भर्खरै :

खरिद ऐनविपरीत प्रहरीद्वारा नामै किटेर निर्माण सामग्रीको बोलपत्र आह्वान

काठमाडौंँ, २ साउन । नेपाल प्रहरीले भारतीय एउटा ब्रान्डको नाम नै किटान गरेर सार्वजनिक खरिद ऐनविपरित निर्माण सामाग्री आवश्यक भएको बोलपत्र आह्वान गरेको छ । नेपाल सरकार राष्ट्रिय प्रहरी एकेडेमी महाराजगञ्ज काठमाडौँले काठमाडौँ र पनौती गरी दुई ठाउँमा ब्यारेक निर्माणको निमित्त आवश्यक निर्माण सामाग्रीको लागि भारतीय कम्पनीबाट निर्मित एरोकन प्रिफ्याब प्यानल (इट्टाको विकल्पमा भित्री तथा बाहिरी पार्टेसन वालको रूपमा प्रयोग हुने निर्माण सामग्री) भनी नाम नै किटेर निर्माण सामाग्री माग गरी बोलपत्र आह्वान गरेको हो । काठमाडौँको महाराजगञ्ज र काभ्रेपलाञ्चोकको पनौती दुई ठाउँमा ब्यारेक निर्माणको लागि ती निर्माण सामाग्री ब्रान्ड नै किटान गरेर माग गरिएका हुन् ।
सार्वजनिक खरिद ऐनअनुसार कुनै पनि बोलपत्र आह्वान गर्दा यसरी ब्रान्डको नाम नै किटेर बोलपत्र आह्वान गर्न पाइँदैन । सार्वजनिक खरिद ऐनको दफा ३ मा ‘बोलपत्रको विवरण तयार गर्दा मालसामान, निर्माण कार्य वा सेवाका विशेषताहरू स्पष्टरूपमा बुझिने गरी उल्लेख गर्ने कुनै उपाय नभएको अवस्थामा बाहेक कुनै खास ब्रान्ड, टेडमार्म, नाम, पेटेन्ट, डिजाइन, प्रकार, उत्पति वा उत्पादकको नाम उल्लेख गर्न सकिने छैन’ लेखिएको छ ।
ऐनअनुसार कुनै खास ब्रान्ड, ट्रेडमार्क, नाम, पेटेन्ट, डिजाइन, प्रकार, उत्पति वा उत्पादकको नाम उल्लेख गर्नै पर्ने अवस्था आएमा सो सरह भन्ने शब्द उल्लेख गर्नैपर्ने हुन्छ । तर, उक्त बोलपत्रमा सोसरह भन्ने शब्दको पनि प्रयोग भएको छैन । नेपाली बजारमा भारत, चीनलगायतका मुलुकहरूबाट यस्तै प्रकृतिका प्रिफ्याब प्यानलहरू आयात हुने गरे पनि सोही भारतीय कम्पनीको नाममात्र किटान गर्नुले आपसी मिलेमतोको आशङ्का गरिएको छ ।
नेपालमा यस्ता प्यानलहरू स्वदेशी कम्पनीहरूले निर्माण गर्दै गरेको भए पनि त्यसलाई रोक्दै (ब्यान्ड गर्दै) भारतीय कम्पनीको एरोकन प्रिफ्याब प्यानल भनी नामै किटेर बोलपत्र आह्वान गरिएको हो ।
२०१९ जुलाई २ अर्थात् २०७६ असार १७ गतेको मितिमा प्रकाशित यो विज्ञापन बोलपत्र डब्लू.डब्लू.डव्लू.डट.जीओभी.डट.एन.पीमा गएर हेर्न सकिन्छ । बोलपत्रमा प्यानलसहित १० करोड लागत रहेको उल्लेख छ । सात करोड पनौती र तीन करोड महाराजगञ्जको ब्यारेकको लागि लागत रहेको उल्लेख छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनविपरित कुनै कम्पनीको नाम नै किटेर यही नै सामान चाहियो भनेर बोलपत्र आह्वान गर्नु नियमविपरित भएको बताउनुभयो ।
“समस्या नै भएमा कम्पनीको नाम राख्दा सोसरहको भनी लेख्नुपर्छ” उहाँले भन्नुभयो, “यसो पनि नहुनु भनेको ऐन कानुनको मर्मविपरित हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *