पढाइको राजनीति – २
- असार ६, २०८३
एसएस
मार्टिन निमोलर (सन् १८९३–१९८४) जर्मन पादरी थिए । सुरुमा उनी एडोल्फ हिटलरका पक्षपाती थिए । उनले हिटलरको नाजी पार्टीलाई भोट दिएका थिए । उनी पादरी भएका कारण चर्चको रक्षा गर्नमा मात्रै उनी केन्द्रित थिए । हिटलरले चर्चलाई केही नगर्ने आश्वासन दिएका कारण उनी हिटलरको राष्ट्रवादको पक्षमा लागे । हिटलरको नाजीवाद र सङ्कीर्ण राष्ट्रवादको अत्याचार बढ्न थालेपछि, धार्मिक क्षेत्रमाथि प्रहार हुन थालेपछि उनले हिटलरको विरोधमा बोल्न थाले । हिटलरको धार्मिक नीतिविरुद्ध बोल्दा उनलाई ७ वर्षसम्म नाजी यातनागृहमा राखियो । उनले अरुका निमित्त कहिल्यै नबोलेकोमा पछुताए । पछुताउँदै यातनागृहबाट लेखिएको कविता हो “सुरुमा तिनीहरूले समाजवादीहरूलाई दबाए ………. ।” यो कविताले निकै ख्याती कमायो । उनी विश्वमा शान्ति स्थापनाको आन्दोलने एक बलियो खम्बाको रूपमा आजीवन उभिए । नाजीहरूको ज्यादती र मौनताविरुद्धको विगुल उनको कविता संसारमा सबैभन्दा बढी उद्धरण गरिएका कवितामध्ये पर्छ ।
सुरुमा तिनीहरूले समाजवादीहरूलाई दबाए
म बोलिनँ
किनभने म समाजवादी थिइनँ
त्यसपछि तिनीहरूले टे«ड युनियनवादीलाई दबाए
म बोलिनँ
किनकि म ट्रेड युनियनवादी थिइनँ
त्यसपछि तिनीहरूले यहुदीहरूलाई दबाए
म बोलिनँ
किनभने म यहुदी थिइनँ ।
अनि तिनीहरू मलाई खोज्दै आए
त्यतिञ्जेल मेरो पक्षमा बोलिदिने कोही थिएन ।
आज चर्चा जम्मु–काश्मीर, लद्दाखको छ । त्यो क्षेत्रको ऐतिहासिक पृष्ठभूमिलाई कुल्चेर, संविधानविपरीत स्वायत्तताको अधिकार हनन गरी दमनको नीति मोदी सरकारले लियो । मोदीको फासीवाद, भारतीय विस्तारवादको सक्कली रूप यतिबेला जम्मु–काश्मीरमा छताछुल्ल भएको छ । जम्मु–काश्मीरमात्र होइन हिजो सिक्किम, बङ्गलादेश, भुटान र श्रीलङ्कामाथिको हस्तक्षेप इतिहासमा ताजा छ । नेहरू दर्शनको पदचापमा हिँडेको मोदी फासीवाद पनि दक्षिण एसियामा आफ्नो साम्राज्य खडा गर्न उद्यत छ । अल्पसङ्ख्यक र साना राष्ट्रहरूको सांस्कृतिक अस्तित्व रहे पनि राजनीतिक अस्तित्व नरहने विचारबाट प्रेरित छ । दक्षिण एसियालाई आफ्नो करेसाबारी र उत्तर हिमालयसम्म आफ्नो सिमा बताउने भारतीय विस्तारवाद यतिखेर हाबी छ । जातीय दमन, हिन्दुत्व र वडाराष्ट्र अहङ्कारवाद मोदी फासीवादकै रूप हुन् । नेपालको आन्तरिक मामिलामा हस्तक्षेपदेखि सिमा अतिक्रमणसम्मको ज्यादतीमा नेपालका शासक दलको साठगाँठ हुनु र जम्मु–काश्मीरबारे नबोल्नु नेपालमा मोदी फासीवाद र विस्तारवादलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नु जतिकै हुनेछ । त्यतिबेला के अरुले नेपालको पक्षमा बोल्लान् ? मार्टिन निमोलरका शब्दहरू सापटी लिँदै हिटलरको नाजीवाद पछ्याएको मोदी फासीवादविरुद्ध केही हरफ प्रस्तुत छन् –
सुरुमा तिनीहरूले पूर्वी पाकिस्तानमा हमला गरे
देश टुक्रा पारी बङ्गलादेश जन्माए
म मौन बसेँ
किनभने म पाकिस्तानी थिइनँ ।
तिनीहरूले सिक्किम भारतमा विलय गराए
म बोलिनँ
किनभने म सिक्किमेली थिइनँ ।
तिनीहरू श्रीलङ्कामा गए
२० औँ वर्ष हिंसा भड्काए
म मौन बसेँ
किनभने म श्रीलङ्काली थिइनँ ।
तिनीहरू भुटानमा गए
रक्षा र परराष्ट्र आफ्नो नियन्त्रणमा लिए
म बोलिनँ
किनभने म भुटानी थिइनँ ।
तिनीहरू जम्मु काश्मीर हुँदै पाकिस्तान जाँदै छन्
म मौन छु, म बोलिनँ
किनभने, न म काश्मिरी हुँ न त पाकिस्तानी नै ।
तिनीहरू नेपाल ताक्दै छन्
के म निमोलरझैंै पछुताएर बसूँ ?
के म निमोलरको नियति भोगूँ ?
Leave a Reply