नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
सुरेश परियार
असारको महिना । मौसम घमाइलो थियो । च्याम्हासिंह चोकभन्दा थोरै भित्र छहारीमा बसेर हामी बस पर्खिरहेका थियौँ । बेलाबेला आइरहने बसमा सडकको दुवैतिर उभिएका मानिसहरू ‘नाला’ जान खोजिरहेका थिए । गुट्खाले ओँठ रातो पारेको एक कलिलो बिहारी केटो भारतबाट आयातीत आँप बेचिरहेको थियो । अलिबेरको पर्खाइपछि बस आयो । यात्रुहरू ह्वार्र बसको ढोकामा झुम्मिए । सबै सीट भरिभराउ थिए । धेरै यात्रुको धकेलाधकेल पार गर्दै केही साथी बसमा पसे । हामी केही साथी छुट्यौँ ।
हामीलाई हतारो थियो । बुढाखाडा र बालबच्चामाथि दया नदेखाई अर्को गाडीमा भने सुरुमै घुस्रेर हामी बाँकी साथी नालाको लागि रवाना भयौँ । दुःखको कुरा हामीसँगै अघिल्लो बसमा छुटेका र आइमाई केटाकेटीमाथि दया देखाउने केही यात्रु यसपालि पनि छुटे । अलिबेरमा गाडीले ससानो खोला पार ग¥यो । बाटो किनारमा धान रोपिएका खेतका मोहक पाटा देखिए, गाउँलेपन देखियो । बाटो उकालो लाग्दै गयो । नाला भनेको कुनै खोला वा नालाको समतल किनार होला भन्ने लागेको थियो । नालानजिकै बौद्ध गुम्बाअगाडि पुगेर बस रोकिएपछि त्यो भ्रम टुट्यो ।
अधिकांश यात्रु बौद्ध गुम्बा पसे । हाम्रो टोली भने गुम्बाअगाडिको उकालो चढ्यो । वरपर केही पसल, ठेला र कटेज शैलीका होटल पार गर्दै हामी टाकुरामा पुग्यौँ । सल्लाका बोटको छहारीमा बसेर हामीलाई पहिले पुगेका साथीहरूले पर्खिरहेका थिए । नाला घुम्न आएका अन्य केही मानिसलाई देखेर साथीहरूले डाँडाको अलि तल्तिर एकान्तमा बस्ने व्यवस्था मिलाए । यहाँ हामीलाई सताउने केही झ्याउँकिरीबाहेक अरू कोही थिएन ।
कैलालीका केही साथीसँग हामी नालाको बौद्ध गुम्बा घुम्न निस्केका थियौँ । घुमघामलाई स–सानो साहित्यिक जमघटको रूप दिने योजना पनि थियो । त्यसैले पहिले गुम्बा नपसेर हामी वल्लो डाँडाको विपरित ढल्कोमा जङ्गलको बीचमा गोलो बनाएर बस्यौँ । केही साथीले गीत गुन्गुनाइरहेका थिए । कोही सल्लाका पातसँग खेलिरहेका थिए । कार्यक्रम सुरु भयो । एकपछि अर्को गर्दै हामीले कविता, चुट्किला, निबन्ध, मन्तव्य सुन्यौँ र प्रस्तुति हे¥यौँ । साढे तीन बजेतिर आएको सिमसिमे पानी बाक्लो भयो । सुरुमा हामीलाई झरी थामिएलाजस्तो लागेको थियो । त्यसैले हामीले अलिअलि भिजे पनि नास्ता खान सुरु गरेका थियौँ ।
मौसम पूर्वानुमान शाखाको काम गर्न खोज्ने हाम्रो दुस्प्रयासको दुःखद अवसान भयो । झरी दर्किन थाल्यो । बीच जङ्गलमा केही साथीले आदिम उपाय अपनाउने कोसिस गरे । सल्लाका रुखका हाँगामा चौडा पातहरू खप्टाएर उनीहरूले ओत लाग्ने ठाउँ बनाए । तर दर्किँदो पानीले यो प्रयास विफल पा¥यो । अलि अघि बजिरहेको वुफरको रमाइलो गीत बन्द भयो । हाम्रो रमाइलो क्षण अत्यासमा फेरिइसकेको थियो ।
प्राकृतिक शक्तिको अगाडि मान्छे निरीह हुँदोरहेछ । हामीसँग कुनै विकल्प थिएन । नजिकका घरहरूसमेत १५÷२० मिनेट टाढा थिए । बीच जङ्गलमा हामी धेरैबेर बस्न पनि सक्दैनथ्यौँ । प्रकृतिसँग लड्न खोज्ने हाम्रा सारा प्रयास विफल भइसकेका थिए । साथीहरूले ओढेका टोपी र चुन्नीहरू लछप्पै भिजिसकेका थिए । हल्का रङ्गका लुगा गाढा देखिए । कसैका कपाल दुम्सीका काँडाजस्ता देखिए भने कसैका मुसाका भुत्लाजस्ता देखिए । पातलो टिसर्ट भिरेका एक साथीको गन्जी देखियो । यो घुमघाम अविष्मरणीय हुने कुराले हामी हाँसिरहेका थियौँ । के गर्ने, के नगर्ने ? हामी बिचल्लीमा परेका थियौँ ।
“अहँ, यसरी केही नगरी बस्न सकिन्न । प्याक अप । यहाँबाट निस्कौँ ।” हामीमध्येबाट एउटा आवाज आयो । हामीले सामान बाँध्यौँ र अघि आएको टाकुरातिर चढ्न थाल्यौँ । अलिबेरमा हामी टाकुरामा पुग्यौँ । तर त्यहाँ पनि एकाध सल्लाका बोटसिवाय केही थिएनन् । हामी तल बौद्ध गुम्बाअगाडिका होटल, ठेला र घर टुलुटुलु हेरेर उभिरह्यौँ । गुम्बा ४ बजे बन्द हुन्छ भन्ने एकजना साथीको आँकलन थियो । त्यसैले गुम्बाभित्रको प्रतिक्षालय पस्ने सोच आएन । गुम्बाबाहेक त्यहाँ व्यवसायिक पसल, होटल र टहराजस्ता देखिने ठेलामात्र देखिए । तिनमा मानिसहरूको घुइँचो थियो ।
दुईचारजनाको कुरा अर्कै हो । हाम्रो जमात अलि ठूलो थियो । त्यसैले पनि कतै ओत लाग्ने ठाउँ नपाइएला भनेर सायद हामी दर्केको पानीमा चुपचाप भिजिरह्यौँ । खुला र ताजा वातावरणमा पनि यो कस्तो उकुसमुकुस ¤ जङ्गलको सुनसानमा मात्र होइन पुण्यपूजा हुने समाजमा समेत हामीले आफूलाई अशक्त र कमजोर पायौँ । हामीलाई रुखैरुख भएको वन र पसलैपसल भएको बस्ती उस्तैउस्तै लाग्यो । प्रकृतिको अगाडि हामी जति निरीह थियौँ त्यति नै निरीह हामी पैसाको बलवान र स्वार्थी अनुहारसामु थियौँ ।
“रुखसँग पो कुरा गर्न सकिन्न । मान्छेसँग सकिन्छ । कतै न कतै ओत लागिएला । जाऔँ तल, मान्छेहरू भएतिर ।” हामीमध्येबाट कोही बोल्यो । त्यसपछि हामी ओरालो झ¥यौँ । अकस्मात् अगाडि हिँडेको हाम्रो साथीले निर्माणाधीन एउटा अपुरो घर देख्यो । हामी सबै त्यो घरमा जम्मा भयौँ । भ्रमणको लागि ल्याएको नास्ता खायौँ । पानी र जुस पियौँ । हाँस्यौँ र गफियौँ । गुम्बालाई पृष्ठभूमिमा पारेर फोटो खिचायौँ । यत्तिकैमा भूकम्पको धक्काले हल्लायो । वैशाख बाह्रको भूकम्पपछि नेपालीहरू कति संवेदनशील भएका छन् भने हाम्रो एक साथीले भूकम्प कति रेक्टर गएको होला भनी अड्कल पनि काटे ।
यतिञ्जेल हाम्रा लुगाहरू आधा सुकिसकेका थिए । निस्कने सुरसार गर्न हामीले ल्याएका प्लाष्टिकका फोहर जम्मा गरेर थान्को लगाइन् एक बहिनीले । बहिनीको काम हेर्दै म सोचिरहेको थिएँ, हामी भागेर आएको वनको बीचमा हामीले कागज र प्लाष्टिकको फोहर तह लगाउन भ्याएनौँ । त्यसैले पर्यटन भनेको पैसा हुनेहरूले पैसा नहुनेहरूकहाँ गएर गर्ने फोहर कर्म हो भन्ने जल्दोबल्दो परिभाषा झल्यास्स सम्झेँ । मन अमिलो भयो ।
साँझ पर्दै थियो । पानी थामिइसकेको थियो । साथीहरू सबैलाई पठाएर हामी तीनजना साथी शरीर तताउने उपायमा जुट्यौँ । खबटाले छाएका गाउँले घर हेर्दै र आसपासका खेतमा ठिङ्ग उभिरहेका दुई घोगा लागेका मकैका गाढा हरिया पात हेर्दै हामी अलि उँभो गयौँ । चुरोटको खार भरिएको एक पसलबाट बेन्च बाहिर निकालेर बस्यौँ । चिया पिउँदै हामी भ्रमणकै सेरोफेरोमा कुरा गरिरहेका थियौँ ।
मान्छे प्राकृतिक शक्तिसामु निरीह हुन्छ । ऊ प्रकृतिसँग डराउँछ । त्यसैले मान्छेले समाज बनायो । विज्ञान र प्रविधि बनायो । तर कहिलेकाहीँ मान्छे समाजसँग पनि डराउन पुग्दोरहेछ । खासगरी पैसा नै सबथोक हो भन्ने मानसिकताको दास भएको समाजमा मान्छेले आफूलाई एक्लो र असहाय पाउँदोरहेछ । यस्तो समाजबाट मानवीय सहयोग वा आत्मीयता नपाइने हो कि भन्ने पिरलोले मान्छेलाई सताउँछ । तैपनि मान्छे चुप लागेर बस्नसक्दैन । ऊ अघि बढ्छ । आशाको किरण खोज्ने लालसा मान्छेमा नमरुञ्जेल रहन्छ । यस्तै आशाको किरण खोज्ने सामूहिक प्रयत्न नै असल राजनीति हो । दिउँसो बीच वनमा बोल्ने एक वक्ताले यस्तै केही भनेका थिए । हामीसँग सामूहिक रूपमा अगाडि लम्कनेबाहेक अर्को विकल्प छैन ।
बौद्ध गुम्बा घुम्ने हाम्रो योजना त पूरा भएन । नालाका गाउँले दाइदिदीहरूसँग गाउँका कुरा भने भए । केही विद्यालय र उद्योगहरू रहेको यो स्थान बनेपा र भक्तपुरबीचको कडी रहेछ । मीठो चियाको लोभलाग्दो अन्तिम चुस्की लिएर र सुपथ मूल्य तिरेर हामी भक्तपुर जाने गाडीमा चढ्यौँ । सुन्दर गाउँघर, खोलानाला र खेतलाई पछि छाड्दै गाडी अघि गुड्यो । मेरो दिमागमा भने एउटै विचार ओहोरदोहोर गरिरह्यो, “पर्यटकीय स्थलहरूमा पब्लिक स्पेस हुन जरुरी छ । त्यतिमात्र होइन, हरेक गाउँ, टोल, सहरमा सार्वजनिक स्थलहरू हुनुपर्छ । पोखरी, बगैँचा, रङ्गशाला र सभाहलमात्र भएर पुग्दैन । पाटी, पौवा, प्रतिक्षालय, सार्वजनिक धारा, आदि पनि जहाँतहीँ हुनुपर्छ । समाज मानिसको लागि हो, पैसा सोहोर्नको लागि होइन ।”
सल्लेरी डाँडाहरू र झरीको आरोह अवरोहबीच हाम्रा विचारका छालहरू चल्मलाइरहे । ती छालले हामीलाई समाजको रीत देखाए, जीवनको गीत सिकाए । नाला भ्रमण कुनै वाल्जजस्तै मानसपटलमा सदाका लागि गुञ्जिरहनेछ । स्मृतिमा कविताको सुन्दर हरफजस्तै अङ्कित हुनेछ ।
भ्रमणको लागि कैलालीका साथीहरूलाई धेरै धेरै धन्यवाद । नाला नगएको भए मूल्यवान् शिक्षाबाट हामी वञ्चित हुने थियौँ ।
Leave a Reply