भर्खरै :

विभिन्न देशका वामपन्थी प्रतिनिधिको स्वागत

काठमाण्डौ । नेपाल प्राध्यापक समाजको आयोजनामा सोमबार ‘क्युवाली क्रान्तिको ६० वर्ष र साम्राज्यवादविरोधी सङ्घर्ष’ विषयक विचार गोष्ठी सम्पन्न भयो ।
गोष्ठीमा संरा अमेरिकाको समाजवादी श्रमिक पार्टीका केन्द्रीय सदस्य मार्टिन कोपेलले क्युवाली समाजवादी क्रान्ति क्युवाको मात्र क्रान्ति नभई अमेरिकी महादेश र विश्वभरका न्यायप्रेमी, साम्राज्यवादविरोधी र क्रान्तिकारी जनताको समेत भएको बताउनुभयो ।
क्युवाली क्रान्तिले क्यारिविया, ल्याटिन अमेरिका र अमेरिकी महादेशमा मात्र नभई विश्वभरकै समाजवादी र क्रान्तिकारी जनतालाई क्रान्तिको नमुना देखाइरहेको बताउँदै त्यसैले क्युवाली समाजवादी क्रान्ति, त्यहाँको सरकार र जनता ऐक्यबद्धताको हकदार छ भन्नुभयो ।
समाजवादी श्रमिक पार्टीले संरा अमेरिकी सरकारको साम्राज्यवादी, हस्तक्षेपकारी र शोषणकारी नीतिहरूविरूद्ध सङ्घर्ष गर्दै आएको र गरिब मजदुर जनताको आन्दोलन उठाउन लागिरहेको उहाँले बताउनुभयो ।

वामपन्थी दलका प्रतिनिधिको स्वागतमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दिवाभोज आयोजना गर्नुभएको थियो ।

नेता कोपेलले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई धोखा दिएको बताउँदै जनताले ट्रम्पको आश्वासनलाई विश्वास गरेर मत दिएका तर अहिले ट्रम्प प्रशासनको कामदेखि अमेरिकी जनता किंकर्तव्यविमूढ अवस्थामा छन् र विभिन्न सहरमा मजदुर आन्दोलन उठिरहेका छन् भन्नुभयो ।
समाजवादी श्रमिक पार्टीले जनताको घर–घरमा पुगेर आफ्ना प्रकाशनमार्फत पार्टीको नीति र कार्यक्रम प्रचार गर्ने र राजनीतिक चेतनास्तर उठाउने काम गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले उद्योग प्रतिष्ठानहरूमा ट्रेड युनियन बनाउने पक्षमा जनमत सिर्जना गरिरहेको छ भन्नुभयो ।
समाजवादी श्रमिक पार्टी र अमेरिकी कामदार जनता इरानमाथि नाकाबन्दी र सम्भावित हमलाको विरोधमा रहेको, क्युवा, भेनेजुयला र अरू ल्याटिन अमेरिकी देशहरूमा हस्तक्षेपको विरोधमा रहेको जानकारी दिँदै नेता कोपेलले विश्वव्यापी साम्राज्यवादविरोधी सङ्घर्षले मात्र साम्राज्यवादीहरूलाई पराजित गर्न सम्भव छ भन्नुभयो ।
त्यस्तै न्युजील्यान्ड कम्युनिष्ट लिगकी सदस्य अनालुसिया भर्मोन्टले न्युजील्यान्डका कम्युनिस्ट हरू विश्वका समाजवादी र प्रगतशील शासनप्रति ऐेक्यबद्धता जनाउँदै आफ्नो देशको सरकारका पुँजीवादी नीतिविरूद्ध लडिरहेको बताउनुभयो ।
गत मार्च १५ मा न्युजील्यान्डको एक मस्जिदमा स्वचालित राइफल प्रयोग गरी भएको हत्या काण्डको प्रस· उठाउँदै त्यो न्युजील्यान्ड र अष्ट्रेलियाका सरकारहरूले बढावा दिइरहेको जातिवाद र भेदभावको नीतिको परिणाम भएको बताउनुभयो ।
“न्युजील्यान्डका दक्षिणपन्थीहरूले विनाकारण मुस्लिम र अन्य धर्मविरोधी प्रचार गरिरहेका छन्” उहाँले भन्नुभयो ।


सभापतिको आसनबाट नेमकिपाका केन्द्रीय सदस्य एवम् प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसार्इँले क्युवा विश्वभरका साम्राज्यवादविरोधी, समाजवादी र क्रान्तिकारी जनताको आस्थाको केन्द्र बनेको उल्लेख गर्दै क्युवाली समाजवादबाट नेपाली जनताले धेरै सिक्नुपर्ने बताउनुभयो ।
विश्वमा विद्यमान हस्तक्षेप, जातीय युद्ध, साम्राज्यवादी विध्वंस सबै अमेरिकी साम्राज्यवादद्वारा सिर्जित भएको बताउँदै साम्राज्यवादविरोधी सङ्घर्ष आजको आवश्यकता हो भन्नुभयो ।
क्युवा ऐक्यबद्धता समिति नेपालका अध्यक्ष एवम् प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले क्युवा होसे मार्टि, फिडेल क्यास्ट्रो, चे ग्वेभारालगायत क्रान्तिकारीहरूको भूमि भएको बताउँदै क्युवाली क्रान्तिकारी जनताको त्याग र अन्तर्राष्ट्रवाद विश्वकै लागि उदाहरण र प्रेरणा भएको बताउनुभयो ।
नेपालका कम्युनिस्ट पार्टी र कम्युनिस्ट सरकार समाजवादको उच्चारण गर्न पनि काँप्नु र अमेरिकी साम्राज्यवाद र पश्चिमाहरूको निर्देशन र सल्लाहमा चल्नु नेपाली जनताको विश्वासमाथि विश्वासघात भएको विचार उहाँले राख्नुभयो ।
प्रदेश नं. ३ का अर्का सांसद सृजना सैँजूले क्युवाली कम्युनिस्ट पार्टी र क्युवाली जनता आफ्नो सिद्धान्त र व्यवस्थाका लागि ज्यान दिन तयार रहेको हुनाले क्युवाली समाजवाद कहिल्यै पराजित हुने छैन भन्नुभयो ।
अमेरिकी साम्राज्यवादको नाकैमुनि समाजवादी व्यवस्था स्थापना गरेर क्युवाली क्रान्तिले जनता नै देशको भाग्यको निर्णयकर्ता हुन् भनी प्रमाणित गरेको बताउनुभयो ।
कार्यक्रममा अस्ट्रेलियाली कम्युनिष्ट लिगका भास्करण, प्राध्यापक समाजका सदस्यहरू धनकुमार श्रेष्ठ, हरिसुन्दर सुवाल र सुवेग बिजुक्छेँले पनि क्युवाली क्रान्तिको विभिन्न पक्षबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *