सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो वासिङ्टन भ्रमणको क्रममा काश्मीर विवाद समाधानका लागि मध्यस्थता गरिदिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुरोध गरेको समाचार आएको धेरै भएको छैन । जवाफमा ट्रम्पले हालै जी–२० शिखर सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मध्यस्थताका लागि प्रस्ताव गरेको उल्लेख गर्दै भारत र पाकिस्तान दुवै सहमत भए आफू तयार भएको बताएका थिए । हुन त भारतले तुरुन्तै ट्रम्पको भनाइ असत्य भएको भन्दै खण्डन ग¥यो तर त्यसपछिदेखि काश्मीर मामिलालाई लिएर भारतका शासक वर्गमा ठूलो छटपटी देखिएको थियो । हिजो अगस्त ५ का दिन जम्मु–काश्मीरको स्वायत्तता अन्त्य गरेर मोदी सरकारले छटपटीलाई निकास दिने गलत मार्ग चयन गरेको छ । भारत सरकारले जम्मु–काश्मीर राज्यलाई विशेष राज्यको मान्यता दिने संवैधानिक प्रावधान खारेज गरिदिएको छ । राष्ट्रपति रामनाथ कोविन्दले सोमबार जम्मु–काश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका छन् । मोदी नेतृत्वको सरकारले त्यससम्बन्धी सूचना सोमबार भारतको राज्यसभालाई दिएको छ । तनावग्रस्त राज्यसभामा केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मु–काश्मीरलाई विधानसभासहित केन्द्रीय सरकारमातहत रहने निर्णय गरिएको जानकारी दिए । भारत सरकारको निर्णयअनुसार जम्मु–काश्मीरलाई विभाजित गरेको छ । काश्मीर अब स्वायत्त राज्य रहने छैन, दुइटा केन्द्र शासित प्रदेशमात्र हुन जानेछ र दुई लेफ्टिनेन्ट गभर्नरले शासन गर्नेछन् । लद्दाख केन्द्र शासित प्रदेश हुनेछ जहाँ कुनै विधानसभा हुनेछैन तर कश्मीरमा भन्ने नाममात्रको एक विधानसभा हुनेछ ।
स्वतन्त्र र स्वाधीन कश्मीर अझै पनि बहुमत काश्मीरी जनताको हृदयको आवाज बनिरहेको छ । हुन त काश्मीरी जनताको ठूलो भागले स्वायत्त विशेषाधिकार प्राप्त हुने आधारमा काश्मीरलाई भारतको नक्साभित्र पार्ने राजा हरि सिंह र प्रधानमन्त्री शेख अब्दुल्लाहको निर्णयलाई मानेका थिए, तर भारतको केन्द्रीय सरकार वा नयाँदिल्लीका शासकहरूले काश्मीरी जनताको मतादेशलाई पनि पटकपटक लत्याएका छन्, निर्वाचित विधानसभा र जम्मु–कश्मीरको स्वायत्त सरकार भङ्ग गरेका इतिहास छ । जम्मु–काश्मीर राज्यमा भारतका अरु राज्यको भन्दा १०–१२ गुना बढी भारतीय सुरक्षाकर्मी परिचालित छन् । काश्मीरी जनता ती सुरक्षाकर्मीको शङ्का र सनकको भरमा इनकाउन्टरमा पर्छन्, काश्मीरी महिलाहरू रक्षक भनिएकाहरूबाटै बलात्कृत भइरहेका छन् । भारतमा काश्मीरी जनता विशेष अधिकार प्राप्त राज्यका नागरिकभन्दा दोस्रो दर्जाका भारतीय बनेका छन् । त्यसैकारण भारतीय शासक वर्गको निरन्तर शङ्कालु व्यवहार, भारतीय सेना र अर्धसैनिक बल र केन्द्रीय प्रहरी बलको अत्याचारका कारण काश्मीरी जनताले स्वायत्तताभन्दा अगाडि बढेर स्वाधीनताको आवाज बुलन्द गर्न थालेका हुन् । संयुक्त राष्ट्र सङ्घको निरीक्षणमा हुने जनमतसङ्ग्रहमार्फत काश्मीरको स्थानको निर्णय हुनुपर्ने काश्मीरी जनताको सुरुदेखिकै माग हो ।
भारत सरकारको पछिल्लो कदमले काश्मीरी जनतालाई थप आक्रोशित पारेको छ । काश्मीरमा खटाइएका केही लाख सुरक्षाकर्मी, तिनका हतियार र कफ्र्यू मात्रले काश्मीरी जनताको भावनालाई दबाएर राख्न सक्नेछैन । काश्मीरी जनता ‘आजादी’को नारा लगाउँदै निहत्था नै जम्मु र श्रीनगरका सडकमा उत्रने छन् । काश्मीरको स्वर्गजस्तो भूभाग र प्राकृतिक स्रोत हडप्न चाहने तर काश्मीरी जनतालाई देख्नै नचाहने भारतीय शासक वर्गले सुरक्षाकर्मीलाई दमनमा लगाउने निश्चित छ । काश्मीरमा रगतको खोलो बगाउने र त्यहाँको माटो फेरि जनताको रगतले रङ्गिने योजना मोदी सरकारले अगाडि सारेको छ । मोदी सरकारको निर्णय र योजना भत्र्सनायोग्य छ । त्यसकोे असर पूरै काश्मीर क्षेत्रमा भयानक हुनसक्छ ।
काश्मीरको सम्बन्धमा भारतका समाजवादी नेता जयप्रकाश नारायणसित सहमत हुन सकिन्छ । जयप्रकाश नारायणले काश्मीरी जनताको आत्मनिर्णयको अधिकारको परोक्ष रुपमा समर्थन गर्दै १९६६ मा भनेका थिए, यदि हामीले जबरजस्ती र दमनको माध्यमले या उपनिवेशीकरणको सहाराले धार्मिक र नश्लीय परिवर्तन गरेर काश्मीरमा शासन गर्न जारी राख्यौं भने मलाई लाग्छ कि यो राजनीतिकरूपले सबैभन्दा घिनलाग्दो काम हो ।
Leave a Reply