भर्खरै :

ओढारमा लुकाई राखिएको १६ किलो सुन बरामद

गोरखा, ९ साउन (रासस) : गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेँसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्ग नजिकै ओढारको ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा १२ ढिक्का (करिब १६ किलो) सुन गए राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो ।
“यति नै किलो छ भनेर भन्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “शङ्कास्पद मान्छे समातेर ल्याउँदैछौं, थप अनुसन्धान जारी छ ।” असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सिमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा बेपत्ता भएका भनिएका धनकुमार गुरुङले नै सुन ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।
गुरुङलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो । खच्चडसहित झर्दै गर्दा गुरुङमाथि सँगै आएका चार जनाको समूहले आक्रमणको प्रयास गरेको र सोही घटनापछि हिजो पक्राउ परेका गुरुङ भागेका थिए । अपहरणमा परेको भनेर हल्ला गरिएको भए पनि गुरुङ भागेको हुनसक्ने प्रहरीले यसअघि नै अनुमान गरेको थियो । उनले नै सुन ल्याएको प्रहरीसमक्ष बताएका थिए । उनलाई हिजो काठमाडौँमा पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *