यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
पूर्णकेशरी दुवाल, भक्तपुर
मेरा दाजु नारायणबहादुर दुवाल राजनीतिक कार्यकर्ता हुनुहुन्छ । मेरो विद्यालय जीवन छैन । दाजु र उहाँका साथीहरूले बिहान–बेलुका घरको कोठामा हामी केटीहरूलाई पढाउनु हुन्थ्यो । तसर्थ हामी लेखपढ गर्न र कामचलाउ नेपाली भाषा बोल्न सक्ने भएका थियौँ । वि.सं २०३८ देखि म र दिदी न्हुछेलक्ष्मी दुवाल टोलमा हुने चोटा बैठकहरूमा महिला सहभागिता गराउन घर–घर पुगेर खबर गर्ने गर्दथ्यौँ । तर वातावरण सहज थिएन घरमा हजुरबुबा भन्नुहुन्थ्यो, “दाजुमात्र नचाहिने काममा लागेर बिग्रियो भनेको त बहिनीहरू दुवै दाजुकै बाटो पहिल्याएर बिग्रिएछन् ।”
२०३७ मा हाम्रो टोलमा एउटा ठूलो विवाद भएको थियो । मेरा दाजु र अरु साथीहरू भूमिगत हुनुप¥यो । त्यसबेलादेखि हामीले दाजुहरूलाई मद्दत गर्न सिकेका थियौँ । २०३९ मा पहिलोपटक हामी वाचुत्वका महिलाहरूले टोल–बाटो सरसफाइ कार्यक्रम गरेका थियौँ । त्यसबेला हामीलाई खिस्सि गर्नेहरू पनि थिए । तर, हामी सङ्गठित भइसकेको हुँदा डर खासै मानेका थिएनौँ । २०४५ मा पनि हाम्रा दाजुहरू जेल र भूमिगत बस्नुपर्ने अवस्था सिर्जना भयो ।
विसं २०४५ भदौ ५ गतेको भूकम्पबाट हाम्रो घर ठूलो क्षति भयो । भदौ ९ गतेको दिन म गोंसको खेतबाट मकैको भारी बोकी अपराह्न ५ बजेतिर च्याह्मासिंह आइपुगेँ । त्यहीबेला कर्ण ह्योजूलाई समाती बाटोमा ल्याएको दृश्य मैले देखेँ । सूर्यमढीमा मान्छेहरू कराउँदै थिए– “पक्षपातपूर्ण ढङ्गले राहत वितरण गर्ने, खाएकै थालमा फोहर गर्ने ह्योजूलाई कारबाही गर्नुपर्दछ ।” म मकैको भारी वाचुत्वस्थित घरमा बिसाएर इनाचो टोलमा गएँ । त्यहाँ कर्ण ह्योजू र उत्तम श्रेष्ठलाई बजार परिक्रमा मरेको दृश्य देखेँ । कोही कुट्नतर्फ लागेका थिए । कर्ण ह्योजूलाई सुरक्षा दिनेहरू पनि देखेँ । सुरक्षा दिने उत्तम श्रेष्ठलाई निर्वस्त्र पारिएको थियो । पछि साकोथाबाट पुलिसले सुरक्षा दिइलगेको खबर सुनेँ ।
राति १० बजेतिर दाजु नारायणबहादुर घर आइपुग्नुभयो । दाजुले भन्नुभयो, “आज राम्रो घटना घटेन, राहत नपाएर पीडित र अन्य अपरिचित मानिसहरूले कर्ण ह्योजूलाई कुटे । हामीले सुरक्षा दिन खोज्दा पनि सकेनौँ । पुलिसले सुरक्षा दिएन । घटनाको जानकारी दिन डि.एस.पी. कार्यालय पुग्दा राष्ट्रिय पञ्चायत सदस्य गोविन्द दुवाल र नगर प्रमुख आशाकाजी बासुकलाले छिट्टै कर्ण ह्योजूको सुरक्षा गर्न पुलिस पठाउन अनुरोध गरिरहेका थिए तर पुलिस पठाउन ढिलो गरिएको थियो । यो घटनामा पार्टी अध्यक्ष नारायणमान दाइलाई पनि फसाउने हो कि भनी दाइ चिन्तामा डुब्नुभयो । उक्त दिन दाजु घर नसुती साथीकहाँ सुत्न जानुभयो । उक्त दिनदेखि दाजु २० महिनासम्म लुकीछिपी हिँड्नुपरेको थियो । किनकि दाजुलाई पनि ज्यानसम्बन्धी महलको १३ ‘क’ अन्तर्गतको आजीवन कैदको माग गरिएको रहेछ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छें, गोविन्द दुवाल, आशाकाजी बासुकला, ज्ञानबहादुर न्याइच्याई र सुनिल प्रजापतिलगायतलाई २० महिना जेलमा राखेको थियो, पञ्चायती षड्यन्त्रकारी सरकारले । तब हामीलाई पञ्चायती राजतन्त्र जनताको लागि काम गर्ने मान्छेलाई नसहने र जालमा फसाई सजाय दिने व्यवस्था भएको महसुस प्रस्टसँग भयो ।
भदौ १० गते, २०४५ मा मन्त्रीहरू र अन्य स्थानका अपरिचित मानिस बढी सहभागी रहेको शवयात्रा मैले इनाचो बजारमा हेरेँ । पार्टी अध्यक्षको नाम लिई ‘फाँसी दे !’ भनी दुई हात उठाई नारा लगाए । अब के हुने हो भनी पीर प¥यो । टोलमा युवाहरू कोही थिएनन् । दिन बित्दै गयो । मेरो दाजु कहाँ हुनुहुन्थ्यो थाहा थिएन । घरमा आमा, हजुरआमा र हजुरबुबा पनि पीरमा पर्नुभयो । हामीलाई सान्त्वना दिने आफन्त पाएनौँ । राम्रो उपचार नपाएर र पिरैपिरले ७६ वर्षको हजुरबुबा दाजु भूमिगत छँदै बित्नुभयो ।
भाउजू शिक्षिका हुनुहुन्थ्यो । उहाँलाई पनि ‘ज्यानमाराको पत्नी’ भनी अशिष्ट व्यवहार गरेको पाइयो । भाउजूले पनि बीचमै काम छोड्नुपर्ने अवस्था सिर्जना भयो । उहाँले काम छोड्नुभयो ।
पार्टीको निर्देशनअनुसार बाहिर रहेका कार्यकर्ताहरूले मसाल जुलुस गर्ने, पर्चा छर्ने, भित्ते लेखन गर्ने कार्य सुरु गरे । त्यही सिलसिलामा अरुझैँ मेरो भाइ सत्यबहादुर दुवाल पनि दत्तात्रयमा पक्राउ प¥यो । भाइको साथमा रामकृष्ण छुस्याबाग थिए । भाइलाई बढी म खाना पु¥याउन जान्थेँ । भाइले नेवारी भाषामा बताए, “तेरो दाइ खोइ भनी मलाई अरु साथीहरूलाई भन्दा बढी कुटपिट गरिरहेका छन् । कान दुखिरहेको छ । दिनदिनै कुट्छन् । ताथलीका जयराम बासुकला दाइलाई पक्राउ गरी ल्याएदेखि, तबदेखि कुट्ने कम भयो ।” उनले एस.एल.सी.को लागि तयारी गर्न पाएनन् । उनी अनुत्तीर्ण भए । ‘चन्द्रमा सधैँ बायाँमात्र होइन समय आएपछि दायाँ पनि पर्छ’ भनी हामी धैर्य गरी घर परिवार चलाउन आमा हजुरआमालाई सहयोग गर्दै बस्यौँ । २०४६ को आन्दोलनबाट प्रजातन्त्र स्थापना भयो । २०४७ वैशाख ५ गते बेलुका हाम्रा श्रद्धेय नेता नारायणमान बिजुक्छें र अरु दाइहरू सबै छुट्नुभयो । बेलुका लाय्कुमा भएको सभा हेर्न म पनि पुगेँ । त्यो दिन खुसीको दिन थियो । दाइ पनि भूमिगत जीवनबाट बाहिर आउनुभयो । हाम्रा सबै पीडित परिवारको घरमा खुसीको सीमा रहेन । सत्यको जीत अवश्य हुन्छ भनेको हो रहेछ । यो घटनाबाट थाहा भयो ।
Leave a Reply