भर्खरै :

नेमकिपा टोखाको दोस्रो नगर सम्मेलन सम्पन्न

काठमाडौँ, १८ साउन । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको दोस्रो नगर सम्मेलन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रम उद्घाटन गर्दै केन्द्रीय सदस्य प्रजापतिले नेपाल सरकार नवउदारवादको चङ्गुलमा फस्दै गइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विदेशी लगानी भित्याउने भन्दै नेपाल सरकारले विदेशीहरूको अनुकूल कानुन निर्माण गरको छ । नेपाली बजार साम्राज्यवादी देशहरूको निम्ति खुला गर्दै लगेको छ ।”
साम्राज्यवादीहरूले नाफाकै निम्ति लगानी गर्ने हुँदा नेपालजस्तो कम आर्थिक स्थिति भएको देशले विदेशी लगानी भित्याउन सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सरकार ठेकेदारहरूको घेरामा रहेको स्पष्ट पार्नुभयो ।
“ठेकेदारहरूलाई नियन्त्रण गर्न ल्याइएको सार्वजनिक खरिद नियमावली ठेकेदारहरूको आन्दोलनको धम्कीपछि सरकारले फिर्ता लिनु सरकारको आत्मसमर्पण हो”, उहाँले भन्नुभयो ।
कृषिप्रधान देशमा वर्षको डेढ खर्बभन्दा बढीको खाद्यान्न र वनसम्बन्धी वस्तु आयात गर्नुपर्ने परिस्थिति सिर्जना हुनु लज्जास्पद भएको चर्चा गर्दै उहाँले कम्युनिस्टको नाउँमा सरकारले पुँजीवादलाई बलियो बनाइरहेको र जनतालाई धोका दिइरहेको छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य नारायण महर्जनले नेकपाको सरकारले निर्वाचनको बेला प्रचार गरेको ‘गाउँ–गाउँमा सिंहदरबार’ को नारालाई सार्थकता दिन सकेको छैन ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य सनकमान महर्जनले गुठी विधेयकबारे भ्रम सृजना गरी महन्त र मठाधीशहरूले आन्दोलन उचालेको हो भन्नुभयो ।
‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’मा भ्रष्टाचार भइरहेको उहाँले जानकारी दिनुभयो । नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवालले सार्वजनिक सम्पत्ति जोगाउन सबै एकजुट भइ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आयोजक समितिका अध्यक्ष कृष्णमान श्रेष्ठको सभापतित्वमा सो कार्यक्रम भएको थियो । सम्मेलनले रवीन्द्र डंगोलको अध्यक्षमा १५ सदस्यीय नेमकिपा टोखा नगर समिति निर्वाचित गरेको छ ।
निर्वाचित पदाधिकारीहरूलाई नेमकिपाका केन्द्रीय सदस्यद्वय सुनिल प्रजापति र राजवीर डंगोलले बधाई एवम् सपथग्रहण गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *