भर्खरै :

भारत सरकारको गतिविधि नेहरू चिन्तनकै सिलसिला

भक्तपुर, २९ साउन । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को आयोजनामा बुधबार इसानआबद्ध विद्यालयका शिक्षक÷शिक्षिकाहरूबीच जम्मु–काश्मीरमा भारतीय हस्तक्षेप तथा दक्षिण एसियामा यसको प्रभाव विषयक विचार गोष्ठी कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भारत वरपरका देशहरूको सांस्कृतिक अस्तित्वमात्र बाँकी राख्ने र राजनीतिक अस्तित्व समाप्त गर्ने जवाहरलाल नेहरूको चिन्तनकै आधारमा भारतले जम्मु–काश्मीरबारे पछिल्लो कदम चालेको बताउनुभयो ।
उहाँले जम्मु–काश्मीरमा भारतीय सुरक्षाकर्मीको दमनले जनताको आधारभूत मानव अधिकार खोसिएको धारणा राख्दै हिटलर–मुसोलिनीको फासीवादी शासन र भारतीय जनता पार्टीको फासीवादीबीचको समानताबारे चर्चा गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भारतीय शासकहरूले नेपाल र चीनबीच भएको कूटनीतिक सम्बन्ध नचाहेको धारणा राख्दै भुटानको परराष्ट्र र सुरक्षा व्यवस्था अहिले पनि भारतकै नियन्त्रणमा रहेको जानकारी दिनुभयो ।
शिक्षक÷शिक्षिकाले विद्यार्थीलाई भूगोल, इतिहास र समाजसँग जोडेर संसारमा भइरहेका गतिविधिबारे जानकारी दिनुपर्नेमा जोड दिंदै अध्यक्ष बिजुक्छेँले सानै उमेरमा संसारको इतिहास र भूगोल पढाउन सके जीवनभर उपयोगी हुने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले जम्मु–काश्मीरको विकास भारतका अन्य क्षेत्रको तुलनामा विकसित रहेको स्पष्ट पार्दै जम्मु–काश्मीरमा जनताको भावनाविपरीत भारतले एकपक्षीयरूपमा आफ्नो शासन लादेको धारणा राख्नुभयो ।
सांसद सुरेन्द्रराज गोसाईले जम्मु–काश्मीरमा भएको घटना नेपालमा पनि हुने सम्भावना भएको हुँदा समयमै सचेत हुनुपर्ने बताउनुभयो । नेपाल भारतीय थिचोमिचोमा रहेको चर्चा गर्दै उहाँले जम्मु–काश्मीरमा भएको घटना नेपालमा पनि हुनसक्ने तर नेपाल सरकारले त्यस विषयमा केही बोल्न नचाहेको बताउनुभयो ।
सांसद सृजना सैँजूले जम्मु–काश्मीरको इतिहासबारे जानकारी गराउनुभयो । जम्मु–काश्मीरमा भएको भारतीय हस्तक्षेप तथा दक्षिण एसियामा यसको प्रभावबारे उहाँले स्पष्ट पार्नुभयो ।
इसानका केन्द्रीय अध्यक्ष एवम् कार्यक्रमका सभापति प्रेमजन थापाले शिक्षक र विद्यार्थीको थप ज्ञानका लागि इसानले कार्यक्रमहरू गर्दै आइरहेको र गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा इसानका महासचिव पुरूषोत्तम ग्वाछाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *