भर्खरै :

नाचगान र वाद्य गुरुहरूको जीवन सुनिश्चित गर्नु आवश्यक

–मेरिना शाक्य
प्रत्येक नागरिकको जीवन सुनिश्चित बनाउन काममामको व्यवस्था हुनुपर्छ । काममामको व्यवस्था गर्ने जिम्मेवारी सरकारको हो । विद्यार्थी स्कूल, कलेजमा पढ्छन् र उच्च शिक्षा हासिल गर्छन् । उनीहरूको आफ्नो योग्यता, क्षमता सीप र अनुभवअनुसार कुनै डाक्टर, इन्जिनियर, शिक्षक बन्छन् । कुनै वकिल, सेना, सिपाहीँ, सचिव, प्रबन्धक, निर्देशक वा विभिन्न सरकारी निकाय तथा गैरसरकारी निकायमा आबद्ध हुन्छन् । ती निकायमा सामेल नभएका कति व्यक्तिहरू उद्योग, व्यवसायमा संलग्न हुन्छन् । कुनै चालक परिचालक या त्यस्तै अन्य कार्य क्षेत्रमा लागेका हुन्छन् । कति आफ्नै घरायसी काममा सानातिना व्यवसाय गरेर बसेका हुन्छन् । तर, त्यस्ता काम प्रत्येकले पाएका छैनन् । यसकारणले पनि काम नपाएका, नभएका सर्वसाधारण नागरिकहरूको जीवन कष्टकर बन्दै छ । कति खेतीपाती र तरकारी बारीमा लागेका छन् । खेतीपातीले पनि सबै किसानहरूको हातमुख जोड्न समस्या छ । यसरी नै जीवनरभरजसो नाचगान, वाद्यवादन र नृत्यमा लागिरहेका छन् तिनीलाई सरकारले ध्यान दिएको देखिंदैन । कलाकार, गायक, लेखक या साहित्यकारहरूले देशको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । तिनीहरूको पनि कदर र सम्मान हुँदैन । तिनीहरूको जीवन सुनिश्चितको लागि सरकारले कुनै व्यवस्था गरेको हुँदैन । नाचगान, वाद्यवादन र नृत्यमा संलग्न व्यक्तिहरूको हालत पनि त्यस्तै छ ।
देशमा जीवनभर नाचगान र वाद्यवादनमा लागेका अग्रज गुरुहरू जिल्ला – जिल्लामा छन् । जसरी कुनै पढेलेखेका व्यक्तिहरूको शैक्षिक योग्यता, सीप र अनुभवको आधारमा प्रमाणपत्र पाउँछ र त्यही प्रमाणपत्रको आधारमा उनीहरूले काम पाउँछन् । तर, जीवनभर नाचगान, वाद्यवादन, गायन, कला, खेल क्षेत्रमा लागेका राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिचित व्यक्तिहरूले न कुनै प्रमाणपत्र पाउँछन्, न त कुनै काम नै पाउँछन् । यसकारण सरकारले ती व्यक्तिहरूसँग रहेको सीप, अनुभव, कलाको आधारमा सरकारले एउटा मापदण्ड तयार गर्नुपर्छ र त्यसको आधारमा उनीहरूलाई शैक्षिक प्रमाणपत्र सरहको प्रमाणपत्र दिनुपर्छ । त्यही प्रमाणपत्रको आधारमा सरकारले उनीहरूलाई तलबको व्यवस्था गर्नुपर्ने देखिन्छ । तिनीहरूसँग पढाइको प्रमाणपत्र नभएपनि सीप र कलाको अनुभव छ, त्यो सीप र अनुभव नै उनीहरूको शिक्षा हो ।
जीवनभर नाचगान र वाद्यवादनमा लागेर निःशुल्क सेवा गर्ने अग्रजहरूको के सम्मान गर्नुपर्दैन, कदर गर्नुपर्दैन ? जीवन सुनिश्चितताको लागि पारिश्रमिकको व्यवस्था गर्नुपर्दैन ? यसका लागि सरकारले देशमा रहेका चर्चित खेलाडी, गायक, कलाकार, नाचगान र वाद्यवादनका गुरुहरूको तथ्याङ्क सङ्कलन गर्नुपर्छ । तिनीहरूको तथ्याङ्क सङ्कलन गरेर जीवन धान्ने गरी सरकारले काममामको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *