भर्खरै :

काश्मीरमा कफ्र्यु तोडेरै विरोध प्रदर्शन

श्रीनगर, १० अगस्ट । भारत प्रशासित काश्मीरको राजधानी श्रीनगरमा शनिबार कफ्र्युलाई तोडेर भारत सरकारको हालैको प्रतिगामी कदमविरूद्ध विरोध प्रदर्शन भएको छ ।
बीबीसीले जनाएअनुसार श्रीनगरको सौरा इलाकामा विरोध प्रदर्शन भएको हो । सौराको सबभन्दा ठूलो अस्पताल शेर–ए–काश्मीर इन्स्टीच्यूट अफ मेडिकल साइन्स अगाडिको सडकमा प्रदर्शन भएको हो । उक्त सकडमा केही मिनेटभित्रै हजारौँको सङ्ख्यामा मानिस जम्मा भई जुलुसमा सामेल भएका थिए ।
सुरूमा कम सङ्ख्यामा रहेका भारतीय सुरक्षाकर्मीले विरोध प्रदर्शनकारीलाई अगाडि बढ्न दिएका थिए तर केही किमि अगाडि रोकेर सुरक्षा बलले गोली चलाएको थियो । प्रहरीले सुरुमा हवाइ फाइरिङ गरेको र जुलुस अगाडि नै बढेपछि पेलेट गनको व्यापक प्रयोग गरेको थियो । रबरको गोली प्रयोग हुने पेलेट गनको प्रयोगले मानिस घाइते हुने तर मर्ने सम्भावना कम हुन्छ । तर प्रहरी दमनमा परी दर्जनौँ काश्मीरी घाइते भएका छन् ।
भारत सरकारले संविधानको धारा १४४ अन्तर्गत निषेधाज्ञा मात्र लगाएको भनिए पनि सडकमा खटिएका भारतीय सुरक्षा बलले मानिसहरूको आवतजावतमा रोक लगाएर कफ्र्युको स्थिति बनाइरहेको विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन् । काश्मीरको विभिन्न नगरलगायत जम्मु, रजौरी, डोडा र किश्तवाडलगायतका सहरहरूमा पनि लगातार छैठौँ दिनसम्म भारतीय सुरक्षा बलले कफ्र्यु जारी राखेको बताइएको छ ।
बीबीसीले सार्वजनिक गरेको भिडियोमा जुलुसमा सहभागी हजारौँ मानिसले भारतविरूद्ध नारा लगाइरहेका थिए । उनीहरूले ‘गो इन्डिया गो ब्याक’, ‘वी वान्ट फ्रिडम’ नारा लगाइरहेका थिए ।
शनिबार श्रीनगरमा भएको विरोध प्रदर्शनपछि श्रीनगरलगायत काश्मीरका विभिन्न भागमा विरोध प्रदर्शन बढ्ने अनुमान गरिएको छ ।
नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले काश्मीरको विशेषाधिकार खारेज हुनेगरी भारतको संविधानको धारा ३७० खारेज गरिदिएपछि काश्मिरीहरूमा व्यापाक असन्तुष्टि बढेको छ । भारतको राजधानी नयाँदिल्लीलगायत विभिन्न सहरहरूमा पनि भारतीय जनताले मोदी सरकारको प्रतिगामी कदमको विरोध गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *