भर्खरै :

निजीकरणले देशको अर्थतन्त्र तहसनहस

काभ्रे, ४ साउन । “शासक दलहरूले देशको मुख्य मुख्य उद्योगधन्दा निजीकरणको नाममा व्यक्तिलाई सुम्पेपछि देशको अर्थतन्त्र तहसनहस भएको हो । सहकारीकर्मीहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै आर्थिकरूपले पछाडि परेकालाई माथि उठाउन समुदायबीच भिज्न सक्नुपर्दछ ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं ३ का सभासद् सुरेन्द्रराज गोसाईले शुभ–लाभ बचत तथा ऋण सहकारी संस्था लि. छालिङको शनिबार काभ्रे पनौतीमा सम्पन्न वार्षिक समीक्षा तथा त्रिवर्षीय योजना तर्जुमा कार्यक्रमको उद्घाटन मन्तव्यमा व्यक्त गर्नुभएको हो ।
उहाँले ०४६ पछि निरन्तर सत्ताको स्वाद चाखेका शासक दलहरूले नेपालको शाही औषधि लिमिटेडलाई ध्वस्त बनाएर भारतबाट महँगोमा औषधि किन्न बाध्य बनाएको चर्चा गर्दै चीनले उपहार दिएको ट्रलीबस ध्वस्त बनाएर सरकारमा जाने दलहरूले वातावरण मैत्री, पर्यावरण मैत्री काम गर्ने भन्दै गफ हाँक्दै हिँड्नुमा कुनै तुक नरहेको उल्लेख गर्नुभयो ।
सहकारी संस्था आर्थिक कारोबारमा मात्रै सीमित नभएर जनताको सामाजिक, सांस्कृतिक, आर्थिकस्तर उकास्न पनि क्रियाशील रहनु जरूरी रहेको उल्लेख गर्दैै सभासद् गोसाईले देशलाई बर्बाद पार्नेविरूद्ध सहकारीकर्मीहरू राजनीतिक सुझबुझका साथ सङ्घर्षमा उत्रनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भारतले सीमा नजिकै बनाएको बाँध तथा तटबन्धको कारण देशका विभिन्न भाग डुबानमा पर्दा पनि शासक दल र सरकार बोल्न नसक्नु लज्जास्पद रहेको उहाँले बताउनुभयो ।
आयोजक सहकारीका पूर्वअध्यक्ष मीनबहादुर बाटाले स्थापनाकालदेखि नै सहकारीले जनसेवालाई प्राथमिकता दिँदै काम गर्दै आएकोले सहकारीकर्मीहरू इमानदारीपूर्वक समाज परिवर्तनको लागि क्रियाशील रहनुपर्छ भन्नुभयो ।
आयोजक सहकारीका अध्यक्ष लक्ष्मीनारायण लिगलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिकृष्ण लागेजू र सानुमाया लागेजूले पनि बोल्नुभएको थियो ।
दुईदिने योजना तर्जुमाको पहिलो दिन जिल्ला सहकारी सङ्घका कृष्णगोविन्द लाखाजूले ‘व्यवसायिक योजना तर्जुमा र असल बैठक प्रणाली’ बारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रगतीबारे समीक्षा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *