भर्खरै :

सापारूको तयारीमा सांस्कृतिक गुरूहरूको भेला

भक्तपुर, २५ साउन । भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार २०७६ को गाईजात्रा पर्व (सापारू) मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको तयारीस्वरूप सांस्कृतिक गुरूहरूको भेला शनिबार सम्पन्न भयो ।
नगरका दाफा, भजन, सांस्कृतिक टोलीलगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रा पर्वलाई व्यवस्थित र मर्यादितरूपमा सम्पन्न गाईजात्राको दिन गाईजात्रा पदमार्गमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधन निषेधित गर्ने तयारी रहेको बताउनुभयो ।
भक्तपुर नगरलाई सांस्कृतिक केन्द्रको रूपमा विकास गर्ने सोच रहेको बताउँदै प्रमुख प्रजापतिले सांस्कृतिक गुरूहरूले आफूसँग रहेका सीपहरू नयाँ पुस्तालाई सिकाउँदै लान सके देश र जनताकै लागि योगदान हुने चर्चा गर्नुभयो ।
सांस्कृतिक पर्व गाईजात्रालाई पेशागत रूपमा विकास गर्नु आजको आवश्यकता भएको औँल्याउँदै उहाँले भक्तपुर नगरपालिकाले युवालक्षित रोजगारीमूलक सीपहरूको तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले यस वर्षको गाईजात्रामा विभिन्न कारणले लोप हुन लागेका नाच तथा प्रदर्शनहरूमा आउने जानकारी गराउँदै घिन्ताङघिसीलाई व्यवस्थित गर्न र त्यस दिन प्रदर्शन हुने नाचलाई मर्यादित बनाउन घिन्ताङघिसी प्रतियोगिता हुने बताउनुभयो ।
कार्यक्रममा विभिन्न विधाका गुरूहरूले संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले गरिरहेका कार्यहरू प्रशंसनीय रहेको र भनपाको सकारात्मक कदममा सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *