भर्खरै :

दक्षिणी भारतमा बाढीका कारण मर्नेको सङ्ख्या १४७

नयाँ दिल्ली, ११ अगस्ट । भारतको कर्णाटक, केरला र महाराष्ट्रमा आएको बाढीका कारण मारिनेको सङ्ख्या कम्तीमा १४७ पुगेको छ । भारी वर्षा र पहिरोका कारण लाखौं मानिस उद्धार शिविरमा बस्न बाध्य भएका छन् । बाढीको पानीले कतिपय विश्व सम्पदा क्षेत्र डुबानमा परेका छन् । रेल यातायात सेवा अवरुद्ध छन् । भारतको दक्षिणी केरला राज्यमा वर्षासम्बन्धी घटनामा परी कम्तीमा ५७ जना मानिस मारिएका छन् । सो प्रान्तमा १ लाख ६५ हजार सर्वसाधारणलाई उद्धार शिविरमा बस्ने व्यवस्था गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
“कतिपय घरहरू १०–१२ फिट माटोमा पुरिएका छन् । यसले उद्धार कार्यमा समस्या भइरहेको छ”, मुख्यमन्त्री पिनारायी विजयनले भन्नुभयो ।
“मानिसहरू अनेक समस्या सामना गरिरहेका छन् । जताततै पानी नै पानीमात्र छ । पानी घरभित्र पसेको छ”, स्थानीय पीडित अभिजित पटानकुडीले भन्नुभयो ।
गत वर्ष पनि केरला प्रान्त बाढी पहिरोका कारण पीडित भएको थियो । अघिल्लो वर्ष २ सत्न्दा बढी मानिस मारिएका थिए । अघिल्लो वर्षको सो बाढी बितेका एकसय वर्षकै सबभन्दा ठूलो बाढी भएको बताइएको छ ।
कर्णाटकको विश्व सम्पदामा सूचीकृत प्राचीन हाम्पी सहरका अधिकांश संरचना डुबानमा परेका छन् । बाढी पहिरोका कारण कम्तीमा ६० मानिस मारिएको त्यहाँका मुख्यमन्त्री बीएस ऐडिरुप्पाले जानकारी दिनुभयो । त्यहाँका दुई लाख २७ हजार मानिसलाई उद्धार शिविरमा स्थानान्तरण गरिएको छ । महाराष्ट्रमा बाढीपहिरोबाट मारिनेको सङ्ख्या ३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *