भर्खरै :

अन्यौलमा भक्तपुर क्यान्सर अस्पताल

भक्तपुर, २९ साउन । भक्तपुर क्यान्सर अस्पतालमा भएको आर्थिक अनियमितता र बेथितिबारे मजदुर दैनिकलगायत विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि त्यसप्रति सम्बन्धित निकायहरूको ध्यानाकर्षण भएको छ । अस्पतालमा भइरहेको आर्थिक अनियमिततालाई व्यवस्थापन समितिले सकेसम्म लुकाउने र भित्रै कुरा मिलाउन खोजिरहेको अवस्थामा अनियमितताबारे समाचार प्रकाशित भएपछि अस्पतालका कर्मचारीहरूसमेत झल्याँस्स भएका छन् । स्वयम्सेवी भावनाले अनेकन प्रतिकूल झेलेर अस्पताल विकासको लागि सक्दो योगदान गर्दै आएका चिकित्सक र कर्मचारीहरूसमेत व्यवस्थापन समितिमा भइरहेका यस्ता चलखेलबाट आक्रोशित बनेका छन् । मङ्गलबार आक्रोशित कर्मचारीले आफू कार्यरत अस्पतालभित्रको यस्तो दुरवस्था पत्रपत्रिकामार्फत थाहा पाउनुपर्दा दुःख लागेको भन्दै उनीहरूले व्यवस्थापनप्रति आक्रोश पोखेका थिए ।
यसैबीच क्यान्सर अस्पतालभित्रको अनियमितताका सम्बन्धमा यथार्थ बुझ्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसहितको टोली बुधबार क्यान्सर अस्पताल पुग्यो । नगरपालिकाको टोली अस्पताल पुग्दा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव वा कोषाध्यक्ष भने कोही पनि अस्पतालमा हुनुहुन्थेन ।
पटक – पटक फोन सम्पर्क गर्दा पनि व्यवस्थापन समितिका कुनै पनि पदाधिकारीहरू सम्पर्कमा नआएपछि प्रमुख प्रजापतिले अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठसँग छलफल गर्नुभयो । छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालमा भइरहेको भ्रष्टाचारको विषयमा समाचार आएकोमा भक्तपुर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पताल स्थापनाकालदेखि भक्तपुर नगरपालिका अस्पताल व्यवस्थापन समितिको सदस्य भए पनि कुनै पनि बैठकमा नगरपालिकालाई सामेल नगराएकोमा आपत्ति जनाउँदै उहाँले भक्तपुर क्यान्सर अस्पतालले देशैभरिको रोगीहरूको उपचार गरिरहेको र यसलाई निरन्तर सञ्चालनको लागि आवश्यक पहल गर्न सकारात्मक रहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले ११ रोपनी जग्गा क्यान्सर अस्पताल सञ्चालनको लागि उपलब्ध गराएको थियो । नगरपालिकाको सक्रिय सहयोगमा बनेको सो अस्पतालको व्यवस्थापन समितिमा भक्तपुर नगरपालिकाबाट पनि प्रतिनिधित्व हुने प्रावधान छ । तर, अस्पताल व्यवस्थापन समितिको बैठकमा भने नगरपालिकालाई आमन्त्रण नभएको नगरपालिकाले जनाएको छ ।
मेडिकल डाइरेक्टर ऋषिकेषनारायण श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालमा भएको आर्थिक अनियमिता र भ्रष्टाचारजस्ता कुरा सञ्चारमाध्यममा आएको हुँदा त्यसको सत्यतथ्य छानबिन गरिदिन आग्रह गर्नुभयो । उहाँले अस्पताललाई व्यवस्थितरूपमा सञ्चालन गर्न तथा बिरामीलाई उपचार सेवामा प्रभावकारी बनाउन नगरपालिकाको उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो ।
आर्थिक अनियमितताको छानबिन गर्न ज्ञापनपत्र
यसअघि भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको आर्थिक अनियमितताको विषयमा भक्तपुर नगरपालिका वडा नं. १ देखि १० सम्मका वडावासीहरूले बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ध्यानाकर्षण गराउँदै एकै व्यहोराका छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रहरूमा भनिएको छ, भक्तपुर क्यान्सर अस्पताललाई बचाउन भ्रष्टाचारको आरोप लागेका व्यवस्थापन समितिका अध्यक्ष, महासचिव र कोषाध्यक्षलगायतलाई बर्खास्त गरी भ्रष्टाचार र अनियमितताको छानबिन गर्न आवश्यक छ । क्यान्सरका बिरामीको इमानदारीपूर्वक सेवा गर्दै आएका मेडिकल डाइरेक्टर, डाक्टर, नर्स र कर्मचारीहरूमाथि कुनै कारबाही गरिए बिरामी, बिरामीका परिवार र सर्वसाधारण जनता चुप लाग्ने छैनन् । कुनै अप्रिय घटना हुनुअगाडि नै भक्तपुर क्यान्सर अस्पताललाई जग्गा र आर्थिक सहयोग प्रदान गरी आजको स्थितिसम्म बिरामीको सेवा गर्न अस्पताललाई सक्षम बनाउने भक्तपुर नगरपालिकाले क्यान्सर अस्पतालको व्यवस्थापन जिम्मा लिनु आवश्यक छ । भ्रष्टाचारीहरूलाई समयमै कारबाही गर्न गराउन आवश्यक कदम उठाउनु आवश्यक छ । क्यान्सर बिरामीको उपचारमा कुनै अवरोध नहुने व्यवस्था गर्न माग गरिएको छ ।
ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख प्रजापतिले क्यान्सर अस्पताल कुनै निजी व्यक्तिले खोलेको नभई सार्वजनिक हितमा स्थापना भएको र त्यसका लागि नगरपालिकाको तर्फबाट जग्गा प्रदान गरिएको अवगत गराउँदै नगरवासीहरूको न्यायोचित मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
अर्बुद रोग निवारण संस्था भक्तपुर शाखाद्वारा अध्ययन समिति गठन
नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले भने अस्पतालमा के–कस्ता अनियमितता र भ्रष्टाचारका गतिविधि भएका छन् सोबारे अध्ययन गर्न समितिका सदस्य विजेश अवालको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको छ । जिल्ला शाखाको पूर्ण बैठकले अध्ययन समितिलाई यथार्थ जानकारी लिई शाखामा पेश गर्ने निर्देशन दिएको छ भने सत्यतथ्य बाहिर नआएसम्म अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषिकेशनारायण श्रेष्ठलगायतलाई हटाउने कार्य नगर्न अस्पताल व्यवस्थापन समितिलाई अनुरोध गर्दै अन्यथा त्यसबाट आउने परिणाम व्यवस्थापन समिति नै जिम्मेवार हुने चेतावनी दिइएको छ ।
भ्रष्टाचार र अनियमितता सन्दर्भमा अस्पतालका डाक्टर र कर्मचारीहरू चिन्तित र व्यवस्थापनप्रति आक्रोशित छन् । अस्पताल व्यवस्थापन समितिमा रहेका भ्रष्टाचारीका कर्तुतहरू सार्वजनिक भएपछि अस्पताल व्यवस्थापनले मेडिकल डाइरेक्टरलाई बर्खास्त गर्ने, अन्य डाक्टर र कर्मचारीहरूलाई तर्साउने र निष्काशन गर्ने तयारी गरेको व्यापक चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *