सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
भैरव रिसाल
नलेखौँ जनताप्रतिको दायित्व र कर्तव्य पालना नहुने, लेखौँ छुच्चो लेख हुने । सत्तासीनहरूको बक्रदृष्टि पर्ने । यदाकदा त्यस्ता बाङ्गा आँखा पर्दा ‘अनिष्ट’ पनि हुन खोज्ने । सरकारबाट, सत्ताबाट हात थाप्ने तृष्णा भएको भए त यस्ता लेखन्ते काम छोडिहाल्नु पर्नेरहेछ । तैपनि सरकारबाट प्राप्तिको आशा नभएकोले कलम रोकिएको छैन । मेरो कलम के लेख्न खोज्छ छापिएकै छ । मलाई पनि राम्रो कुरा, सकारात्मक कुरा लेख्न मन लाग्छ, मेलम्चीको धाराबाट कलकल पानी खसेको लेख्न मन लाग्छ, देख्न मन लाग्छ । तर, पानी आउँदैन मेलम्चीको । अझ डेढ वर्ष लाग्छ रे भन्ने कुरा सुन्नुपर्छ, पढ्नुपर्छ । अनि के लेखौँ म, समयमा काम हुँदैन । सरकारी कार्यालयबाट काममा जाने जनताले राम्रो व्यवहार पाउँदैनन् । सेवाग्राहीलाई मर्का पर्छ । सेवा गर्न बसेका राष्ट्रसेवकहरूको व्यवहार र बोलिवचन सेवाग्राहीमैत्री कसरी बनाउने भन्नेबारे नेपाल कम्युनिस्ट पार्टीको सरकारबाट काम हुनुपर्ने हो । तर, सरकार केमा अलमलिएको छ, केमा यस दिशातिर ध्यान गएजस्तो लाग्दैन । कृषिप्रधान देश नेपालमा गएको आर्थिक वर्षको नौ महिनामा भारतबाट मात्र २८ अर्ब रूपैयाँभन्दा बढीको चामल आएछ । यस्तो नमीठो समाचार नसुन्न मनलाग्छ, नपढ्न मनलाग्छ । तर, त्यस्तै छापिन्छ, भनिन्छ र देखाइन्छ । अनि ! के पढ्ने, के हेर्ने, के सुन्ने त्यस्तै त्यस्ता नकारात्मक कुरा सुन्दा, देख्दा काम सारै रहरलाग्दो नहुँदै गइरहेको छ । यसो भनेर आत्महत्या गर्न त भएन नि ? कलमलाई सङ्घर्षमा लगाउनै प¥यो ।
यसरी आकर्षक पार्ने कि ?
नेपालमा बर्सेनि झन्डै पाँच लाख युवा श्रमबजारमा आउँछन् । तर, श्रमबजारले सरदर एक लाख युवालाई मात्र स्वागत गर्नसक्छ । बाँकी युवाको बाटो के ? जाने कहाँ ? हाम्रो शिक्षा सुकिलो काम गर्नेतिर मात्र मन गर्ने, मैलो कामको प्रशंसा गर्ने हो र घृणा गर्ने नयाँ पुस्तालाई बजार पठाउँछ । सुकिला कामको मेसो बसिसकेको छैन । काम त छ नि थोरबहुत इँटा व्यवसायमा । मीनपचासमा हिजो मुछ्नुपर्ने, जेठमा इँटा भट्टामा कोइला, दाउरा, लप्सीका बियाँलगायत वस्तु हाल्नुपर्ने । यस्ता काम पनि काम हुन् भन्ने व्यापक दृष्टिकोण सिकाउँदैन हाम्रो शिक्षाले । यसर्थ शिक्षालाई श्रममैत्री, श्रमलाई सम्मान गर्ने जनशक्ति उत्पादन गर्नेतिर उन्मुख नै भएन सरकार । शिक्षा र विज्ञान प्रविधि मन्त्रालयको नेतृत्व क्रान्तिकारी वाम नेताले गरेको पनि निकै भइसक्यो । तर, मैला लुगा लाउनेहरूलाई नजिकै नपार्ने सुकिलाहरू नै उत्पादन गर्दै छन् हाम्रा विश्वविद्यालयहरू । गाई–भैँसी पालन व्यवसाय गर्दा भकाराको व्यवस्था गर्नैप¥यो । भकारो सोहोर्दा गोबर र गहुँतमा हात पर्ने नै भयो । गोवर र गहुँत गन्ध आउने वस्तु भए । अनि कसरी गन्धरहित पार्ने ? हो, एउटा गर्न सकिन्छ । बजारमा साइकलको ट्युब बनाउने जातको वा त्यो स्तरको रबरको पञ्जा पाइँदोरहेछ । हो, मैले त्यही पञ्जा लगाएर भकारो सोहोरेको छु । गमबूट लाएर गोडा बचाएको छु । सावेलले गोबर र ओछ्याएका पत्कर धुस्नु सोहोरेर हात नगन्हाउने पारेको छु दधिकोट बस्दा । तर, त्यो पद्धति खर्चालु छ । यस्तै यस्ता खोजी गर्नुप¥यो ।
कस्तो भयो होला लाश आउँदा !
स्थिति अनुकूल छैन । स्वदेशमा अनुकूल रोजगारी वा काम नपाई ऋण गरेर वैदेशिक रोजगारीमा गएका ४०÷४५ लाख नेपाली युवा–युवतीमध्ये गएको दश वर्षमा सात हजार चारसय उन्नासत्तरी जना मरेछन् । उताबाट आफ्ना नानी–छोराछोरी–दुलाहा दुलहीले लक्कुका लक्कु पठाउँछन्, साहु तिरौँला, बन्दकी राखेका गहना झिकौँला, जग्गा–जमिन उकासौँला, नयाँ सानै भए पनि ढलान घर ठड्याउँला, लालाबालालाई राम्रो स्कूलमा पढाउँला भन्दा भन्दै सेतो कपडाले जम्मै शरीर ढाकेको कफिन आइपुग्यो घरमा । यो विवरण हो विसं २०६५÷६६ देखि २०७५÷७६ सम्म अर्थात दश वर्षको । यसअघि यस्ता कफिन कसका घरमा कति आए खोजिपस्नु पर्छ । यो खबरलाई कसरी लेख्ने ? यसरी ठाडै लेख्दा सत्तामा बस्नेहरूलाई रूचिकर हुँदैन । मरेको मान्छेलाई मरेको छैन भनेर लेख्दा बाँच्ने भए त्यस्तै लेखिन्थ्यो होला । तर, लेख्दैमा मान्छे बाँच्ने भए के पो लेखिन्थ्यो र मरेको ? वैदेशिक रोजगारीमा मर्ने भनेर गएको थिएनन् पक्कै पनि । कमाऔँला घर पठाआँैला, जहान–बच्चा पालौँला, चाड–पर्व धित फुकाएर मानौँला भन्नेजस्ता कस्ता–कस्ता परिकल्पना गरेर लिएको होला राहदानी र पासपोर्ट । पासपोर्ट हात पारेको दिन उसको खुसी कति जाज्वल्यमान भएको थियो होला ! गन्तव्य मुलुक प्रवेश गरेको, दिन काम थालेको दिन कति प्रसन्न थियो होला । तर, उसको घरमा लाश आउँदा स्थिति कस्तो भयो होला ?
धानमा आधारित अर्थतन्त्र
नेपालको अर्थतन्त्र बेहाल छ । आयात कहालीलाग्दो गरी बढेको छ । निर्यात यति थोरै छ आयातको तुलनामा दाज्नै मिल्दैन । निर्यात ८७ अर्ब ७३ करोड रूपैयाँको हुँदा आयात १२ खर्ब ११ अर्ब रे ! खर्बौँ खर्ब रूपैयाँभन्दा पनि धेरै कति धेरै कति ! तर, राज्य सञ्चालकहरूमा पटक्कै चिन्ता देखापर्दैन । मन्त्री हुँदा कसको गाला कति ख्याउट परेका थिए । अहिले प्रायका गाला पुष्टमात्र छैनन् रगत चुहिएलान् जस्ता राता छन् । पेट कति बढ्यो यो १३÷१४ महिनाको छोटै अवधिमा, जोखिनु भए स्पष्ट भइहाल्छ । धेरै मोटाउनु राम्रो होइन भन्छन् स्वास्थ्यसेवाका विज्ञहरू । सामान्य मनोविज्ञान हो क्यार सन्तुष्ट नभई मान्छेको तौल बढ्दैन । यो मनोविज्ञान असत्य होइन भने तपार्इँको तौल घट्नुपर्ने जब कि राष्ट्रको अवस्था प्रगतितर्फ त उन्मुख छैन छैन बरु दुर्गतितर्फ अघि बढ्दै छ । यो यथार्थमा तपार्ईँ मन्त्री मोटो हुनु तपाईँलाई मुलुकको चिन्ता छैन भन्नु हो । अन्यथा माथि उल्लिखित मनोविज्ञान झूटो हो । कृषि क्षेत्र बढी पछि परेको छ । सिँचाइ सुविधा कम छ वा छैन । धानमा आधारित हाम्रो अर्थतन्त्र गत वर्ष समयमै वर्षात् भयो । धान बालीमा ५÷६ लाख मेट्रिक टन बढी उत्पादन भयो, देशको अर्थतन्त्र उभो लाग्यो । तर, यस वर्ष त्यसो भएन नेपालको अर्थतन्त्र थला बस्ने सम्भावना देखापर्दै छ । बल्ल–बल्ल गत आर्थिक वर्षको अर्थतन्त्रले दिएको खुसी एक वर्ष पनि नटिक्ने लक्षण देखापर्दै छ । यो स्थितिमा के लेख्ने सकारात्मक लेख ! लक्षण त राम्रो देखिनुपर्ने हो तर छैन । कि पूर्वाग्रह भो यो ? भन्नोस् है !
कति चाँडै नेपालमा बिजुली ?
यहाँ एउटा उदाहरण प्रस्तुत गर्न मनलाग्यो, ११० वर्ष अघिको चन्द्रशमशेर राणाको शासन कालको । त्यति बेला नेपालको पहिलो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् आयोजना हो, जसबाट ५०० किलोवाट विद्युत् शक्ति उत्सर्जन हुन्थ्यो । सो विद्युत् परियोजना विसं १९६६ मा बनाउन थालियो र १९६८ जेठमा पूरा भयो । त्यतिबेलाको त्यो विद्युत् आयोजना साढे सत्र महिनामा पूरा भएको रहेछ । सो जलविद्युत् आयोजनाको खर्च जम्मा ७ लाख १३ हजार ३७३ रूपैयाँ रे ! त्यसको १०१ वर्षपछि २०६९ मा नेपालको जलविद्युत् आयोजना जडित क्षमता जम्मा ७०३ मेगावाट, हिउँदमा हो क्यार उत्पादन हुने २६१ मेगावाटमात्र । तर, माग भने ११०० मेगावाट । यो एउटा उदाहरण हो । निकै चाख लागेर पुरानो कुरा कोट्याएको । त्यो बेला भीमफेदीसम्म पनि सडक यातायात थियो या थिएन । भीमफेदी यता त पक्कै थिएन सडक । पुरानो जमानाका मेसिनहरू कसरी कति जनाले उतारे होलान् । यसो हेर्दा आश्चर्य नै लाग्छ । त्यसपछि मात्र सुन्दरीजलमा ६४० किलोवाट बिजुली निस्केको हो । त्यसपछि नेपाली इन्जिनियर पद्मसुन्दर मल्लले मोरङको लेटाङमा १६०० किलोवाट बिजुली निकालेका हुन् जसले विराटनगरको उद्योगीकरणमा योगदान गरेको थियो । यहाँ एउटा चाखलाग्दो प्रसङ्ग उल्लेख गरौँ । संसारमा सन् १८७८ मा पहिलोपल्ट जलविद्युत् उत्पादन भएको हो । त्यसको ३३ वर्षपछि नै सन् १९११ मा फर्पिङमा जलविद्युत् उत्पादन भयो । कति चाँडै !
खै के भन्नु, के गर्नु
नेपाल साँच्चै अनौठो मुलुक हो । यसले त्यत्रो विशाल भारत–पाकिस्तान–बङ्गलादेशसहितको कब्जा गर्ने अङ्ग्रेज शक्तिलाई पूर्व र पश्चिम सिन्धुली र बटौली क्षेत्रबाट पस्न दिएन तर पछि मकवानपुर गढीबाट काठमाडौँ पस्न लागेपछि सन् १८१६ मा सुगौली सन्धि गर्न बाध्य पारियो जुन सुगौली सन्धिले नेपालको आकार घटायो । नयाँ मुलुक बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता आउँदा पनि वर्तमान नेपाल १,४७,१८१ वर्ग किलोमिटरमा सीमित भएको छ । सुगौली सन्धि हुनुअघि नेपाल पूर्वमा टिस्टा, पश्चिममा किल्ला काँगडासम्म र दक्षिणमा गङ्गाको पठारसम्म हुँदा कति विशाल थियो होला ! सन् १९५० मा स्वतन्त्र भारतसँग श्री ३ मोहनशमशेरले शान्ति र मैत्री नामको असमान सन्धि गरेर नेपालको धेरै नोक्सान गरेका छन् । सन् १९५० को सन्धिको एउटा धारामा ‘नेपाल सरकार र भारत सरकारको तर्फबाट ब्रिटिश सरकारको बीचमा भएका सबै सन्धि–सम्झौताहरू, प्रतिज्ञापत्रहरूलाई खारेज गरिएको छ भन्ने स्पष्ट उल्लेख छ तैपनि सुगौली सन्धिलाई खारेज गरी नेपालको भूभाग फिर्ता पाउनुपर्छ भनी अहिलेसम्मका व्यवस्थाले आवाज उठाउन सकेका छैनन् । नेपाल–भारतबीचका सम्पूर्ण सन्धि–सम्झौताहरूको पुनरावलोकन गरी समय सुहाउँदो समानस्तरको सन्धि गर्न भनी दुवै मुलुकका केही उच्च बौद्धिक व्यक्तित्वहरूको समूहले संयुक्त प्रतिवेदन तयार पारिए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएका कारण त्यो लामो प्रयासले सार्थक रूप लिन सकेको छैन । खै के भन्नु, के गर्नु ।
जबज एकदिन संग्रालो हुन्छ
कहिलेसम्म एक भइसक्छन् यी दुई पार्टी भन्ने जिज्ञासा अझै जीवितै रह्यो । सम्पूर्ण तहमा पूर्वएमाले र पूर्वमाओवादी एक भइसक्ने समय लम्बिँदा–लम्बिँदा १४ महिना नाघिसक्यो असार मसान्तभित्र त पूरै मिलिसक्ने भन्ने वचन पत्याएको थिएँ तर त्यो पनि पूरा हुन सकेनछ । फेरि आजको तारेख पाइयो । अब आज टुङ्गिने हो कि फेरि अर्को तारेख तोकिने हो भन्न सकिन्न । अब पद एउटा छ स्कूल विभाग, प्रत्याशी दुईटा भएछन् । एउटा ईश्वर पोखरेल अर्को पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ । मेरो विचारमा यी दुई महारथीले दुई अलग्ग अलग्ग कार्यदिशा बोकेका छन् ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद –जबज– भने नारायणकाजीले जनताको जनवाद । यद्यपि यी दुई कार्यदिशामा जनताको जनवाद भन्नेमा सहमति भइसकेको छ भनिएको छ । तर लाग्छ, भोलि नेकपालाई चिरा पार्ने कुनै मुद्दा सबल हुन्छ भने यही जबज मूल निहुँ हुनसक्छ । तसर्थ यो मुद्दालाई हलुकारूपमा नलिँदा बुद्धिमानी हुन्छ भन्ठान्छु । यो जबज एउटा सैद्धान्तिक पाटो भएको छ नेकपामा । मदन भण्डारीको हत्या वा दुर्घटना भन्ने निक्र्योल गर्न खोजेन, गर्न चाहेन एमालेले । किन हो मुद्दा एक दिन पक्कै संग्रालिने छ भन्नेमा छु म । तर, नेकपामा आजको नेतृत्वको पुस्ता अवसानमा गएपछि । त्यो बेला यो जबज नै सिद्धान्तको मूल जरो हुनेछ । यो अहिले कार्यदिशा जनताको जनवाद अस्थायी हो, काम चलाउ हो नेकपालाई एमालेकरण गरे भन्ने अपवाद नलागोस् भन्ने पलायनको बाटो हो भन्ने लाग्छ ।
यतातिर लागौँ न हो ?
हुँदा हुँदा पार्टीका अध्यक्ष महासचिव पद बढी आकर्षक मानिने दाउमा स्कूल विभाग पनि तानातानको अवस्थामा पुग्यो । हास्यव्यङ्ग्यको रूपमा लिनेहरूले आलोपालो विभाग, छटपटी विभाग र घुर्की विभाग नामकरण गरी कामरेड प्रचण्डलाई दिएका छन् भने फकाइ फुल्याई विभाग, आलटाल विभाग टसनमस विभाग का. ओलीलाई दिएर एउटा राजनीतिक प्रहसन सार्वजनिक गरेको पनि पाइयो । यो लामो विलम्ब र कुराकानी कहिल्यै नटुङ्गिने विलम्बवाद हेर्दा नेकपाको महाधिवेशन कसको पालामा होला ? भन्ने प्रश्न उठ्छ । कता कता राजनीतिको नियति नै यही हो ? यस्तै हो त भन्ने तर्क गर्न मनलाग्छ । हो ! यो त अति भो । देश राम्रो बाटोमा गएको छैन । व्यापार घाटा अति भो । नेपालमा आज शक्तिको स्रोत युवा निर्यात गरेर, पैसा खोज्दै छ , पैसा बनाउने शक्ति त युवा शक्ति हो नि ? नेपालमा पैसा बनाउने शक्ति कोरिया, मलेसिया, कतार, कुवेतजस्ता अरब मुलुकमा पैसा बनाउँदै छन् । त्यहाँबाट केही पैसा पठाएर त्यत्रो १२÷१३ खर्ब रूपैयाँको व्यापार घाटाका प्वाल टाल्दै छ सरकार ।
प्वालमात्र नभनौँ भ्वाङ टाल्दै छ सरकार । यही जनशक्ति अपरिमित मात्रामा निर्यात गरेर भोलि कस्तो नेपाल ! कसको नेपाल बनाउन खोज्दै छ यो नेकपाको सरकार ! ओली–प्रचण्डको सरकार ! यो प्रश्नको दीर्घकालीन गम्भीरतालाई बुझी युवा शक्ति नेपालमै संलग्न हुने काम सिर्जना गर्ने, गुणस्तरीय उत्पादन बढाउने, निर्यात बढाउने, व्यापारघाटा नहुने अवस्थामा कसरी पु¥याउने भन्नेतिर लाग्नुप¥यो । ठट्यौलो कुराले मात्र उत्पादन बढ्दैन, उत्पादन नबढी निर्यात बढ्दैन यतातिर लागौँ न हो ।
Leave a Reply