भर्खरै :

जनता उठेपछि

प्रेम के निडर
“सशस्त्र लडाइँ भएदेखि व्यापार चौपट्ट भयो” भन्ने गरेको सुनेको थियो रामबहादुरले । उसलाई पनि काम नपाउनुको कारण त्यही लडाइँ नै हो भन्ने लागेको थियो । वातावरण पनि आतङ्कित र डरलाग्दो थियो । चन्दा आतङ्क र मजदुरहरूको बन्द हडतालले उद्योग कारखानामा धमाधम ताल्चा लाग्दै थियो । कुनबेला कहाँ बम पड्किने हो ? ठेगान थिएन । भयभित थिए साहुमहाजन । कसैको ज्यानकोे सुरक्षा थिएन । देशको स्थिति नै डावाडोल र आतङ्कित भएको बेलामा अनि व्यापार व्यवसाय ठप्प भएको बेलामा कहाँबाट काम पाइएला र भनी चित्त बुझाउनुु परेको थियो उसलाई । तर, अहिले त त्यही लडाइँ गर्ने पार्टीको सरकार भएपछि वातावरण यस्तो बिग्रनु नपर्ने थियो । किन यस्तो भयो ? उसले सोच्यो ।
आज पनि कमैमात्र पैसा हातमा प¥यो रामबहादुरको । हिजो अस्तिभन्दा कम । आज बढी निरास भयो ऊ । उदास अनुहार भारी मन लिएर कोठामा फर्कियो ।
गल्लीको घर । घामको उज्यालो देख्न नसकिने कोठा थियो रामबहादुरको । उसले त्यो कोठा रात बिताउनको लागि मात्र लिएको थियो । राति खाना पकाएर खान एउटा ग्यासको चुल्हो र दुई तीनवटा साना आल्मुनियमका भाडा थिए । पातलो डसनामाथि एउटा चाइनिज तन्ना ओछ्याएको थियो । ऊ कोठामा पस्नासाथै घुप्लुक ओछ्यानमा पल्टिन्थ्यो । आज उसलाई चिन्ता र पीरको पहाडले थिचेजस्तो भएको थियो । कोठाको दलिन हेरेर सोच्न थाल्यो, “पहिले कति कमाउँथेँ । अलि–अलि बचेको पैसा गाउँमा पनि पठाउँथेँ । सधैँ यस्तै बचाउन सके परिवार जम्मै यहीँ ल्याएर बस्ने विचार थियो । छोरालाई एउटा साधारण स्कूलमा भर्ना गर्ने । दुःख गर्छु, मेहनत गर्छु । मिहिनेत गरे पक्कै पनि अभागी निधारका रेखा मेटिने छ भनी सोचेको थियो । हिजोआज के भएको हो ? सधैं यस्तै भइरहे भने के गर्ने ? काठमाडौँ सहर त हुनेखानेलाई मात्र स्वर्ग रहेछ । काठमाडौँ सहरमा बसी खान मेसिनझैँ घोटिनुपर्ने रहेछ । आफ्नो रगत नै बेच्नु पर्नेरहेछ । सहरको सुन्दरतामा लोभिएर आएको, अहिले छटपटिन पर्ने भयो ।” सोच्दै उसले घर सम्झियो ।
बुढी आमा र स्कूल जाने बच्चाहरूलाई सम्झियो । आफू नखाइकन श्रीमान्को सन्तुुष्टि र खुसी देख्न चाहने श्रीमतीलाई सम्झियो । “के सोच्दै होला परिवार ? दुई महिना भयो, घर खर्च पठाउन नसकेको । कसरी घर चलाउँदै होला ?” परिवारको यादले छाती पोल्यो । मन थाम्न सकेन । आँखा आँसुले भरिए ।
रातको ११ बज्यो । रामबहादुरलाई चिन्ता, पीर र असह्य वेदनाले छोडेको छैन । उसको आँखामा एकपछि अर्को दुःखकष्ट, पीर र व्यथा नाच्दै उसलाई जिस्क्याउन आएको जस्तो भान भयो । पहिले–पहिले थकानले कोठामा कहिले पसूँ र घुप्लुक्क सुतूँजस्तो हुन्थ्यो । हिजोआज निद्राले पनि साथ छोडेर टाढा भागेजस्तो लाग्न थालेको छ उसलाई । रातभर पानीबिनाको माछा छटपटेझैँ छटपटिरह्यो । निदाउन सकेन ।
रामबहादुर हिजो राति कुन बेला निदायो, ऊ आफैँलाई थाहा भएन । बिहानको ७ बज्दा पनि उसलाई निन्द्राले छोडेको थिएन । सायद निन्द्रामा पनि उसलाई दुःख कष्टको भूतले तर्साएकोले होला ऊ बरोबर तर्सिरह्यो ।
टोलमा आज मानिसको बढी कोलाहल छ । अशान्ति छ । भयभित र आतङ्कित छ । अवस्था हिजो अस्तीजस्तो छैन । बच्चाहरू पनि कहीँकतै खेलेको र चिच्याएको सुनिँंदैन । झ्यालमा चराको चिरबिरले रामबहादुरको निद्रा खुल्यो । ऊ जुरुक्क उठ्यो । बेलामौकामा धोका खाइरहनुपर्ने घडीमा उसको आँखा गयो । सात बजेको देख्दा आत्तियो । जगमा पानी भरेर मुख धोयो र भित्तामा झुण्डयाएको जीविका चलाउने आधार नाम्लो काँधमा बोकी राम्रो दिनको अपेक्षा राखी कोठाबाट सुत्त निस्कयो ।
गल्लीबाट निस्केको रामबहादुरले मौरीका गोलामा मौरी जम्मा भएझैँ टोलका मानिसहरू झुण्ड झुण्ड जम्मा भइरहेको देख्यो । कोही नुन खाएको कुखुराझैँ झोक्राएका थिए भने कोही विरक्त भएर कुरा सुनिरहेका थिए । नजिकैको एउटा झुण्डमा वर्ष २८, २९ जत्तिको एकजना केटा हात उठाउँदै आक्रोशमा कराउँदै गरेको सुनियो । “यो सरकारले जनतालाई नभई नहुने सामानमा अचाक्ली भाउ बढाएर हामीजस्ता गरीबलाई भोक भोकै मार्न खोजेको हो । यो सरकार गरिबमारा सरकार हो । हामीले यसको विरोध गर्नैपर्छ ।”
त्यो केटामा आक्रोश छ । पीडा र असन्तुष्टि छ । चुप लागेर बस्न नहुने आव्हान छ । वरिपरि बसेका मान्छेहरू केटाको कुरामा गम्भीर भएर सुनिरहेका थिए । केटाको आक्रोश सुनेर रामबहादुर आश्चर्यचकित भयो । आज के भयो ? भाउ बढ्यो भन्छ । केमा भाउ बढ्यो ? थाहा पाउन सकेन उसले । तैपनि त्यो केटा ठीक बोलिरहेझैँ लाग्यो उसलाई । “पक्कै सरकारले कुनै जनविरोधी काम गरेको हुनुपर्छ । नत्र त्यसरी भन्ने छैन ।” टाइफाइड ज्वरो बढेझैँ उसको पनि उत्सुकता ह्वात्तै बढ्यो ।
रामबहादुरको आँखा फेरि अर्र्कोे झुण्डमा पुग्यो । त्यहाँ पनि ३०, ३५ वर्षको केटा कराउँदै थियो, “२०–३० रुपैयाँ बढाएको भए केही छैन । एउटा ग्यासको सिलिण्डरमा ५०० रुपैयाँ बढाउनु भनेको हामी गरीब जनता भोकभोकै मरोस् भन्न खोजेको हो । यो सरकारले जनताको नसा छामेको हो । हामी चुप लागेर बस्यौँ भने त्यही भाउ कायम हुन्छ । हामी चुप लागेर बस्नु हुँदैन ।”
रामबहादुरले कुरा बुझिसकेको छ । सरकारले ग्यास सिलिण्डरमा भाउ बढाएको रहेछ । रामबहादुरलाई एक दुईचोटि उसका साथीहरूले भन्ने गरेका थिए, “गरीबहरूको मुक्तिको लागि भनेर सशस्त्र लडाइँ गरेर १७ हजार मानिसको ज्यान गयो । कत्तिलाई अङ्ग भङ्ग पारे । अहिले सत्ता पाएपछि सबै बिर्सन थाले । उनीहरूले सत्तामा भागबण्डा गर्नमात्र बन्दुक बोकेका रहेछन् ।” आज ग्यासको भाउ बढाएपछि थाहा भयो, रामबहादुरलाई यो सरकार पनि सत्तामा पुग्नमात्र बन्दुक उठाएको रहेछ ।
त्यहाँ उपस्थित सबै आक्रोशमा थिए । रामबहादुरको शरीरमा पनि रगतको सञ्चार बढ्यो । टाउकोमा रगतका नशा फुलेर कपाल ठाडो ठाडो भएझैँ भयो । उसलाई पनि यो सरकार जनविरोधी सरकार हो भन्ने लाग्यो । “जनविरोधी सरकार मुर्दावाद !” भन्दै ऊ पनि सडकमा दौड्यो ।
इन्धनको भाउसँगै ग्यास सिलिन्डरमा पनि भाउ बढाएको हिजो नै सरकारले निर्णय गरेको थियो । यो समाचारले काठमाडौँ हिजो नै तातिसकेको थियो । रामबहादुरले थाहा पाएको थिएन । उसले थाहा पाओस् पनि कसरी ? उसको कोठामा न टीभी छ न त रेडियो वा एफ एम नै । हिजो ऊ घरको यादले छटपटिएर बसेको थियो रातभर । सुत्न पनि सकेको थिएन ।
सडकमा कतै आक्रोशित भीड सरकारको विरोधमा “जनविरोधी सरकार मुर्दावाद” भनेर आकाश थर्कने गरी नारा लगाइरहेका थिए । बिहानैदेखि रेडियो, एफ एम अनि टीभी च्यानलले सरकारको जनविरोधी निर्णयको विरोधमा आवाज उठाउँदै जनताको गुनासोलाई प्रत्यक्ष प्रसारण गर्दै आगोमा पेट्रोल छर्किरहेको थियो । ठाउँठाउँबाट निस्केका जुलुस एकत्रित हुनथालेपछि बिहान खोलेका पसल पनि बन्द भए । जुलुसका उत्तेजित र आक्रोशित नारा सडक, टोल हुँदै घरघरको कोठा–कोठासम्म पुग्यो । जसले जनविरोधी सरकारको विरोधमा सडकमा आउन सबैलाई उत्साहित ग¥यो । एक दुई साहुमहाजनबाहेक जनता सबै सडकमा उत्रे ।
काठमाडौँका आन्दोलन जङ्गलमा सल्केको आगोझैँ फैलियो । रामबहादुरले यस्तो आन्दोलन २०६२–६३ सालको जनआन्दोलनमा मात्र देखेको थियो । त्यतिबेला रामबहादुर पनि लोकतन्त्रको लागि कम्मर कसी लागेको थियो । लोकतन्त्र आए कल कारखाना चल्छ, व्यापार व्यवसाय राम्रो हुन्छ, राम्रो काम पाइन्छ । त्यस्ता सपना बोकेर रामबहादुर पनि ‘निरङ्कुशतन्त्र मुर्दावाद’ भनेर जुलुसको पछि पछि लागेको थियो । एकचोटि पुलिसको लठीले टाउकोमा बजारेको उसले बिर्सन सकेको छैन । लोकतन्त्र त आयो । तर, बाँच्न झन् गा¥हो भयो उसलाई । सत्तामा जाने नेताहरू देखेर रिस उठ्यो उसलाई । कमाई नभएको बेलामा ग्यासको भाउ बढ्दा उसलाई जीवन सकसपूर्ण लाग्यो । यतिबेला आफू चुप लाग्नु जनविरोधी सरकारलाई समर्थन गर्नु हुने सम्झेर जोसिलो नाराका साथ ऊ पनि जुलुसमा होमियो ।
जुलुस आँधीसरि थियो । जनआन्दोलनमा देखेभन्दा भयानक लाग्यो रामबहादुरलाई । जुलुसमा उसले आफ्ना सबै साथीहरू जुलुुसमै देख्यो । आपूmले सामान बोक्ने गरेका साना साहुहरू पनि थुप्रै देख्यो । टोलमा चिनिएका मारसावहरू अनि विद्यार्थीहरू पनि देख्दा रामबहादुर अझ उत्साहित भयो । सबै आक्रोसित भए । तिनीहरूको आवाजमा भाउ बढाएको रिसमात्र होइन, जनतालाई धोका दिने नेताहरूप्रति पनि आक्रोश थियो ।
ठाउँ–ठाउँमा पुलिससँग झडप गर्दै अश्रुग्यास र लाठी सामना गर्दै “जनविरोधी सरकार मुर्दावाद” नाराका साथ जुलुस अघि बढ्यो । त्यतिकैमा एउटा समाचार आयो “सरकारले निर्णय फिर्ता लियो । ”
जनताको विजयको खबरले जुलुसमा सहभागीहरू सबै खुसी भए । हर्षले नाच्न थाले । रामबहादुरलाई पनि खुसीको सीमा रहेन । ऊ पनि नाच्न थाल्यो । उसको कोठामा आज चुलो नबल्ने भए पनि ऊ नाच्न थाल्यो । नाच्दै उसले सोच्यो, “जनता भनेको एउटा महान शक्ति हो । जनता उठ्यो भने जस्तोसुकै तानाशाहीले पनि जनताको अगाडि घँुडा टेक्न पर्दोरहेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *