भर्खरै :

विदेशीको इसारामा पारमाणविक विधेयक !

भक्तपुर, ४ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थसम्बन्धी विधेयक र विषादी परीक्षण निर्णय फिर्ता’ विषयक प्रशिक्षण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा सचिव सुवालले पारमाणविक तथा रेडियोधर्मी विधेयक विदेशीको इसारामा संसद्मा पेश भएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सी संरा अमेरिकाको हालीमुहाली भएको संस्था भएको र त्यस संस्थाले शिक्षा र स्वास्थ्यको नाममा सो विधेयक पास गराएर साम्राज्यवादीहरूको स्वार्थ पूरा गर्न सक्ने आशङ्का छ, उहाँले भन्नुभयो ।
पारमाणविक तथा रेडियोधर्मीसम्बन्धी प्रस्तुत विधेयक जस्ताको तस्तै पास भए नेपाली जनशक्ति र पुँजीले धान्न नसक्ने हुँदा विदेशीहरू भित्रिने प्रवल सम्भावना रहेको औँल्याउँदै सचिव सुवालले शासक दलका नेताहरू युरेनियम प्रशोधन गरी विदेशीलाई बेचेर देश धनी हुने झूटो सपना देखाइरहेको बताउनुभयो ।
प्रा.डा. राजुभाइ त्यातले पारमाणविक तथा रेडियोधर्मीसम्बन्धी विधेयकबारे प्रस्तुति दिँदै नेपालजस्तो उच्च भूकम्पीय जोखिमयुक्त देशमा आणविक भट्टीहरू निर्माण गर्नु जोखिमपूर्ण हुने बताउनुभयो ।
अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीले आणविक ऊर्जा शान्तिपूर्ण कार्यको लागि मात्र प्रयोग गर्नुपर्ने मान्यता रहे पनि शक्ति राष्ट्रहरूले उक्त नियम पालना नगरेको उहाँले बताउनुभयो ।
“नेपालमा आणविक भट्टीहरू निर्माण भइहालेमा शक्ति राष्ट्रकै हस्तक्षेप हुने र दुरुपयोग हुने अवस्था छ”, प्रा.डा. त्यातले भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सबिन ख्याजूले कृषि क्षेत्रमा विषादी प्रयोगबारे जानकारी दिँदै विषादीयुक्त खानेकुरा प्रयोग गर्दा हुनसक्ने हानिबारे सचेत गराउनुभयो ।
भारतबाट आयातीत तरकारीमा ८० प्रतिशतसम्म विषादी रहेको जानकारी दिंदै अध्यक्ष ख्याजूले भारतको दबाबमा नेपाल सरकारले विषादी परीक्षण स्थगित गरेबाट वर्तमान सरकार भारतीय विस्तारवादको दलाल भएको प्रमाणित गर्छ भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सचिव रमेश प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *