावधि खोलिसक्ने गरी काम भइरहेको खतिवडाले जानकारी दिनुभयो ।
पहिलो प्याकेजः गणेशचोक–मुक्तुुरा खोलाखण्ड
यो प्याकेजको निर्माण कार्य रसुवा–तुँदी जेभीले गर्दै आएको छ । इन्जिनियर खतिवडाका अनुसार पहिलो प्याकेज गणेशचोक–मुक्तुुरा खोला खण्डको काम अन्तिम चरणमा छ । ट्रयाक खोल्न करीब ४०० मिटर छ । मेची राजमार्गको गणेशचोक उद्गमस्थल रहेको करिडोरको पहिलो प्याकेजको दूरी साढे २६ किलोमिटर छ ।
दोस्रो प्याकेजः मुक्तुरा खेला–सिवा दोभानखण्ड
१६ किलोमिटरको यो सडक खण्डको निर्माणको जिम्मेवारी श्रेष्ठ एपेक्स एण्ड थेगिम जेभीले लिएको छ । त्यस्तै सिवा खोला क्षेत्रमा भने माँझीटारदेखि ठीक माथि मध्यपहाडी लोकमार्ग क्षेत्रमा जोड्न करीब तीन किमी ट्रयाक खोल्न बाँकी छ ।
तेस्रो प्याकेज ः सिवा दोभानदेखि लोरिपा खोलाखण्ड
यो प्याकेजको लामा–पिएस–बिरूवा जेभीले जिम्मा लिएर काम गरिरहेको खतिवडाको भनाइ छ । यो प्याकेजमा वन क्षेत्र भएकाले डिभिजन वन कार्यालयले झण्डै तीन महिना रोकिदिएको निर्माण कम्पनीले जनाएको छ । कटान आदेशसमेत नलिइकन सामुदायिक वन क्षेत्रमा सडक निर्माणको कार्य गरेकाले रोकिदिएको जनाइएको छ । उन्नाइस किमी करिडोरको तेस्रो खण्डमा भने करीब डेढ किमी सडकको ट्रयाक खोल्ने कार्य रोकिएको छ ।
चौथो प्याकेज ः लोरिपा दोभानदेखि नावाखोला खण्ड
यो सडक खण्डको काम रौताहा सन्तोषी जेभीले जिम्मा लिएको र धमाधम काम गर्दैछ । यो सडक खण्ड करीब दुई किमीमात्रै ट्रयाक खोल्न बाँकी रहेको खतिवडाले जानकारी दिनुभयो । यो सडक खण्ड २१ किलोमिटरको हो ।
पाँचौँ प्याकेज ः नावाखोला–लेउतीपुल खण्ड
रौताहा सन्तोषी जेभीले नै निर्माणको जिम्मा पाएको ३० किलोमिटर दूरी रहेको नावाखोला–लेउतीपुल खण्डमा भने ट्रयाक खुलिसकेको खतिवडाले बताउनुभयो । उत्तर–दक्षिण सडक आयोजनाले यसअघि निर्माण गरेको करीब ५० प्रतिशत ट्रयाकलाई प्रयोग गरेको जेभीले बाँकी सडकको ट्रयाक निर्माण गरेको हो ।
छैटौँ प्याकेज ः लेवती पुलदेखि सानो सफाइ धनकुटासम्मको
यो सडक खण्ड कालिका–थोदुङ–महालक्ष्मी जेभीले जिम्मा लिएर काम गरिरहेको छ । लेवती पुलदेखि सानो सफाइ धनकुटासम्मको साढे १७ किमी करिडोरको ट्रयाक करीब चार किमी बाँकी रहेको खतिवडाले जानकारी दिनुभयो ।
सातौँ प्याकेज ः सानो सफाइदेखि सुनसरीको बराह क्षेत्र कोशी पुल खण्ड
यो सडक खण्ड शर्मा एण्ड कम्पनीले निर्माणको जिम्मा लिएर काम सम्मन्न गरिसकेको छ । पाएको सानो सफाइदेखि सुनसरीको बराह क्षेत्र कोशी पुलसम्मको साढे १७ किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ ।
सबै ट्र्याक खोलिसक्दा करिडोर निर्माणको प्रगति ८० प्रतिशत सम्पन्न हुने खतिवडाको भनाइ छ । उहाँले भन्नुभयो, “जब हामी ग्राभेल गर्ने समयमा पुग्छौँ, काम ८० प्रतिशत सम्पन्न हुन्छ । त्यसपछि ग्राभेलको काम गछ्र्रांै ग्राभेल सकेपछि भने काम शतप्रतिशत मानिने छ ।”
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पाँचथरका योजना प्रमुख अभिमन दास मुल्मीले कोरिडोरको ट्रयाक खोल्ने कार्य असोजसम्ममा सकेर त्यसपछि ग्राभेलको काम थालिने बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश निर्माण कम्पनीको योजना आगामी वर्षको भदौमा सकिन्छ । बाँकीको पनि आगामी वर्षकै पुस १२ सम्ममा सकिने बताउनुभयो ।
मध्यपहाडी लोकमार्गसँग पाँचथरको माँझीटारबाट तमोर कोरिडोर जोडिन्छ । तमोर कोरिडोर भएर धनकुटाको मूलघाटमा कोशी राजमार्ग हुँदै हिले पुगेर मध्यपहाडी लोकमार्गसँग जोडिन्छ । पाँचथरको गणेश चोकमा यो सडकले मध्यपहाडी लोकमार्गलाई जोडिन्छ ।
तमोर करिडोरले पहाडी जिल्लावासीलाई प्रदेशको राजधानी जोड्नेछ । करिडोरले पहाडी जिल्लाका जिल्लावासीको शिक्षा, स्वास्थ्यबाट सिधा पहुँच पुग्ने सांसद वसन्तकुमार नेमाङ्गले बताउनुभयो । उहाँले भन्नुभयो, “यो करिडोरको काम सम्पन्न भएपछि पहाडी जिल्लाका लाखौँ मानिस लाभान्वित हुनेछन् । यसले मानिसको जीवनस्तरमा प्रत्यक्ष लाभ पुग्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *