भर्खरै :

वैदेशिक रोजगारीका कारण बढ्दै छ सामाजिक समस्या

–श्रेष्ठ आर के
चितवन, २० साउन । कुनै समय श्रीमानले विदेश गएर राम्रो काम गरी धन सम्पत्ति कमाउलान् र खुसी, सुखी जीवन बिताउँला भन्ने रहर काशी गुरूङ (चेपाङ) को मनमा थियो । झण्डै पाँच वर्षपछि काशीका श्रीमान मोतीलाल चेपाङ स्वदेश फर्किए । बल्लतल्ल घर आएका मोतीलाल घरपरिवारसँग एक दिन पनि रमाउने, खुसाउने नहुँदा काशीको मनमा चिसो पस्यो, पिर प¥यो । बुझ्दै जाँदा श्रीमान परस्त्रीसँग नजिक भएको काशीले थाहा पाइन् । परस्त्रीसँग नजिक रहेका श्रीमान मोतीलालको व्यवहारले काशीको जीवनमा बज्रपात भयो । काशीको मीठो सपना भताभुङ्ग हुन पुगेको छ ।
काशीको माइत लमजुङ हो । कुल्ली काम गर्न लमजुङ गएका मोतीलाल चेपाङसँग काशी १७ वर्षको कलिलो उमेरमै भागेर चितवन शक्तिखोर आएकी थिइन् । गुरुङ परिवारमा हुर्के बढेका काशीलाई शक्तिखोरको चेपाङ समुदायमा घुलमिल हुन निकै गा¥हो प¥यो । फरक संस्कारकै कारण उनले घरपरिवारबाट धेरै हेलाहोचो पनि खेप्नुप¥यो । त्यही गाह«ोसाह«ो समयले उनलाई सङ्घर्ष गरेर जीवन जीउन हिम्मत दिएको छ ।
काशीले माइतीलाई सम्झिरहे पनि माइतीले भने काशीलाई झण्डै बिर्सिसकेको छ । काशीको अन्तरजातीय भागी विवाह भएकोले माइतीले उनको माया मारेको हुनुपर्छ । त्यही भएर माइतीगाउँबाट पनि उनले त्यति साथ र सहयोग पाउन नसकेकी छैन । त्यही माथि श्रीमानको यस्तो व्यवहारले काशीलाई थप पीडा परेको छ ।
गाउँघरमा गरेको दुःखले घर–परिवार चलाउन र पैसा जोहो गर्न नसकेकोले काशीले ऋण खोजी श्रीमान मोतीलाललाई विदेश (साउदी अरब) पठाएकी थिइन् । विदेशबाट श्रीमानसँग काशीको बेला मौकामा मोबाइलमा सम्पर्क भइरहन्थ्यो । श्रीमानले काम मिलेको छैन, कमाइ छैन भन्दा काशी सजिलै विश्वास गर्थिन् । काशीले श्रीमानलाई घर फर्कन आग्रह गर्दा दशैँ, तिहार, अब अर्को साल आउँछु भन्दाभन्दै मोतीलालले पाँच वर्ष साउदीमा बिताए । छोरीको पढाइ खर्चसम्म श्रीमानले पठाउने गर्थे । त्यत्तिबेलाको कुरा सम्झँदै काशी सुनाउनुहुन्छ, “नेपाल फर्केर घर नआइकन ५÷७ दिन त श्रीमान बाहिर नै हराउनुभयो । कता हराउनुभएको भनी सोध्दा, सँगै आएको साथीको गाउँ गएको हो भन्नुभयो । भरतपुरमा कोठा लिएर केटीसँग बसेको पछि चाल पाएँ । विदेशमा श्रीमानको कमाइ रामै हुन्छ भन्ने कुरा सुन्थे । तर, यता आफूलाई भने घर खर्च चलाउन पनि समस्या भइरहेको थियो ।”
गाउँ छिमेकलाई गुहारेर प्रहरीसमक्ष उजुरी गर्दा श्रीमानलाई तिनी महिलाबाट छुटाउनुभयो । तर, श्रीमानको मन भने उही केटीतिर रहेको काशीको दुःखेसो छ । छुट्टीमा घर आएका काशीको श्रीमान १ महिनापछि विदेश नै फर्के । काशीको मनमा भने श्रीमानको त्यस्तो व्यवहारले दुःखी छ । सँगै दुःख गर्ने सँगै रमाउने भनी भागेर बिहे गरी आएको आफ्नो श्रीमानले धोका दिँदा काशीको मनमा ठूलो चोट परेको छ । आफ्नो श्रीमान मोतीलाल घर परिवारलाई सम्झेर ठीक ठाउँमा आउनेमा काशीलाई अझै झिनो आशा छ ।
श्रीमान विदेशबाट घर फर्केपछि परिवारसँगै माइती गाउँ जाने काशीको इच्छा अधुरो भएको छ । बिहे भएको दस वर्ष भयो । उनकी ९ वर्षकी छोरी छिन् । काशी अहिले २६ वर्ष भइन् । उनको नागरिकता बनेको छैन । श्रीमानले सहयोग नगर्दा उनको नागरिकता नबनेको हो । हालै माइती घर गएर जन्मदर्ता, बाबुको नागरिकता ल्याएकी काशीले श्रीमानले चासो नदिँदा नागरिकता बनाउन सकेकी छैनन् । नागरिकता नहुँदा श्रीमानले कहिलेकाहीं विदेशबाट पैसा पठाउँदा पनि काशीले अरुकै हातबाट लिने गरेकी छिन् ।
वैदेशिक रोजगारीमा जाने धेरै नेपालीको घरपरिवारमा यस्ता समस्या सामान्य बनेको छ । श्रीमान विदेशमा रगत पसिना बगाइरहँदा यता श्रीमती केही दिनमै घर छाडी अन्तै गएका उदाहरण पनि धेरै छन् । श्रीमती घरपरिवार सम्हालेर बस्दा उता श्रीमान भने परस्त्रीसँग सङ्गत गर्छन् । यस्ता समस्या नेपाली समाजमा सामान्य बन्दै छ । वैदेशिक रोजगारीमा जाँदा दलालीहरूबाट ठगिनुपर्ने, सम्झौताअनुरुप काम नहुने, जोखिमयुक्त काम गर्नुपर्दा मृत्युवरण पनि भोग्नुपर्ने वैदेशिक रोजगारीका आम समस्या हुन् । दक्ष युवा शक्तिहरू बाहिरिंदा देशलाई त घाटा छँदै छ, समाजमा विकृति, विसङ्गति पनि मौलाउँदै गएको छ ।
काशी गुरुङ (चेपाङ) ले जुन पीडा भोगेकी छिन्, त्यो समाजको प्रतिनिधि घटनामात्र हो । वैदेशिक रोजगारीकै परिणाम कैयौँ सामाजिक घटनाहरू हाम्रो समाजले झेल्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *