भर्खरै :

दाहाल फेरि हिस्स

– दीनबन्धु केसी
पाँच वर्षको कार्यकालमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको आलोपालो प्रधानमन्त्री बन्ने ठूलो इच्छा थियो । अध्यक्ष दाहालले बेलाबखत आलोपालो प्रम बन्ने उद्घोष पनि गरेका थिए । अध्यक्ष दाहालको प्रम बन्ने धोकोप्रति असहमति जनाउँदै केपी ओलीले घोचपेच गरेका थिए । आइतबार प्रम ओलीले संसदमा बोल्दै आफ्ना नेताहरूलाई अर्को निर्वाचनसम्म धैर्य गर्न आग्रह गरे । उक्त आग्रहसँगै संसदमा विपक्षी दलका नेताहरूमात्र होइन नेकपाका नेताहरूसमेत गलल हाँसे । नेकपाका कति नेताहरूको अनुहार रातो देखियो । अध्यक्ष दाहाल त हिस्स भए । प्रम बन्ने उनको सपना चुँड्यो । ओलीले दाहाललाई पाखा लगाएको यो पहिलो घटना होइन न त अन्तिम नै हुनेछ ।
धैर्य गर्न गरिएको ओलीको आग्रहले दाहालको माग पूरा नहुने स्पष्ट छ । दुई अध्यक्षबीच आलोपालो प्रम बन्ने सहमति साँच्चै भएको हो भने केपी ओलीले त्यो सहमति किन उल्लङ्घन गरे ? सहमति भएकै होइन भने नेता दाहाल किन ओलीलाई घच्घच्याइ रहन्छन् ? सहमति भएको हो भने सहमति पालना नगर्ने ओलीप्रति दाहालको टिप्पणी के ? मौन बस्नु नै स्वीकृतिको लक्षण सम्झेर दाहालले मुखमा दही जमाएर ओलीले जे–जे गर्छ सहेर बस्ने हो कि सहमति पालना गराउन अघि सर्ने ? के प्रम पद आधा–आधा समयका लागि बाँड्ने दाहालको सपना वर्षाको बाढीले बगायो ? नेता दाहालले पार्टीको पूर्ण अध्यक्ष या एक्लै अध्यक्ष बन्ने पछिल्लो सपना पनि चकनाचूर हुन के बेर !
नेकपाको महाधिवेशनले एक अध्यक्षमात्र बनाउँछ या दुई अध्यक्ष ! त्यसको छिनोफानो अहिले नै हुने होइन । दाहाललाई ‘पूर्ण अध्यक्ष’ बनाउँछ या बनाउँदैन ? यसको नापो के ! नेता दाहाललाई पूर्ण अध्यक्ष बनाउने सपना पनि त्यो बेला पूरा नहुने हो कि ! दुई अध्यक्ष भएरै नेकपा अघि बढिरह्यो भने दाहालमात्र कसरी पूर्ण अध्यक्ष हुन्छ ? पार्टी एकीकरण भए पनि अध्यक्ष दाहालको अनुहारमा चमक नदेखिनुको कारण मनको भित्री कुनामा रहेको असन्तुष्टि नै हो । अध्यक्ष दाहालले पहिलेको माओवादी पार्टी अलग्ग नै गरे या पार्टी फुटाए पनि माओवादीको पार्टी विस्तार हुने स्थिति छैन । यसकारण नेता दाहालले अर्का नेता ओलीको उठबसमा बस्नुबाहेक अर्को विकल्प छैन । दाहालले ओलीको अन्तरमा रहेर नै काम गर्नुपर्ने बाध्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *