भर्खरै :

खोलामा सहर पसेपछि

एल. के. सुन्दर
दिन दहाडै डकैतीको शैलीमा
आफ्नो बाटो अवरोध गरेपछि
आफ्नो अस्तित्व मेटाउन खोजेपछि
जबरजस्ती खोलामा सहर पसेपछि ।
आफ्नो सुरक्षाको लागि
आफ्नो रक्षाको लागि
निकासविनाको विकास
मानिस आफैँ जानून् ।
अनेकौं हण्डर ठक्कर खाई
अनेकौं बाधा अवरोध छिचोली
आफ्नो बाटो आफैँ तय गरी
जसोतसो ऊ पनि सहर पस्ने भयो ।
अनि के चाहियो, चिच्याउन थाल्यो
सहरमा बस्तीमा खोला पस्यो
सहरमा बस्तीमा बाढी उर्लियो
यति उति जनधनको क्षति ।
कुम्भकर्ण निद्रामा मस्त
एनजीओ आइएनजीओ
सङ्घ संस्थाहरूको होटल रेस्टुरेन्टहरूमा
विचार विमर्शको बाढी ।
सय, पचास र हजारको राहत
भत्ता ढुवानी लाखौंको बिल
यावत चलायमान क्रियाकलाप
सहरमा खोला पसेपछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *