भर्खरै :

एसिसीबाट स्वीकृति नआउँदा बन्द प्रशिक्षण प्रभावित

काठमाडौँ, २१ साउन (रासस) : अर्को महीना श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि (यू–१९) को एशिया कप खेल्नुपर्ने नेपाली युवा टोलीको बन्द प्रशिक्षण अहिलेसम्म शुरु हुन सकेको छैन । एक महीना अघि मात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि जितेर एशिया कपमा स्थान बनाएको नेपाली युवा टोलीको आजसम्म पनि बन्द प्रशिक्षण शुरु नहँुदा फेरी पनि थोरै समयको तयारीले प्रतियोगिता खेल्न जानुपर्ने बाध्यता बनेको छ ।
एशिया कपका लागि आजैबाट शुरु हुने भनिएको बन्द प्रशिक्षण एशियन क्रिकेट काउन्सिल (एसिसी) बाट बजेट स्वीकृति नआउँदा बन्द प्रशिक्षण प्रभावित बन्न पुगेको नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताउनुभयो । “एसिसीले स्वीकृति पठाएको छैन, हामी त्यही स्वीकृतिको प्रतिक्षामा छौँ, उताबाट स्वीकृति आउने बितिक्कै खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण शुरु गर्नेछौँ, सम्भवत भोलिसम्म स्वीकृति आउने आशामा छौँ, उहाँले भन्नुभयो ।
त्यस्तै प्रशिक्षक दासले एशिया कपको तयारीका लागि नेपालले पठाएको भारत भ्रमणको योजनालाई पनि एसिसीले अस्वीकृत गरेको बताउनुभयो । उहाँले एसिसीको स्वीकृति नपाएपछि भारतमा प्रशिक्षणका लािग राष्ट्रिय खेलकूद परिषद् (राखेप)लाई आग्रह गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यसपटकको एशिया कपमा नयाँ खेलाडीले अवसर पाउने सम्भावना अत्यन्त न्यून रहेको छ । प्रतियोगिता शुरु हुन करीब एक महीनामात्र बाँकी भएकाले पनि नयाँ खेलाडीले अवसर पाउने सम्भावना कम रहेको हो । अघिल्लो महीना मलेसियामा सम्पन्न यु–१९ इस्र्टन रिजन च्याम्पियनशिपमा सहभागी १८ खेलाडीलाई नै निरन्तरता दिने सम्भावना प्रबल रहेको प्रशिक्षक दासको भनाइ छ ।
आगामी भदौ २० देखि २८ गतेसम्म हुने एसिसी यू–१९ एशिया कपमा एशियाका पाँचवटा टेस्ट राष्ट्रसहित आठ टोली सहभागी हुनेछन् । जसमा नेपाल, भारत, पाकिस्तान श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएइ) र कुबेतले प्रतिस्पर्धा गर्नेछन् । टेस्ट राष्ट्र सम्मिलित एशिया कपका लागि समयमा नै प्रशिक्षण नहुनु र नेपाल क्रिकेट सङ्घ निलम्बनमा पर्नुले पनि नेपाली युवा क्रिकेट टोली मारमा परेका छन् ।
गत असारमा मलेसियामा सम्पन्न इस्र्टन रिजन च्याम्पियनसिपमा नेपालले फाइनल खेलमा हङकङलाई छ विकेटले पराजित गर्दै एशिया कपको यात्रा तय गरेको थियो । त्यतिबेला नेपालले छनोट खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो भने सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले हराएको थियो । त्यसैगरी नेपालले सेमिफाइनल खेलमा मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *