भर्खरै :

ख्वप विश्वविद्यालय नदिनु सत्तासीन जालझेल

भक्तपुर, १९ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मानिस सामाजिक प्राणी भएका कारण सामाजिक कर्तव्य पूरा गर्नु नागरिकको दायित्व हो भन्नुभयो ।
ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा आइतबार भएको शिक्षक–कर्मचारी भेलामा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “शिक्षक–कर्मचारीहरूले आफ्नो पदीय जिम्मेवारीका साथै समाजको परिवर्तित स्थितिलाई समेत बुझेर काम गरेको खण्डमा समस्याहरू कम हुनेछ ।”
क्युवामा १ सय ११ जनाका लागि १ जना डाक्टर उपलब्ध भएको प्रसङ्ग स्मरण गर्दै उहाँले कम शुल्कमा मेडिकल शिक्षा प्रदान गर्ने ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिनुमा सत्तासीन दलको स्वार्थ र पक्षपातपूर्ण व्यवहार रहेको बताउनुभयो ।
शैक्षिक संस्थाहरूको स्थापनाका लागि विगतमा गर्नुपरेको सङ्घर्षको बारेमा जानकारी दिँदै उहाँले शिक्षक–कर्मचारीहरूले आफ्नो तर्फबाट सक्दो योगदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शिक्षक–कर्मचारीहरू इमानदार र सङ्घर्षशील भावनाबाट प्रेरित भई अगाडि बढ्नु आवश्यक छ, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् संस्थान सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले शिक्षक–कर्मचारीहरू अरूको तुलनामा अब्बल हुनुपर्ने र नैतिकतालाई भुल्न नहुने बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा भएको अनियमितताको प्रसङ्ग उल्लेख गर्दै उहाँले श्रमदानको भावनालाई जीवितै राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सम्पूर्ण पूर्वाधार भएको ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको लागि आनाकानी गरिरहेको र शैक्षिक संस्थाहरूमा पनि समय–समयमा दुःख दिइरहेको उहाँले बताउनुभयो ।
संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले बोल्नुभएको सो भेलामा शिक्षक–कर्मचारीहरूले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *