भर्खरै :

जम्मु र काश्मीरपछि अर्को निशाना पश्चिम बङ्गाल !

कोलकोत्ता, ३ भदौ । जम्मु–काश्मीर राज्यलाई भारतीय संविधानबाट प्रदत्त विशेषाधिकार खोस्ने र जम्मु–काश्मीर स्वायत्त प्रान्तलाई दुई भागमा विभाजित गरी लद्दाख र जम्मु गरी दुईवटा केन्द्र शासित राज्य बनाउने भारत सरकारको निर्णय सुक्न पनि नपाउँदै मोदी सरकारले भारतकै अर्को प्रान्तलाई पनि विभाजन गर्ने सङ्केत प्राप्त भएको छ ।
नरेन्द्र मोदी र अमित साहको युगल सरकार भनेर पनि चिनिन थालेको भारत सरकारले अबको निशाना पश्चिम बङ्गाललाई बनाएको हुनसक्ने साउथ एसिया मोनिटर नामको भारतीय अनलाइन सञ्चारमाध्यमले जनाएको छ ।
यसै साता पश्चिम बङ्गालको दार्जिलिङबाट निर्वाचित भारतीय जनता पार्टीका सांसद राजु विष्टले दिल्ली प्रहरीको विशेष फोर्समा गोर्खालीहरू भर्ती नगरेको गुनासो गर्दै गृहमन्त्री अमित साहलाई लेखेको पत्रको जवाफमा साहले ‘गोर्खाल्यान्ड’ भन्ने शब्द प्रयोग गरे पनि भारतमा यस्तो विश्लेषण हुन थालेको हो ।
पश्चिम बङ्गालअन्तर्गत नेपाली मूलका भारतीयहरूको बाहुल्य रहेको दार्जिलिङमा सन् १९८० देखि नै अलग गोर्खाल्यान्डको माग गर्दै आन्दोलन हुँदै आएको छ । हालसम्म कुनै पनि सरकारले ‘गोर्खाल्यान्ड’ भन्ने शब्द औपचारिकरूपमा प्रयोग नगरेको सन्दर्भमा गृहमन्त्रीको पत्रमा सो शब्दको प्रयोगले भाजपाका स्थानीय नेता राजु विष्टलगायत उनका समर्थकहरूसमेत चकित परेको साउथ एसिया मोनिटरले जनाएको छ ।
गृहमन्त्री साहको यस्तो जवाफप्रति पश्चिम बङ्गालका सक्रिय राजनीतिक शक्तिहरू त्रिणमुल काङ्ग्रेस, वामपन्थी दलहरू र काङ्ग्रेस आईले विरोध गरेका छन् । सामाजिक सञ्जालमा यो विषयको व्यापक चर्चा छ ।
त्रिणमुल काङ्ग्रेसका महासचिव पार्थ चटर्जीले गोर्खाल्यान्डको विषय उठाएर पश्चिम बङ्गालमा मोदी सरकारले हिंसा र अशान्ति फैलाउन खोजेको आरोप लगाएका छन् ।
जम्मु र काश्मीरको संवैधानिक विशेषाधिकार खारेज गर्ने मुद्दा जसरी मोदीको चुनावी मसला थियो, पश्चिम बङ्गालको कानुनी अवस्थाप्रति पनि मोदीले चुनावको बेला बारम्बार हमला गरेका थिए ।
अमित साहले ‘गोर्खाल्यान्ड’ शब्द प्रयोग गरेर पश्चिम बङ्गाललाई टुक्र्याएर दार्जिलिङ अलग राज्य बनाउन खोजेको सङ्केत गरे पनि पश्चिम बङ्गालकै भारतीय जनता पार्टीका नेताहरू भने त्यसप्रति सन्तुष्ट नभएको साउथ एसिया मोनिटरले जनाएको छ ।
तुलनात्मकरूपमा भाजपाको कमजोर सङ्गठन रहेको पश्चिम बङ्गालमा केन्द्र सरकारले यस्तो कदम चाले विपक्षीलाई फाइदा हुने र बङ्गालका जनता भाजपाप्रति रुष्ट हुने उनीहरूको विश्लेषण छ । यस्तो कदम चाले त्रिणमुल काङ्ग्रेसलाई नै राजनीतिक फाइदा हुने उनीहरूको बुझाइ छ । भाजपाकी कडा विरोधी त्रिणमुल काङ्ग्रेसकी नेतृ ममता बेनर्जीले भाषा र संस्कृतिप्रति निकै संवदेशनील बङ्गाली जनतालाई उठाएर भाजपालाई कमजोर बनाउने भाजपा नेताहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *