भर्खरै :

ख्वप मा.वि. स्थापनाका पृष्ठभूमि

विष्णुप्रसाद किसी
वि.सं. २०४५ सालमा तत्कालीन राष्ट्रिय शिक्षा समितिद्वारा गठित शिक्षाविद्हरूको कार्यदलले सरकारलाई दिएको प्रतिवेदनअनुसार माध्यमिक शिक्षामा दुई वर्षको शैक्षिक तह थप गरी १० जोड २ तह थालनी गर्न सुझाएको थियो ।
सोही सुझावअनुसार उच्च माध्यमिक शिक्षा ऐन २०४६ लागू भयो । उक्त ऐनमा अब उप्रान्त त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन गर्न आङ्गिक क्याम्पसहरूलाई सम्बन्धन दिन नपाउने व्यवस्था उल्लेख थियोे अर्थात् त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तहको कार्यक्रम हटाउने र स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरूमात्र सञ्चालन गर्ने अवधारणा उल्लेख थियो । त्यस्तै उच्च माध्यमिक शिक्षा परिषद् गठन गर्ने र उक्त परिषद्बाट १० जोड २ तहका कार्यक्रम सञ्चालन गर्न इच्छुक शैक्षिक संस्थाहरूलाई अनुमति दिने उल्लेख थियो ।
सोही व्यवस्थाअनुरूप वि.सं. २०४६ मा उच्च माध्यमिक शिक्षा परिषद् गठन भयो । उच्च माध्यमिक शिक्षा ऐन २०४६ लाई विभिन्न समयमा आवश्यक संशोधनपछि वि.सं. २०४९ बाट १० जोड २ तहका कार्यक्रमहरू सञ्चालनमा ल्याइए ।
प्रारम्भमा देश १० जोड २ तहका कार्यक्रमहरू सञ्चालन गर्न अनुमति लिने शैक्षिक संस्थाहरू जम्मा ३८ वटामात्र थिए ।
सरकारले वि.सं. २०५७ सम्ममा त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तहको कार्यक्रम हटाउने लक्ष्य राखेको थियो ।
सरकारले त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तह हटाउने भएपछाडि एसएलसी उत्तीर्ण विद्यार्थीहरूले स्नातक तह अध्ययनको लागि १० जोड २ तहको कार्यक्रम नै अध्ययन गर्नुपर्ने बाध्यता भयो ।
जसअनुसार वि.सं. २०५६ सम्ममा १० जोड २ तह कार्यक्रम सञ्चालन गर्ने उच्च माध्यमिक विद्यालयहरू जम्मा ४०० वटा पुग्यो ।
भक्तपुरको सन्दर्भमा भन्नुपर्दा, २०५६ सम्ममा भक्तपुरमा प्रमाणपत्र तह पढाउने भक्तपुर बहुमुखी क्याम्पस, नवदुर्गा क्याम्पस, सानोठिमी क्याम्पस र १० जोड २ तहको कार्यक्रम सञ्चालन गर्ने उच्च मा.वि. दुई वटामात्र थिए ।
भक्तपुरबाट एसएलसी उत्तीर्ण हुने विद्यार्थी सङ्ख्या करिब १५०० थियो । ती सम्पूर्ण विद्यार्थीहरू यी ५ वटा शैक्षिक संस्थाहरूमा अटाउने स्थिति थिएन ।
अर्को कुरा, २०५६ सम्ममा नेपालमा १० जोड २ तह कार्यक्रम सञ्चालनमा आएका सम्पूर्ण उच्च मावि÷शैक्षिक संस्थाहरू निजी लगानीका थिए । २०४६ को जनआन्दोलन पछाडि बहुदलीय प्रजातन्त्र पुनःस्थापना भइसकेको अवस्था थियो । बहुदलीय प्रजातन्त्र भनेको पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्था भनेको धनी झन् धनी हुने र गरिब झन्झनु गरिब हुँदै जाने अर्थ व्यवस्था हो । यो व्यवस्थामा धनी र गरिबबीचको असमानता झन् झन् बढ्दै जान्छ । पुँजीवादी अर्थ व्यवस्था अथवा नवउदारवादी अर्थ व्यवस्थामा शिक्षा निजीकरण तथा व्यापारीकरण हुने गर्छ ।
प्राथमिकदेखि माध्यमिक तह (कक्षा १०) सम्म र विश्वविद्यालय शिक्षाको करिब ८० प्रतिशत व्यतर सरकारले व्यहोर्ने तर त्यसबीचको १० जोड २ तहको कार्यक्रममा सरकारले लगानी नगर्नुको पछाडि सर्वसाधारण जनताका छोरा–छोरीहरूलाई उच्च शिक्षा अथवा विश्वविद्यालय शिक्षाबाट बञ्चित गर्नु नै हो भनी जानकारहरू बताउँछन् अर्थात् पुजीवादी सरकारले शिक्षा नियोजन गर्न खोजेको स्पष्ट छ ।
विसं २०५६ तिर दस जोड दुई तहमा भर्ना गर्दा रू. १५–२० हजार तिर्नुपथ्र्यो भने मासिक शुल्क सातसय देखि दुईहजारसम्म तिर्नुपथ्र्यो  । यो शुल्क प्रमाणपत्र तहको शुल्कभन्दा १५ गुणा बढी थियो ।
हुनेखानेले त जतिसुकै शुल्क भए पनि तिरेर पढ्लान् तर नहुनेले के गर्लान् ? पढाइ छोड्नुको विकल्प थिएन ।
शिक्षामा निजीकरणसँगै सर्वसाधारण जनताका छोराछोरीहरूलाई झैँ भक्तपुरका कामदार जनताका छोराछोरीहरूलाई पनि उच्च शिक्षा हासिल गर्न गा¥हो हुने नै भयो ।
यस स्थितिलाई ध्यानमा राखी नेपाल मजदुर किसान पार्टीले स्थानीय निकायको निर्वाचन घोषणापत्र – २०५४ मा नमुना विद्यालय सञ्चालन गर्ने उल्लेख ग¥यो । सोहीअनुसार नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले नगरपालिकाको बोर्ड बैठकबाट २०५६ असार ३२ गते १० जोड २ तहको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे । सोही निर्णयअनुसार कार्य अगाडि बढ्दै जाँदा २०५६ साउन १६ गते उच्च माविले उच्च माध्यमिक शिक्षा परिषद्बाट ख्वप सम्बन्धन प्राप्त गरे ।
ख्वप माविको प्रमुख उद्देश्य भनेको सर्वसाधारण जनताका छोराछोरीहरूलाई सस्तो, सुलभ र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु नै हो । विसं २०५६ मा ख्वप मावि सञ्चालन हुँदा व्यवस्थापन सङ्कायका लागि रू. १,८००।– र विज्ञान सङ्कायको लागि रू. ४,०००।– भर्ना शुल्क र मासिक शुल्क प्रतिमहिना क्रमशः रू. २००।– र रू. ५००।– मात्र थियो ।
स्थापना वर्षमा ख्वप माविले विज्ञान सङ्कायमा ७८ र व्यवस्थापन सङ्कायमा ११६ जना विद्यार्थी भर्ना लिएको थियो । विद्यालय स्थापनाको २० वर्षपछि यसवर्ष कक्षा ११ मा विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयमा १,६०० भन्दा बढी विद्यार्थी भर्ना लिएको छ । यस शैक्षिक सत्र २०७६÷७७ मा ख्वप माविमा २,९०० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । स्थापनाकालदेखि हालसम्म विद्यालयले १६,४७५ जना विद्यार्थीहरूले दस जोड दुई शिक्षा हासिल गर्ने अवसर पाएका छन् । शैक्षिक सत्र २०७६÷७७ मा मात्र ख्वप माविमा नेपालका ५६ जिल्लाका विद्यार्थीहरू अध्ययनरत छन् ।
ख्वप मावि समयको माग र आवश्यकताअनुसार स्थानीय निकायबाट सञ्चालित नेपालको पहिलो विद्यालय हो । ख्वप माविको जगमा टेकेर अहिले भक्तपुर नगरपालिकाले ख्वप कलेज, ख्वप इन्जिनियरिङ्ग कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ्ग, ख्वप पोलिटेक्निक इन्ष्टिच्युटलगायत शैक्षिक संस्थाहरू सञ्चालन गरी देशभरिकै विद्यार्थीहरूलाई कम शुल्कमा उच्च शिक्षाको अवसर दिइरहेको छ ।
सन्दर्भ सामग्रीहरू
Higher Secondary Education Act, 2046
हाम्रो नौलो आयाम, वर्ष १, अङ्क २, २०५५
ख्वप स्मारिका, २०६२
(लेखक ख्वप उच्च माविका उपप्राचार्य हुनुुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *