भर्खरै :

‘रअ’ प्रमुख गोयल र पुष्पकमल दाहाल भेटमा के भयो ?

नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका कारण भारतीय गुप्तचर संस्था ‘रअ’ नेपाली जनताबीच कुख्यात छ । नेपालमा भएका प्रमुख राजनीतिक घटनाक्रममा ‘रअ’ ले सधैँ सन्देहस्पद र आक्रामक भूमिका खेल्ने गरेको छ । विशेषतः माओवादी सशस्त्र विद्रोहको सन्दर्भमा ‘रअ’ ले खेलेका भूमिकाबाट आज पनि ऊप्रति नेपाली जनता सजग छन् । माओवादी विद्रोहलाई ‘रअ’ ले नेपालमा आफ्नो प्रभाव विस्तारको बलियो हतियार बनाएको अब रहस्य र गोप्य विषय रहेन । ‘रअ’मार्फत नेपालमा हुने भारतीय गतिविधिले नेपाललाई सधैँ भारतको तखतमा राख्न मद्दत पुग्ने गरेको छ ।
‘रअ’ का प्रमुख सामन्त गोयलको तीनदिने नेपाल भ्रमणले नेपालको राजनीतिमा कुनै हलचलको आशङ्का गरिएको छ । नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच आधा अवधि प्रधानमन्त्री चलाउने विषयमा भएको सहमति बाहिरिनु, मन्त्रिपरिषद् पुनःगठनको चर्चा चल्नु र यति नै बेला ‘रअ’ प्रमुखको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा लिइएको छ ।
प्रधानमन्त्री पदमा ओली र दाहालमध्ये कोही आउनु वा जानुले नेपाली जनताको जीवनमा ठूलो फरक पर्नेछैन । तथापि दाहालको नेतृत्वलाई भारतीय एकाधिकार पुँजीले सहज अनुभव गर्ने गरेको छ । माओवादी विद्रोहदेखि दाहाल र ‘रअ’ बीचको सम्बन्ध आज पनि जोडिएकै छ । सामन्त गोयलले नेपाल भ्रमणको क्रममा दाहालसँग भेटे । यो भेटबारे दाहाल सचिवालयले केही सार्वजनिक गरेको छैन । सचिवालयका जिम्मेवारी सदस्यहरूले अनेक कुरा गरेर यो भेटबारे सार्वजनिक अभिव्यक्ति दिन टारिरहेका छन् । तर, विगतमा ‘रअ’ को भूमिकाका कारण गोयलसँग दाहालको भेटबारे जनतालाई कुरा लुकाउन दाहालले मिल्दैन । ‘रअ’ प्रमुखसँग भएको कुराकानीबारे दाहालले नेपाली जनतालाई इमानदारीपूर्वक जानकारी दिनुपर्छ ।
‘रअ’ जस्तो गुप्तचर निकायमाथि नेतृत्व भरपर्दा विगतमा नेपाली जनता धेरै दुःख झेल्न बाध्य भए । माओवादी विद्रोहमा नेपाली युवाले बगाएको रगत नेपालमा भारतीय हस्तक्षेपलाई स्वागत गर्न रातो कार्पेट ओछ्याउन प्रयोग गरियो । नेपाली जनता भूकम्पको मारमा परेको बेला भारतले नेपालमाथि नाकाबन्दी लगायो । सिक्किमजस्तै नेपाललाई भारतमा विलय गर्न ‘रअ’ ले षड्यन्त्र गरेको थियो । इतिहासका पोथ्रामा अझै सुरक्षित ती सबै तीता अनुभव नेपाली जनताले भुलेका छैनन् । त्यसकारण ‘रअ’ लाई फेरि पनि कुनै पनि बहानामा नेपालमाथि हस्तक्षेपको बाटो बनाउने प्रपञ्च नेपाली जनताको भावनाविपरीत हो । पुष्पकमल दाहाललाई सत्तारोहणको प्यास लागे नेपाली जनताकै विश्वास जित्न सक्नुपर्छ, फेरि पनि विदेशी गुप्तचरको भरपर्नु गलत हुनेछ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा कुनै पनि देशको प्रतिष्ठा त्यो देशको नेता र प्रतिनिधिको व्यवहारमा भरपर्ने गर्छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा र साख नेपालका नेताहरूको व्यवहारमा भरपर्छ । नेपाली जनताको आँखामा कुख्याात ‘रअ’जस्ता विदेशी गुप्तचर निकायका प्रतिनिधिसँगको हिमचिमले नेपाली नेताहरूको साखमात्र गिराउने छैन, बरू अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठामा पनि आँच पार्नेछ ।
गोयलको नेपाल भ्रमण पशुपतिनाथ दर्शनमा मात्र सीमित पक्कै छैन । विगतका अनुभवकै आधारमा पनि ‘रअ’ को काठमाडाँै चलखेलको मूल्य नेपाली जनताले धेरै चुकाउनुपर्ने हुनसक्छ । तसर्थ यस्तो परिस्थितिबारे शासक दलका नेताहरूलाई नेपाली जनताले सजग बनाउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *