भर्खरै :

उत्तरदायित्वविहीन शासन प्रणाली

वर्षायाम सुरू भएसँगै खराब बनेको मध्यपुर नगरपालिकाको निकोसेराको बाटो सम्बन्धित निकायले आफैँले विवेक पु¥याएर बनाउने आशा स्थानीय जनताले गरेका थिए । तर, दैनिक हजारौँको सङ्ख्यामा सवारी साधन चल्ने सडक समयमै व्यवस्थित गर्ने विषयमा कसैले चासो दिएनन् । आवतजावतमा स्थानीय जनतालाई मात्र बाटोले दुःख दिएन, बरू सडकमा गुड्ने मोटरसाइकल र गाडी दिनहुँ हिलोमा फस्ने समस्याले धेरै सर्वसाधारण आजित भए । यस्तै समस्या काठमाडौँको साँखुवासीले भोगिरहेको वर्षौं भइसकेको छ । जोरपाटीदेखि साँखु खण्ड सडकको अस्तव्यस्त अवस्थामा सुधारको माग गर्दै अन्ततः स्थानीय जनता सडक प्रदर्शन र हडतालमै उत्रन बाध्य भए । सम्झौता भए पनि समस्या अझै समाधान हुन सकेको छैन । वर्षौंदेखि पानी पर्दा हिलो र अरू बेला धुलो खाएर कलङ्की, बलम्बुका जनताले सास्ती भोगिरहेको अझै सकिएको छैन ।
काठमाडौँ उपत्यकाको सबभन्दा चल्ती पर्यटकीय केन्द्र नगरकोटमा जनताले यस्तो समस्यामा आफ्नो दैनिक गुजारिरहेको आधा दसक बितिसकेको छ । अझै पनि सडक बनिहाल्ने छाँटकाँट छैन । ठेकेदारले सम्झौताअनुसार तोकिएको समयमा निर्माण सम्पन्न गरेनन् । ठेकेदारलाई कारबाही गर्न माग गर्दै जनता सडकमा उत्रे । तर, ठेकेदारको पहुँच शासक दलका ठूलै नेतासम्म रहेका कारण न कुनै कारबाही गर्न सक्यो न सडकको दुरवस्थामा कुनै सुधार भयो । नगरकोट सडक खण्डको निर्माण ठेकेदारले यही मौकामा तेलकोटमा जग्गा जमिन जोड्ने काम गरे । तर, सडकको धुलो भने अझै जस्ताको तस्तै छ ।
जनताको सेवा गर्नु नै जननिर्वाचित सरकारको दायित्व हो, जनताको समस्या समाधान गर्नु नै सरकारको प्राथमिक कार्य हो । तर, जनताको समस्याप्रति सरकार उदासीन भएको मात्र होइन, त्यस्ता समस्याका कारक बनेका ठेकेदारहरूलाई संरक्षण गरेर शासक दलहरूले दण्डहीनताको अवस्था बनाएका छन् । सरकार जनताप्रति भन्दा ठेकेदारप्रति बढी बफादार बनेको यस्ता घटनाबाट पुष्टि हुन्छ । जनताको समस्याप्रति भन्दा आफ्नो नजिकका व्यापारीको हितलाई प्राथमिकता दिने सरकार कसरी जनताको हुनसक्छ ? सहरी क्षेत्रका चल्ती बाटो बनाउन नै यसरी लामो समय लगाउने सरकारले ग्रामीण र दुर्गम क्षेत्रका सडक कहिले बनाउने हो ?
कोही पनि व्यक्ति वा पदाधिकारीले बोलीमा के भन्छ भन्दा पनि व्यवहारमा के गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । शासक दलका नेताहरू कतिबेला भावुक बनेर, कहिले जोशिलो र कहिले आशावादी अभिव्यक्ति दिएर सर्वसाधारण जनताको मन जित्ने प्रयास गर्छन् । तर, व्यवहारमा भने जनतालाई दुःख दिने कार्यमा प्रश्रय दिइरहेका हुन्छन् ।
जनता सडकमा नउत्रेसम्म केही पनि काम नहुनु वास्तवमा प्रणालीकै दोष हो । देशको शासन प्रणालीमा असंवदेनशीलता र उत्तरदायित्वविहीनताले जनता यस्ता अनेकन समस्या भोग्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *