भर्खरै :

सिटीइभिटी परीक्षामा ३० नर्सिङ विद्यार्थी वञ्चित

भक्तपुर, २९ साउन (रासस) : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)ले परीक्षामा सहभागी नगराउँदा मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजमा अध्ययनरत ३० जना नर्सिङ विद्यार्थीको भविश्य अन्योलमा परेको छ ।
तीनवर्षे प्रमाणपत्र तहको नर्सिङ अध्ययनरत विद्यार्थीलाई सिटीइभिटीले यही साउन २६ गतेदेखि सञ्चालन गरेको प्रथम वर्षको परीक्षामा सहभागी नगराउँदा उनीहरुको भविश्य अन्योलमा परेको हो ।
कलेजले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा कलेज सञ्चालन समितिका अध्यक्ष नीलकृष्ण ताम्राकारले उच्च अदालतको आदेशलाई समेत लत्याएर सिटीइभिटीले विद्यार्थीलाई परीक्षामा सहभागी हुन नदिँदा उनीहरुको भविश्य अन्योलमा परेको बताउनुभयो ।
परिषद्ले गत वर्ष लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई भर्ना लिइ कलेजले पठनपाठन शुरु गरी गत चैत १४ गते सिटीइभिटीलाई आवश्यक शुल्क बुझाए पनि विद्यार्थीको रजिष्ट्रसनसमेत नगरेको उहाँको भनाइ छ ।
सिटीइभिटीले सूचना प्रकाशित गरेपछि संस्था नवीकरणका लागि गत असार १० गते नियमानुसार शुल्क जम्मा गरेको, वार्षिक परीक्षाको मिति सार्वजनिक भइसक्दा पनि विद्यार्थीको रजिस्ट्रेशन नगरेपछि बाध्य भएर कलेज न्यायका लागि उच्च अदालत पाटन गएको ताम्राकारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “उच्च अदालत पाटनले २०७६ साउन २ गते विद्यार्थीको रजिस्ट्रेसन गराई परीक्षामा सहभागी गराउन आदेश दिए पनि सिटीइभिटीले अदालतको आदेशको अवज्ञा गरी कानूनकोसमेत मान मर्दन गरेको छ ।” अदालतले पुनः यही साउन २० गते २ गतेको आदेशलाई तीन दिनभित्र कार्यान्वयन गर्नु भन्ने अर्को आदेश जारी गर्दा पनि सिटीइभिटीले अटेर गरी साउन २६ गतेदेखि शुरु भएको परीक्षामा सहभागी नगराइ विद्यार्थीको भविश्यमाथि खेलबाड गरेको उहाँको भनाइ छ ।
नर्सिङ परिषद्ले उक्त कलेजको अनुगमन गरी सबै पूर्वाधार ठीक छ भनेर प्रमाणित गर्दा पनि सिटीइभिटीले उक्त कलेज खारेजको निर्णय गरेको तर न्यायका लागि जाँदा उच्च अदालत पाटनले कलेज खारेज नगर्न र विद्यार्थी भर्ना गराउन गत वर्ष आदेश जारी गरेपछि कलेजले कानूनसम्मतरुपमा विद्यार्थी भर्ना गराई नियमित पठनपाठन गराएको कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहले बताउनुभयो ।
उहाँले कानूनको सम्मान गर्दै विद्यार्थीलाई परीक्षामा सहभागी गराई उनीहरुको भविश्य जोगाउन माग गर्नुभएको छ । विद्यार्थीले पनि परीक्षामा सहभागी नगराए सिटइभिटीविरुद्ध आन्दोलन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *