भर्खरै :

देशभक्ति भावना नभई देशको सेवा गर्न सकिंदैन

भक्तपुर, १८ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) र नेमकिपा भनपा–७ वडा गोल्मढी एकाइ समितिमा आबद्ध कार्यकर्ता र कार्यकर्ताका परिवारजनबीच शुक्रबार परिचयात्मक कार्यक्रम भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले पार्टी कार्यकर्ताहरूले आफ्ना छोराछोरीहरूलाई ‘जनताको सेवा गर्नुपर्छ’ भन्ने भावना विकास गराउन मेहनत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टी कार्यकर्ता तथा कार्यकर्ताका परिवारहरूको स्वास्थ्यलगायत अन्य पारिवारिक समस्याहरूमा एकाइ समितिले ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले पार्टी कार्यकर्ताबीच सहयोगात्मक भावना हुनुपर्छ भन्नुभयो ।
नेपालमा डबल पीएचडी गरेका कथित बुद्धिजीवीहरूमा पनि समाजको सेवा गर्नुपर्छ भन्ने भावना नराखी लाखौँ–करोडौँको भ्रष्टाचार गरेका उदाहरणहरू प्रस्तुत गर्दै अध्यक्ष रोहितले देशभक्तिपूर्ण भावनाको विकास नभएका प्रमाणपत्रधारीहरूले देशको सेवा गर्ननसक्ने विचार राख्नुभयो ।
पुराना कार्यकर्ताहरूको योगदान सङ्गठनको सम्पत्तिकै रूपमा रहेकोले उनीहरूको योगदान खेर नजाने विचार राख्दै अध्यक्ष रोहितले नयाँ पुस्ताका कार्यकर्ताहरूलाई पार्टी सङ्गठनको गतिविधि र महत्वबारे बताउनुपर्छ भन्नुभयो ।
एकजना साधारण अनपढ कार्यकर्ताले भूमिगतकालका पुस्तकलगायत सामानहरू बीसौं वर्षपछि घरसम्म दिन आए तर स्नातक गरेका व्यक्तिबाट अत्यन्त महत्वपूर्ण कागजातहरू जलाइदिएको जवाफ पाउँदा आश्चर्य लागेको सन्दर्भ उहाँले जोड्नुभयो ।
जेल परेका कार्यकर्तालाई उसको जनहितपूर्ण कार्यको प्रशंसा गर्ने आफन्त तथा परिवारजनहरू पनि रहेको उल्लेख गर्दै अध्यक्ष रोहितले असल कम्युनिस्ट कार्यकर्ता र देशभक्त नागरिक तयार गर्न त्यस्तो परिवारजनको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक मानिसहरूको व्यक्तित्व फरक–फरक हुने भएकोले पार्टी सङ्गठनका कार्यकर्ताहरूलाई राजनैतिक विषयलगायत हरेक विषयमा दीक्षित गर्नु हाम्रो दायित्व हो ।”
“कर्मचारीहरूले डिग्रीका नक्कली प्रमाणपत्रको आधारमा ठूलो ओहदामा जागिर खाएका छन्, विषयवस्तुको गहिरो ज्ञान छैन, तर ओहदाअनुसार भारतीय समकक्षीहरूसँगको बैठक, सेमिनार, सम्मेलनहरूमा सहभागी हुन्छ । अनि भारतीय समकक्षीहरू विषय विशेषज्ञ हुने र उनीहरूले ल्याएका विभिन्न कागजातहरूमा नेपाली पक्षका अक्षम अधिकारीहरूले त्यतिकै हस्ताक्षर गर्दा देश झन्–झन् समस्यामा फस्दै गएको हो”, उहाँले भन्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “नेपालमा जति पनि समस्याहरू देखापरेका छन्, त्यसको कारण भारत नै रहेको छ । हामीले काम गरी खाने वर्गकै भरमा क्रान्ति गर्ने हो, मजदुर–किसानलाई नै सचेत पार्नुपर्छ ।
भक्तपुर नगरपालिकाले गरिरहेको विकासलाई देशको अधिकांश क्षेत्रले नमुनाकै रूपमा लिएको छ । क्रान्तिबाट कम्युनिस्ट शासन व्यवस्था आएको खण्डमा यो भन्दा धेरै गुणा राम्रो काम गर्न सकिन्छ ।”
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले पार्टीको तात्कालीन उद्देश्यअनुसार भक्तपुर नगरपालिकामा नीति तथा कार्यक्रम तय भएको र सोहीबमोजिम कार्य भइरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी, भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले देशमा वर्गीय चेतना विकास गर्ने कार्यमा नेमकिपाले महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शोषित पीडित सर्वहारा वर्गलाई सङ्गठित गरेर समाजवादी क्रान्ति गर्नु नै नेमकिपाको उद्देश्य हो ।
कार्यक्रममा नेमकिपा–७, गोल्मढी एकाइका अध्यक्ष बलराम गोसाई, लक्ष्मीभक्त कवां, श्रीकृष्ण किसी, पुरूषोत्तम ग्वाछा, राकेश सुकुपायोलगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *