भर्खरै :

नवदुर्गा धिमे खलःको बधाई कार्यक्रम

भक्तपुर, २५ साउन । नवदुर्गा धिमे खलः को आयोजनामा नवदुर्गा देवगण सदस्यको नामावली प्रकाशित तथा एसईई २०७५ का उत्तीर्ण विद्यार्थीहरूलाई प्रशंसापत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पढाइमा अगाडि बढाउन अहिलेका अग्रज र परिवारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले नैतिक शिक्षाको कमीले नै आज देशमा युवाहरू बरालिँदै गएको बताउनुभयो ।
पूर्वजले चलाएको जात्रा, पर्व, संस्कृति तथा परम्परामा ज्ञान, विज्ञान र सीप रहेको उल्लेख गर्दै उहाँले तालिमले आफ्नो व्यक्तित्व विकास हुने बताउनुभयो ।
सल्लाहकार नारायणमान बनमालाले घरपरिवारलाई त्यागी नवदुर्गा जात्रालाई निरन्तरता दिइरहेको बताउनुभयो ।
बालकृष्ण बनमालाले नवदुर्गा जात्रा नेपालको सबैभन्दा ऐतिहासिक तथा प्रसिद्ध जात्राको रूपमा रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा नारायणभक्त बनमाला, हरिगोविन्द बनमाला, आशकाजी बनमाला, विज्रेश बनमाला, सविन बनमाला, लक्ष्मीप्रसाद बनमाला र विजयराम बनमालाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा एसईई २०७५ उत्तीर्ण विद्यार्थीहरूलाई प्रशंसापत्र वितरण गरिएको थियो । यस वर्षको नवदुर्गा जात्रा सञ्चालन गर्ने देवगणको नामावली पनि प्रकाशित गरिएको थियो । धिमे खलःका अध्यक्ष बालगोपाल बनमालाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *