मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
सरस्वती
साहित्य समाजको ऐनामात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई काटेर फाल्ने एक हतियार पनि मानिन्छ । एक जना साहित्यकारले समाजका घटना र परिघटनालाई जस्ताको तस्तै प्रस्तुत गरेर पुग्दैन, समाजका पात्रहरूलाई खराब काम नगर्न सचेत पार्ने, खराब काममा जानीनजानी लाग्नेलाई सुधारको बाटोमा डो¥याउने काम पनि साहित्यले गर्नसक्छ । हालै प्रकाशित देवेन्द्र न्यौपानेको ‘सङ्गत’ नामको चेतनामूलक उपन्यास पढ्दा यस्तै लाग्छ ।
समाज व्यवस्थामा आएको परिवर्तनसँगै पैसाको निम्ति ‘मर्ने’ र ‘मार्ने’ संस्कृतिले स्थान पायो । पुँजीवादी समाजमा लागूपदार्थको कारोवार गर्नेले पैसाबाहेक केही देख्दैन, अरुका सन्तान जेसुकै होऊन्, उसलाई मतलब हुँदैन । नत्र विश्वमा हतियार, लागूऔषध र मानव तस्करी सबैभन्दा बढी कारोबार हुने स्थानमा पर्दैनथ्यो होला । लागूपदार्थले हाम्रो समाजका युवापुस्तालाई कमजोर पारेको मात्र छैन तिनीहरूलाई अपाङ्ग नै बनाएको छ । नेपालको हकमा हरेक वर्ष करिब २० हजार युवा–युवती कडा किसिमका लागूऔषधको दुव्र्यसनमा फस्ने गरेका छन् । करिब २ लाख युवाहरू दुव्र्यसनीमा फसेको बताइन्छ र यो हरेक वर्ष करिब साढे ११ प्रतिशतको दरले बढेको अवस्था छ ।
यही विकराल स्थितिलाई ध्यानमा राखेर होला लेखक न्यौपानेले ‘सङ्गत’ उपन्यासलाई बजारमा ल्याए । कसरी युवाहरू कुलतमा फस्छन् र तिनीहरूलाई कसरी असल बाटोमा डो¥याउने भन्नेमा केन्द्रित भई न्यौपानेले उपन्यासको कथा बुनेका छन् ।
आजकलका अभिभावकलाई छोराछोरी कुलतमा लाग्लान् भन्ने सबभन्दा बढी पिरलो छ । यो स्वाभाविक पनि हो । तर कुनै पनि घटना निरपेक्ष हुँदैन । एउटा परिणामको पछाडि अनेक कारण हुन्छन् । ‘सङ्गत’ ले एउटा युवालाई लागूपदार्थमा आकर्षित केले गर्छ र कसरी ऊ लागूपदार्थको प्रयोगकर्ता बन्छ भन्ने सजीव चित्रण गरेको छ ।
कथावस्तुमा दृष्टिगोचर गरौं । आमा–बुबा र दिदी–भाइको एउटा सानो परिवार हुन्छ । बुबा–आमा (दिनेश–सङ्गिता) आ–आफ्नो रोजगारीमा व्यस्त हुन्छन् । केटाकेटी विद्यालय तहका विद्यार्थी हुन्छन् । छोरी (आस्था) को पढाइ अब्बलकोटीको हुन्छ तर १४–१५ वर्षको छोरा (सुजन) को पढाइ बिस्तारै बिग्रिँदै गएको हुन्छ । पहिले घरबाट त्यति ननिस्कने, विद्यालयले दिएका गृहकार्य समयमै गर्ने सुजन आफूभन्दा उमेरमा ठूला बरालिएका केटाहरूको सङ्गतमा फस्छ । घरबाट एकछिन निस्कन्छु भनी सुजन राती अबेला घर फर्किने गर्नथाल्छ । बुबा (दिनेश) आफ्नो पेशागत काममा अलि बढी नै व्यस्त हुनुपर्ने मध्यमवर्गीय परिवारको एक प्रतिनिधि पात्र हुन् । उनी बिहान सबेरै घरबाट निस्किन्छन्, राती अबेर घर फर्किन्छन् । किनभने त्यति मेहनत नगरी सहरी आवश्यकता पूरा गर्न सकिन्न । सङ्गिता समझदार भएर पनि बिग्रिन थालेको छोरोलाई कसरी सम्हाल्ने भन्नेमा अन्योलमा रहेकी सामान्य नेपाली महिला पात्र हुन् । छोराको बानीव्यवहार सुधार्न सम्झाइबुझाइ नै एउटै उपाय भन्नेमा आमाबुबाको मत मिल्छ । यसैबीच दिनेशको स–परिवार पोखरा घुम्न जाने योजना बन्छ तर सुजन घुम्न जान मान्दैन । आमाबुबा र छोरीमात्र पोखरा जान्छन् । आमाबुबा घुम्न गएको मौका छोपी सुजनले घरमै साथीहरूलाई डाकेर रक्सी चुरोटको ‘पार्टी’ मनाएको हुन्छ । संयोगले त्यही दिन आमाबुबा घर फर्किन्छन् । सबै कुरा थाहा पाएर पनि आमाबुबाले तत्कालै छोरा र साथीहरूलाई गाली गर्दैनन् । रक्सीको नसामा बसेको छोरालाई केही कुरा गर्नु ‘भालुलाई पुराण सुनाउनु’ जस्तो हुन्थ्यो । छोरासँग कुराकानी गर्ने उचित वातावरण मिलाउन एक दिन परिवारको पिकनिक गरिन्छ । पिकनिकमै सुजनको कुलतबारे छलफल हुन्छ । आमाबुबासामु सुजनले आफू सुध्रिने र उप्रान्त खराब सङ्गत नगर्ने वाचा गर्छन् । सुजन बर्थ डेको नाममा साथीहरूबाट बोलाइएका ‘गेट टुगेडर’ मा समेतमा जान बन्द गर्छ । सुजनको पढाइ राम्रो हुनथाल्छ ।
कक्षा १० उत्तीर्ण भएपछि भने परिस्थिति फेरि बदलिन्छ । यसैबीच बुबा दिनेशको आम्दानी बढेको हुन्छ, छोराको निम्ति आवश्यक–अनावश्यक आधुनिक ‘ग्याजेट’ देखि सुजनको मोटरसाइकल समेतको व्यवस्था हुनथाल्छ । फेरि सुजनको उही पुरानो खराब सङ्गतको कथा दोहोरिन थाल्छ । अनेक बहानामा साथीहरूबीच चुरोट, रक्सीलगायत लागूपदार्थ खाने सिलसिला पुनः सुरु हुन्छ । तर, सुजनकी ‘गर्लफ्रेण्ड’ समझदार हुन्छिन्, उनले सुजनलाई सुधारगृहमा गई उपचार गर्न हौसला दिन्छिन् । सुधारगृहको राम्रो उपचारपछि सुजन फेरि असल बाटोमा लाग्छ । यसरी उपन्यास सकारात्मक सन्देश सहित सकिन्छ ।
बाल साहित्यको रूपमा कथा सरल छ । उपन्यासको कथा खोलाको पानीझैं सलल बगेको छ, पाठक त्यही पानीसँगै लहरिँदै अगाडि बढ्छ । कथामा पात्रहरूले बोल्ने संवादले पाठकलाई महत्वपूर्ण शिक्षा दिइरहेको हुन्छ । पुस्तकले युवा पाठकलाई कहिले गम्भीर बनाउँछ त कहिले उत्साहित बनाउँछ । कथाले आफ्नो घर–परिवार, छरछिमेकी र समाजको परिवेश बुझ्न झक्झक्याउँछ । अनुभवी एवम् पाको पाठकको मनमा आ–आफ्ना परिवेशबारे केही प्रश्न जरुर उठ्नसक्छ, कतै हाम्रा आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको छ कि ? झगडा गरेर चाहिनेभन्दा बढी पैसा माग्ने, घरबाट पैसा र बहुमूल्य सामान हराउने त भएको छैन ? सन्तानले शौचालयमा लामो समय बिताएको त छैन ? घरमा ढिलो आउने, छटपटी हुने, शरीर काम्ने गरेको त छैन ? सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनुु, आँसु आइरहनु, बोली लरबरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनुु, एक्लोपन रुचाउनुजस्ता मुख्य लक्षण लागूऔषध प्रयोगकर्तामा देखिने विज्ञको भनाइ छ ।
विश्वमा अधिकांश लागूऔषधका प्रयोगकर्ता तथा कारोबारीहरू युवा नै छन् । लागूऔषधको असन्तुलित प्रयोगले मात्रै विश्वमा हरेक वर्ष १ लाख ९० हजार मान्छेको मृत्यु हुने गरेको छ । लागूऔषध कारोबारीहरूले स्कूल–कलेजलाई लक्षित गरेर लागूऔषधको कारोबार गर्दछन् । सुरुमा एक युवकलाई निःशुल्क लागूऔषध खान दिएर फसाउने र पछि कलेजका अन्य साथीलाई उनीमार्फत दुव्र्यसनमा लगाउने गर्दछन् । ९० प्रतिशतभन्दा धेरै युवा–युवती साथी सङ्गतकै कारण दुव्र्यसनमा फसेका छन् । त्यसबेला धेरैले साथीको दबाब र उत्सुकताका कारण लागूऔषध लिएको पाइन्छ । यही यथार्थलाई बुझेरै न्यौपानेको पुस्तकमा साथी–सङ्गति मार्फत सुजन कुलतमा लागेको कथा बुनिएको मान्न सकिन्छ । यस मानेमा पुस्तकको शीर्षक ‘सङ्गत’ सान्दर्भिक र उपयुक्त छ ।
पारिवारिक तथा पढाइको तनावले समेत युवाहरू कुलतमा फस्ने गरेको अध्ययनले बताउँछ । परिवारमा आमा–बुबाको झगडालगायत कारणले तनावमा परेर लागूऔषधमा फसेकाहरूको सङ्ख्या पनि ठूलो छ । आमाबुबाले केटाकेटीलाई समय दिन नसक्नु पनि केटाकेटी बरालिनुको एक कारण मानिन्छ ।
समस्यामात्र देखाउने नभई समाधानको उपाय उपन्यासको अत्यन्तै सकारात्मक पाटो हो । केटाकेटी बिग्रिन सक्छन्, उनीहरू कुलतमा फसे भने कसरी उनीहरूलाई बुद्धिमानीसाथ सम्हाल्ने भन्ने उपाय कथामार्फत भन्न लेखक सफल छन् । सुधारगृहमा बसालेपछि लागूपदार्थको कुलतको रोग निको पार्न सकिने सन्देश पनि पुस्तकले दिएको छ ।
लेखक देवेन्द्र न्यौपानेको पहिलो उपन्यास हुँदाहुँदै पनि लेखनशैली माझिएको पाइन्छ । भाषा सरल छ, अक्षरको आकार पठनमैत्री छ । आजकलका केटाकेटीले प्रयोग गर्ने भाषाशैलीले पनि पुस्तकलाई रोचक बनाएको छ । पुस्तकमा वरिष्ठ कलाकार के. के. कर्माचार्यका चित्रहरूले उपन्यासलाई बुझ्न र सम्झन सजिलो बनाएको छ । कैयौं शब्दले भन्न नसकिने कुरा एउटा चित्रले भनेको हुुन्छ भन्ने तथ्य कर्माचार्यका सिद्धहस्त चित्रले अझ उजागर गरेको पाइन्छ । पुस्तक विद्यालय÷कलेजका विद्यार्थीले त पढ्नुपर्छ नै, शिक्षक र अभिभावकको निम्ति यो उपयोगी पुस्तक हो । कथाको माध्यमबाट गहिरो सन्देश दिन लेखक सफल छन् । पुग्दो अनुसन्धान गरी लेखिएको पुस्तकले समाजको विकृति एवम् विसङ्गतिको एक पाटोलाई चिरफार गरेको छ ।
पुस्तकमा केही सम्पादनका त्रुटि भेटिन्छन् । मुद्राराक्षसलाई आगामी संस्करणमा हटाइने आशा एवम् विश्वास गरौँ । करिब डेढ सय पृष्ठको पुस्तक एकै बसाइमा पढी भ्याइन्छ । मूल्य रु. २२५ पनि महँगो भन्न मिल्दैन । लेखक देवेन्द्र न्यौपाने र प्रकाशक एडुकेसनल बुक्स हाउसलाई हार्दिक धन्यवाद !
Leave a Reply