भर्खरै :

‘बहुमत जनताको हित गर्ने नीतिले अर्थतन्त्र बलियो हुन्छ’

भक्तपुर, १० साउन ।
‘चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्ध’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भयो ।
विज्ञान र प्रविधिको विकासले देश चाँडै विकास हुने भएकोले विद्यालयस्तरदेखि नै विज्ञान शिक्षामा जोड दिनुपर्ने आवश्यकता आँैल्याउँदै अध्यक्ष रोहितले देशको विकास गर्न देशको अर्थतन्त्र बलियो हुनुपर्छ भन्नुभयो । बहुमत जनताको फाइदा हुने नीतिले देशको अर्थतन्त्र बलियो हुने विचार व्यक्त गर्दै उहाँले भूमिसुधारले किसानहरूको जीवनस्तरमा परिवर्तन आएको बताउनुभयो ।
देशको उन्नति गर्न गरिब वर्गका मानिसहरूलाई माथि उठाउन आर्थिक विकास हुने नीति देशले ल्याउनुपर्नेमा जोड दिँदै अध्यक्ष रोहितले साम्राज्यवादी संरा अमेरिकाले अरु देशको अर्थतन्त्रको विकास नचाहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका अध्यक्ष राजेन्द्र चवालले बौद्धिक कुरामा हराउन नसकेपछि अमेरिकाले चीनलाई प्रविधि चोरीको आरोप लगाएको विचार राख्नुभयो । चीनले अध्ययन र अनुसन्धानमा बढी खर्च लगानी गरेको हुनाले चीन विज्ञान र प्रविधिमा अगाडि बढेको बताउँदै उहाँले विश्वमा उत्पादनको दृष्टिले चीन दोस्रो स्थानमा रहेको विचार राख्नुभयो ।
नेपाल कर्मचारी समाजका अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य गौत्तमप्रसाद लासिवाले चीनविरुद्ध अमेरिकी व्यापार युद्ध पुँजीवाद र समाजवादबीचको लडाइँ हो, यो अमेरिकी साम्राज्यवादले आफ्नो हार स्वीकार्न नसकेको उपज हो भन्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल के.वि. प्रजापति, शिक्षिका देवलक्ष्मी ग्वाछा र शिक्षक राजेन्द्र खड्काले पनि‘चीनविरुद्ध संयुक्त राज्य अमेरिकी व्यापार युद्ध’ पुस्तकबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *