भर्खरै :

स्थानीय पाठ्यक्रम बनाउँदै महानगर

चितवन, २३ साउन (रासस) : भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । शैक्षिक सत्र २०७७ देखि लागू गर्ने योजनाका साथ पाठ्यक्रम बनाउन लागिएको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।
महाशाखाप्रमुख सीताराम कोइरालाका अनुसार आउँदो शैक्षिक सत्रदेखि कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रममा पढाइ शुरु गर्न स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझव र सहयोगमा पाठ्यपुस्तक तयार गर्न लागिएको हो ।
महानगराप्रमुख रेनु दाहालका अनुसार यस क्षेत्रको परिचय, समाज, स्थानीय, संस्कृति र कला, स्थानीय पर्यटन तथा व्यवसाय, पेशा र प्रविधि, स्थानीय जडीबुटी तथा उपचार विधि, स्थानीय खेल, विपद् व्यवस्थापन, शहरी विकास, वातावरण संरक्षण, सभ्य र स्वास्थ्य जीवनका कथा पाठ्यक्रममा समेटिनेछ ।
पाठ्यपुस्तक निर्माणका लागि लेखनाथ खनालको संयोजकत्वमा गत मङ्सिर १७ गते आठ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलका सदस्यसचिव रुद्र शर्माका अनुसार कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन तयार गरी यही भदौ पहिलो सातामा नगर शिक्षा समितिमा पेश गरिने र महानगर कार्यपालिकाको बैठकले अनुमोदन गरेपछि पाठ्यक्रम लागू गरिनेछ । एकसय पूर्णाङ्कको पुस्तकको नाम ‘हाम्रो गौरव भरतपुर महानगर’ प्रस्ताव गरिएको छ । यसको टुङ्गो कार्यपालिकाको बैठकले लगाउँदैछ ।
। महानगरभित्रका १२३ सामुदायिक विद्यालय र ९७ संस्थागत विद्यालयमा पाठ्यक्रम लागू हुनेछ । साथै सामाजिक, शारीरिक र सृजनात्मक कला विषयमा २० पूर्णाङ्कको परीक्षासमेत लिनुपर्ने र त्यसको व्यवस्थापन शिक्षकले नै गर्नुपर्ने प्रस्ताव गरिएको छ । अहिले यहाँका विद्यालयले स्थानीय पाठ्यक्रमका रुपमा अङ्ग्रेजी, गणित र विज्ञान विषयलाई प्राथमिकता दिइँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *