भर्खरै :

खाडीको धमिलो पानीमा माछा मार्ने अमेरिकी दाउ

लका ट्याङ्करको विषयमा बेलायत र इरानबीच भएको तनावलाई पश्चिमा देशहरू र इस्लामिक गणराज्य इरानबीचको द्वन्द्वको रूपमा बुझ्न मिल्दैन किनभने बेलायतले समग्र पश्चिमको प्रतिनिधित्व गर्नसक्दैन । आणविक मुद्दालाई लिएर संरा अमेरिका इरानसँग तनावमा फसेको छ । तर, धेरै पश्चिमा देशहरूले यस विषयमा संरा अमेरिकाभन्दा फरक मान्यता राख्छन् । उनीहरूले इरान आणविक सम्झौताको रक्षा गरिरहेका छन् ।
संरा अमेरिका र इरानबीच द्वन्द्वको भविष्य संरा अमेरिकी कदममा भरपर्नेछ । यदि संरा अमेरिकाले सो क्षेत्रमा तनाव बढाउन नखोजे बेलायत पनि नरम बन्दै जानेछ । बेलायतले इरानी तेलका ट्याङ्कर नियन्त्रणमा लिनुको एउटा सम्भावित कारण बे्रक्सिटपछि संरा अमेरिकी समर्थन पाउनु हुनसक्छ किनभने बेलायतसँग युरोपेली युनियनभन्दा आफूलाई संरा अमेरिकाले कम प्राथमिकता दिने हो कि भन्ने पीर छ । साथै, आफू एक्लिने पो हो कि भन्ने चिन्ताले पनि बेलायतलाई इरान तेलका ट्याङ्कर नियन्त्रणमा लिन उत्साहित गरेको हो ।
बेलायतले गएको जून ४ मा इरानी तेलका ट्याङ्करबिना कुनै सन्दर्भ र कारण नियन्त्रणमा लियो । केही देशहरूले उसलाई समर्थन पनि गरे । त्यसको बदलामा इरानले पनि बेलायती ध्वजाबाहक ट्याङ्करहरू नियन्त्रणमा लियो । दसकौँदेखि वाशिङ्टनसामु झुक्न तयार नभएको तेहरानले यस्तो कदम चाल्नु स्वाभाविक र तर्कपूर्ण थियो ।
बेलायतले इरानी ट्याङ्करहरू नियन्त्रणमा लिए पनि उसले इरानी आणविक सम्झौताबारे आफ्नो अडान भने त्यागेको छैन । तसर्थ इरानी ट्याङ्करको नियन्त्रण खाडीमा चालू तनावसँग सङ्गतिपूर्ण छ । त्यहाँ खासमा इरान र संरा अमेरिकाबीच तानातान भइरहेको छ ।
संरा अमेरिकाले पर्सियाली खाडीमा ट्याङ्कर सञ्चालनको लागि एक प्रकारको सैनिक मोर्चा बनाउने प्रयास गरिरहेको थियो । वाशिङ्टन र तेहरानबीचको तनावले उचाइ लिएसँगै त्यस्तो प्रयासको थालनी भएको हो । दुई देशबीचको तनावलाई समयमै नियन्त्रण नगरे नियन्त्रणभन्दा बाहिर जानसक्छ । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला खाडीको अवस्था नियन्त्रणभन्दा बाहिर पठाउने पक्षमा छैनन् । त्यहाँको अवस्था नियन्त्रणभन्दा बाहिर गए आफ्नो दोस्रो कार्यकालको निर्वाचनमा असर पर्नसक्नेमा उनी सजग छन् ।
तथापि जस्तालाई तस्तैको अचानोमा परेको संरा अमेरिकाले सेतो झन्डा नै उचाल्न सकेन । त्यसको लागि संरा अमेरिकाले अरू नै देशलाई परिचालन गर्न खोजेको देखियो । इरानसँग खाडीको जहाजी बाटो रोक्न सक्ने क्षमता नभएकोले संरा अमेरिका र अन्य देशबीचको यस्तो मोर्चाबन्दी व्यवहारिकभन्दा प्रतीकात्मकमात्र हो ।
मे महिनाभन्दा यता हर्मुज जलमार्गमा र वरपरका क्षेत्रमा ६ वटा तेलका ट्याङ्करमाथि हमला भए । तर, त्यस्ता हमलामा इरानको संलग्नता कहिले पनि पुष्टि भएन । संरा अमेरिका, इजरायल र साउदी अरबसँग इरानी संलग्नताबारे कुनै प्रकारको प्रमाण भए धेरै अघि नै इरानमाथि दबाब दिन त्यस्ता प्रमाणको प्रयोग भइसक्थ्यो ।
वाशिङ्टनले तेहरानलाई धकेलेर कुनामा नपु¥याउँदासम्म र हर्मुज जलमार्ग बन्द गर्ने जस्ता तनावलाई नियन्त्रण गर्ने विकल्प सकिएको अवस्थामा बाहेक अन्तर्राष्ट्रिय क्षेत्रमा तनाव बढाउनु इरानको लागि मूर्खतापूर्ण हुनेछ ।
केही पश्चिमा देशहरू अझै पनि इरानमाथि विश्वास गर्छन् । तेहरानले ती देशबाट सहयोग पाउने अपेक्षा पनि गरेका छन् । धेरै देशहरू संरा अमेरिकासँग असहमत छन् । तर, यदि इरानले खाडी क्षेत्रमा जहाजहरूमाथि हमला गरिरहे उसले पाउँदै आएको समर्थन पनि गुमाउनसक्ने छ ।
संरा अमेरिका इरानसँग द्वन्द्व उछाल्न चाहन्छ । तर, ऊ आफू त्यो जञ्जालमा फसिरहन चाहँदैन । सबै कुरा वाशिङ्टनले चाहेजस्तो मात्र हुन्छ भन्ने पनि छैन ।
ट्रम्प आफ्नै हात माथि पर्ने गरी यो द्वन्द्वको अन्त्य गर्न चाहन्छन् । उनले इरानसँग कुराकानी गर्न आफू तयार रहेको पटक–पटक सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । जापानलाई मध्यस्थताको लागि उनले आग्रह गरेका थिए । तर, ट्रम्पका केही सहयोगी र सरकारका सदस्यहरूजस्तै ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र संरा अमेरिकी विदेश सचिव माइक पम्पेओ इरानमाथि अझ कडा कदम चाल्ने पक्षमा छनन् ।
संरा अमेरिकाले इरानमा तनाव बढाउन चाहे पनि खाडी क्षेत्रमा इरान अतिवादी देशको रूपमा उदाएको संरा अमेरिका चाहँदैन । यसले कुनै पनि संवादको ढोकालाई बन्द गरिदिनेछ । इरानको वर्तमान सरकारले इरानी जनतालाई इरान आणविक सम्झौतामा हस्ताक्षर भएपछि संरा अमेरिकाले थोपरेको नाकाबन्दी केही हलुका हुने कुरा बताएको थियो । तर, ट्रम्प संरा अमेरिकाको राष्ट्रपति बने यता नाकाबन्दी कम हुनु त परको कुरा अझ पेचिलो बनाइएको छ । त्यसकारण इरानी जनतामा एक प्रकारको रुष्टता छ । इरानी जनताले त्यसकारण आफ्नो सरकारलाई सजिलै छोड्ने छैन ।
संरा अमेरिकासँग तनावबीच इरानले गएको सोमबारमात्र संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईएको लागि काम गरिरहेका १७ जना गुप्तचरहरूलाई गिरफ्तार ग¥यो । उनीहरूमध्ये केहीलाई मृत्युदण्डको सजाय पनि सुनाइयो । यसरी गिरफ्तार गरिएका मानिसहरू कुन देशका नागरिक हुन् भन्ने कुरा खुलाइएको छैन । संरा अमेरिकाप्रति इरानको कडा नीतिको रूपमा उक्त कदमलाई अथ्र्याउन सकिन्छ । साथै यो कदम इरानी जनतालाई वर्तमान सरकार संरा अमेरिकासामु नझुक्ने सन्देश दिने प्रयत्न पनि हो ।
यस्तो परिस्थितिमा इरान आणविक सम्झौतामा हस्ताक्षर गरेका मध्ये कुनै तेस्रो पक्ष जस्तै, अन्तर्राष्ट्रिय आणविक ऊर्जा केन्द्र (आईएईए) र संरा सङ्घको भूमिका निकै महत्वपूर्ण हुन्छ । आईएर्ईए र संरा सङ्घले इरानी आणविक सम्झौताको वैधानिकता स्वीकारेका छन् । युरोपेली युनियनले इरानलाई आर्थिकरूपमा सहयोग गर्न संरा अमेरिकी नाकाबन्दी पन्छाउन संयन्त्रमा काम गरिरहेको छ । युरोपेली युनियनका यस्ता निर्णयले इरानलाई केही मद्दत त गर्छ । तर, इरानको प्यास भने यतिले मेटिने छैन किनभने इरानको लागि तेलको निर्यात ज्यादै महत्वपूर्ण कुरा हो ।
इरानी आणविक मुद्दा यथास्थितिमा रहनसक्दैन । यो मुद्दा अनियन्त्रित र चरम उत्कर्षमा पनि पुगेको छैन । विभिन्न शक्तिले आफ्नो सामथ्र्यअनुसार मध्यस्थताको प्रयास गरिरहेका छन् । तथापि नतिजा भने आइसकेको छैन ।
साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत पश्चिम एसिया तथा अफ्रिका अध्ययन केन्द्रका अध्येता ली वेई चियनसँग कुराकानीमा आधारित ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *