भर्खरै :

भारत र पाकिस्तानी दूतावासअघि धर्ना, सार्क सक्रिय बनाउन माग

काठमाडौँ, ३ भदौ । मानव अधिकार तथा शान्ति समाजले भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलाबारी र तनाव बढिरहेकामा चिन्ता व्यक्त गर्दै शान्ति स्थापना गर्न माग गरेको छ । समाजले काठमाडाँैस्थित भारतीय र पाकिस्तानी राजदूतावास अगाडि एकसाथ धर्ना एवम् प्रदर्शन गरी ‘युद्ध निषेधः शान्ति विशेष’ अभियान सञ्चालन गरेको हो । समाजले भारत र पाकिस्तानलाई युद्धको सम्भावनालाई खारेज गर्न र दुई देशबीच वार्ता अघि बढाउन पनि माग गरेको छ । तीन दशक अघि स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउनसमेत सो अवसरमा आग्रह गरिएको थियो । समाजले शत्रुता अन्त्य गरी मित्रतालाई प्रगाढ बनाउन आह्वान गरेको छ ।
समाजले लैनचौरस्थित भारतीय दूतावास र महाराजगञ्जस्थित पाकिस्तानी दूतावास अगाडि मङ्गलबार एक घण्टा धर्ना दिएको थियो । धर्नामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकारहरु होमकान्त चौलागाई र डा. गङ्गाधर अधिकारी, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर र टेकबहादुर सार्की, कोषाध्यक्ष रामकृष्ण बराललगायत अधिकारकर्मीको सहभागिता थियो ।
धर्नाको अन्त्यमा समाजका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई लेखिएको पत्र दूतावासका वरिष्ठ अधिकारीहरुलाई हस्तान्तरण गरिएको थियो । दक्षिण एसियाली राष्ट्रबीच नागरिकस्तरमा मित्रतालाई प्रगाढ बनाउने तथा सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले समाजले केही वर्ष अगाडि दक्षिण एशियाली सद्भाव यात्राको प्रारुप अघि सारेको स्मरण गराउँदै अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र आपसी समझदारीलाई अभिवृद्धि गर्नुपर्नेमा समाजले जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *