भर्खरै :

कमलपोखरी म्हासी बनाइएको छायाँदेवी कम्प्लेक्सविरुद्ध राजधानीमा विरोध प्रदर्शन

काठमाडौँ, १९ साउन । नेवाः राजनीतिक अभियान, नेवाः ग्वहाली पुचः र ठमेलस्थित कमलपोखरी पुनःस्थापना अभियानले आइतबार छायाँदेवी कम्पलेक्सविरुद्ध जनप्रदर्शनसहितको विरोध कार्यक्रम गरे ।
इन्द्रचोकबाट सुरु भएको जुलुस प्रदर्शन असन, ठँहिटी, ज्याठा चोक हुँदै ठमेलमा पुगी सभामा परिणत भएको थियो ।
ठमेलमा आयोजित सभामा जुजुकाजी महर्जनले गुठी संस्थान र सरकारको काम सम्पदा सुरक्षा गर्ने हो मास्ने होइन भन्नुभयो । राष्ट्रको सम्पति संरक्षणमा प्रत्येक नागरिकको जिम्मेवारी रहेको चर्चा गर्दै उहाँले सरकारी जग्गा मास्नेहरूमाथि कारबाही गर्नुपर्छ भन्नुभयो ।
रवीन्द्र श्रेष्ठले सम्पदाप्रेमीहरूको शान्तिपूर्ण जुलुस तोडफोड र आतङ्क मच्चाउन होइन न्यायोचित माग पूरा गर्न र गराउन दबाब दिन भएको बताउनुभयो । उहाँले झन्डै दुईतिहाइ मत प्राप्त सरकार र प्रमुख प्रतिपक्ष दलले अनियमितता रोकेर सम्पदा संरक्षण गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
नेपाल डंगोलले सङ्घीय गणतन्त्रात्मक सरकारले मठ, मन्दिर, सत्तल, पाटी, पोखरी तथा पर्ती जग्गा मास्ने होइन संरक्षण गर्नुपर्छ भन्नुभयो ।
पैसाको लोभमा सम्पदा मास्ने काममा सरकार टुलुटुलु हेरेर बस्न नहुने औँल्याउँदै उहाँले सम्पदा संरक्षणमा नलागे भोलि सिंहदरबार र उपत्यकाका महत्वपूर्ण सम्पदाहरू जोगाउन कठिन हुने बताउनुभयो ।
भगवतनरसिंह प्रधानले कमलपोखरी कायम नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
यसअघि इन्द्रचोकमा भएको भेलामा सुरेन्द्र महर्जनले अतिक्रमित पर्ती जग्गा र सम्पदा संरक्षणमा सबैको सहयोग आवश्यक छ भन्नुभयो ।
सो भेलामा प्रेमराज शिल्पकारले छायाँदेवी कम्पलेक्स भत्काउन र पर्ती जग्गा व्यक्तिको बनाउने काममा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्नुभयो ।
नमस्ते सायमीले ‘ठमेलस्थित कमलपोखरी पुनःसार्वजनिक अभियान किन ?’ लेखिएको अपिल वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *