भर्खरै :

धाँधलीपूर्ण सरजमिनपछिको ऐतिहासिक महिला जुलुस

प्रतिभा
ती पञ्चायती राज्य आतङ्कका दिनहरू सम्झिँदा आज पनि आङ जिरिङ्ग हुन्छ । खेतीपातीमा निर्भर जनताले महिनौँसम्म आफ्नो खेतमा जान पाएनन् । राजनीतिक छलकपट पटक्कै नजान्ने सोझा किसान र गरिबहरूले राज्यको राजनैतिक प्रतिशोध भोग्न बाध्य भए । खर्पनमा काँक्राको भारी बोकेर बरीबाट घर फर्किंदा या बेच्नको लागि लैजाँदा होस् या सिकर्मी, डकर्मी र अन्य श्रमजीवी मजदुरहरू परिवारको हातमुख जोर्न काममा जाँदा भेर घर फर्किने हो कि होइन भन्ने चिन्ताले परिवारलाई ग्रस्त तुल्याउँथ्यो । फर्केन भरे खोज्न जाने ठाउँ अन्त नभई थाना, खोर र जेल नै हुन्थ्यो । केही जागिरदारहरू अफिसबाट बञ्चित भए, शिक्षकहरूलाई हाजिर नगराउने, अवकाश दिने, पक्राउ गर्ने अभियान चल्यो र कति विद्यार्थीहरूको क्याम्पस छुट्यो ।
टोल, बजारमा जवान किसानहरू देखापर्न नहुने स्थिति थियो । वृद्धवृद्धा, केटाकेटी र आईमाई मात्रको समाज ! सबै प्राणी बाहिरको आपतबाट बच्न घरमा पस्छन् तर भक्तपुरमा घर छोडेर भाग्नु पथ्र्यो । घर छोडेर बाल–वृद्ध किसानहरू कता भागोस् के बूढा, के बूढी, बाल–बच्चा आईमाई सबै सङ्गालेर आफ्नो दैलो चोक गल्लीका बाटा र फलेचाहरूमा सुत्थे । धुनी बालेर रातभर पहरा दिएर बस्थे, ‘सत्य सेवा सुरक्षा’ को माला जप्ने प्रहरीबाट आक्रमण होला भनी ! रातको चिसो वर्षा, अनिद्रो बस्नु पर्दा बालबच्चा र वृद्धहरूलाई रोगले सताउने नै भए ।
कतिखेर कसको झ्याल फोडिन्छ, कसलाई तानेर चुट्दै लाने हो, यस्तो अनिश्रितताले मान्छेलाई पिरालिरहेको थियो । जनजीवन अस्तव्यस्त थियो । यो पञ्चायती षडयन्त्र नै हो भन्ने बुझेका कतिपय विवेकशील व्यक्तिको पनि बाहिर वाक् फुट्दैनथ्यो ।
रातको पूर्वाध घरमा सुती उत्तरार्ध खोरको चिसो छिँडीमा थुनिन पुगेकाहरू त छानाबाट खसेसरी नै भए होलान् ! पक्रिएकालाई बेपत्ता पो पार्ने हुन् कि ? ३३ वर्षे कैदमा पारी सर्वस्वहरण गरिने हो कि ? शारीरिक यातनाले अङ्ग भङ्ग तुल्याइदिने हो कि ? त्यो भन्दा बढी फाँसीको तख्तामा झुण्ड्याउने नै हुन् कि ? किनभने उनीहरूलाई यस्तै सजाय दिलाउन माग गरिएको थियो । कानुनी राज्य नभएपछि जे पनि हुनसक्थ्यो । अन्याय र अत्याचारी पञ्चायती व्यवस्थाको विरोध गर्न तम्सने र जनतालई शोषणको विरोधमा आवाज उठाउन सिकाउनेहरू कोही जेलमा, कोही बाहिर आउन नहुने भएपछि समाजमा सोझा सिधाहरूले टाउको उठाउन कठिन हुनु स्वाभाविकै थियो । उता प्रशासनिक संरक्षण प्राप्त भ्रष्ट पञ्च, जाली फटाहा, मण्डले भ्रष्टाचारी, काला बजारीहरूको बोलवाला हुन थाल्यो । सरकार स्वयं फाँसी दे भनी उफ्रेपछि सरकारी सञ्चारमाध्यमबाट रोहित समूहलाई आतङ्कवादी, असामाजिक तत्व, उग्रवादी भनी चर्को आरोप लगाउने नै भए । एकातिर प्रहरी आतङ्क अर्कोतिर झूट कुरालाई व्यापक प्रचारवाजी गर्नुको मूल उद्देश्य वास्तविक हत्यारा र षड्यन्त्रकारीहरूतर्फ उठ्न सक्ने औँलालाई जबर्जस्ती रोहित समूहतर्फ फर्काउनु जनमानसमा प्रभाव पार्नु नै थियो ।
२०४५ को भूकम्पले बिथोलिएको भक्तपुरमाथि अर्को महाभूकम्प आइपरेको यो अवस्था थियो, जुन प्राकृतिक नभई तानाशाही पञ्चायती व्यवस्थाको आतङ्कले सिर्जना गराएको थियो । एकातिर भूकम्पले घर भत्क र धनजनको क्षति भइरहेको थियो । खान पीन, बसोबासको पीर छँदै थियो । अर्कातिर प्रहरी आतङ्कबाट आक्रान्त जनता कहालीलाग्दो वातावरणमा रहनुपर्ने बाध्यता थियो । भूकम्पजस्तो प्राकृतिक प्रकोपले सताईराखेको बेला पञ्चायती आतङ्कको महाभूकम्प ल्याउनु पर्नाको कारण के थियो त ?
प्राचीन मठ मन्दिर, कला संस्कृतिले सम्पन्न ऐतिहासिक नगर भनिएको भक्तपुर राजधानी नजिक भए तापनि गरिबी, बेरोजगारी, रुढीवादी आदिबाट ग्रस्त, हेपिएका, घृणा गरिएका ज्यापू–ज्यामीहरूको बासस्थान पनि हो । निरङ्कुश पञ्चायती सामन्तवादको सिक्रीले बाँधिएका यहाँका गरिब किसान मजदुर जनताले पनि शोषण अन्याय, अत्याचारबाट मुक्ति पाउने आशा गर्नु स्वाभाविकै हो । त्यही मुक्तिको निम्ति उद्यम गर्दै थिए– यहाँका नेपाल मजदुर किसान सङ्गठनप्रति प्रतिबद्ध नेता, कार्यकर्ता, समर्थक र शोषित पीडित जनता । जनमत सङ्ग्रहमा बहुदलले जितेको, त्यस्तै आम चुनाव र स्थानीय चुनावमा पनि अधिक स्थानहरूमा बहुदलवादीहरूले जितेको यस जिल्लामा आफ्नो जनविरोधी र भ्रष्ट चरित्रले गर्दा जतिसुकै पैसाको खोलो बगाएर, प्रशासनको दुरूपयोग गरेर अथक प्रयास गरे तापनि पञ्चायतवादी मण्डलेहरू हार्थे । अन्य जिल्ला पनि यसबाट प्रभावित हुँदै थियो । यसले पञ्चायती व्यवस्था र सरकारकै निम्ति भक्तपुर एउटा निको नहुने घाउ बनिरहेको थियो । राजनैतिक रूपले स्थानीय बहुदलवादीहरूको प्रतिकार गर्ने आँट नभएका पञ्चहरू विरोधीलाई दबाउन केन्द्र तथा दरबारमा गुहार लिन पुग्थे । यसैको फलस्वरूप भक्तपुर काण्डको षडयन्त्र रचिएको थियो ।
यसै षडयन्त्रका दिनहरू मध्येको एक दिन– ०४५ आश्विन १ गते शनिबार, बिदाको दिन । नगरबाट ३ कि.मि. दक्षिणमा रहेको कटुन्जे गाउँ, जहाँ घटेका घटनाबारे झवाट्ट नगर बासीहरूले सुईंको पाउँदैनथे । बिहान ६ बजे देखि नै त्यहाँ चहलपहल देखियो । मोटरकारहरू स्थानीय स्कूल वरपरको चउरमा पार्किङ्ग गरिराखेका थिए । नजिकै भू.पू. जि.पं सभापति बलराम थापाको घरमा गणेश बहादुर खत्री, मदनकृष्ण हाडा, मंगले चगुठी, कैलाशभक्त प्रधानाङ्ग, सुरेन्द्र प्रताप शाहलगायत विभिन्न गाउँ पञ्चायतका पञ्च महापञ्चहरू, जाली फटाहाहरू र गठित नगर समितिका मण्डलेहरू गरी करिब २÷३ सयको बैठक रहेछ । सर्जमिनकै दिन भएको उक्त जमघट र बैठक रोहित समूह मास्नको निम्ति सर्जमिनको पूर्व तयारी गराउन राखिएको रहेछ । त्यहाँ भ्रट पञ्चहरूले सर्जमिनका लागि तयारी बयान आफ्ना पिठूहरूलाई लोभ लालच र दबाब दिई घोक्न र बक्नुपर्ने नाम टिप्न लगाए । सबैजसो किसानहरू छिट्टै भात खाएर चाँडै खेत जाने चलन छ । त्यही समय अनुमान गरी सूर्य धेरै माथि उक्लिसकेपछि नगरमा सर्जमिनको हल्ला फैलाए । ठाउँ तोकियो दरबार क्षेत्र अर्थात् लायकुको हल्ला कानमा परेका महिलाहरू अन्य केही व्यक्तिहरूसहित त्यतातिर लागे । त्यहाँ पुग्नेहरू छक्किए । धेरैबेर कुरेपछि आज पनि सर्जमिन नगराउने भयो भनी जनताले आशंका गरे । किनभने यसभन्दा अगाडि २÷३ पटक सर्जमिन हुने यस्तै हल्ला चलिसकेको थियो । मानसिक रूपले जनतालाई सताउने झुक्याउने षड्यन्त्रकारीहरूको त्यो षडयन्त्र थियो । केहीसमय पछि हनुमानघाटमा सर्जमिन हुँदैछ भन्ने कुरा थाहा भयो । यतिन्जेल जनताको बीचमा सर्जमिनको गाइँगुइँ चलिसकेको थियो । नगरको विभिन्न टोलबाट महिलाहरू हनुमानघाटमा ओइरिए । सर्जमिन कहाँ कता भइरहेको छ, त्यो ठम्याउन नै उनीहरूलाई गा¥हो परेको थियो । कारण १०० मिटरदेखि नै सर्जमिन थलोलाई दण्डा लिएका प्रहरीहरूले चारैतिरबाट घेरिराखेका थिए । जनताले सुईंको नपाओस् र पाइहाले पनि थलोमा छिर्न नसकोस् र सजिलैसँग एक पक्षीय सर्जमिन गराउन भनी पहिले नै सरकारले व्यवस्था मिलाएको थियो । जनतालाई गलत स्थान दरबार स्क्वाएरतिर दौडाएर झुक्याए भने यता थलोमा युद्ध शिविरजस्तै प्रहरी घेरा तैनाथ गरे ।
हनुमान घाटनिर स्थानीय सूर्योदय मा.वि. स्कूलको कोठाभित्र सर्जमिनको बयान भई राखेको थियो । उक्त स्कूलबाट अन्दाजी ३० मिटर पर अभियुक्त’ २६ जनालाई गाडीबाटै नओराली थुनिराखेको थियो । सर्जमिन रोहवरमा हुन पाएन ।
‘सर्जमिन बक्न आएको हामीलाई जान देऊ’ भनी सम्बन्धित महिलाहरूले अनुरोध गर्दा प्रहरीहरूले भन्थे ‘पर्ख पर्ख अहिले टाइम आएको छैन, भएपछि पठाइहाल्छौं नि !’ प्रहरीले प्रतिवादी पक्षका महिलाहरूलाई यसरी आलटाल गर्दै थिए भने उता वादी पक्षका पञ्चे, गुण्डा र मण्डलेहरू भने बेरोकटोक घेराबन्दीको भित्र बाहिर गरिरहन्थे । सर्जमिन बक्न आउने महिलाहरू थपिदै थिए । बच्चा बोकेका आईमाईसमेत सकीनसकी खोला तरेर भित्र छिर्न सकिएला कि भनी प्रयासरत थिए । कोही खेतबारीबाट पस्न खोज्दथे । तर, प्रयास विफल हुन्थ्यो । प्रहरीले रोकी हाल्थे । प्रतिवादी पक्षका कोही लोग्ने मान्छे देखा परे वा उनीहरू घेराभित्र पसिहाले भने ‘त यो पनि हो, यसलाई पनि काण्डमा (मुद्दामा) पारिदेऊ’ भनी समाई हाल्थे । निष्पक्ष र स्वच्छको घाँटी यसरी निमोठिँदै थियो ।
महिलाहरू असंयमित हुँदै थियो । कतै प्रहरीहरू उनीहरूसँग जिस्किराखेका थिए । कतै उत्तेजित महिलाहरूलाई सामसुम पार्न फकाई फुलाई गर्दै थिए । ऐन कानुन नियम एउटा देखाउने दाँत मात्र रहेको कुरा अब महिलाहरूले पनि बुझ्न थाले ।
पत्रकारहरू र प्रतिवादी पक्षका वरिष्ठ वकिलहरू पनि त्यहाँ उपस्थित थिए । उनीहरूले भित्र जान पाउन अनुरोध गर्दा ‘कसैलाई नपठाउनु भन्ने आदेश छ’ भनी रोके । नियम कानुनका कुराहरू ती कानुन व्यवसायीहरूले गरे । तर, केही सीप लागेन । सर्जमिन धाँधलीपूर्ण र पक्षपातपूर्ण भएको कुरा प्रष्ट भयो ।
हनुमन्ते नदीको पुल पारिपट्टि बिहान कटुन्जेमा बनाएका षडयन्त्रहरू कार्यान्वयन गर्न गणेशबहादुर खत्री, मदनकृष्ण हाडा, सुरेन्द्रप्रताप शाह, श्यामकृष्ण खम्मु, दिनेश श्रेष्ठ, मङ्गले चगुठी, रमेशराज शर्मा, मृगेन्द्र, हरिशरण आदि भ्रष्ट पञ्च, नव पञ्च र मण्डलेहरू जोडतोडका साथ लागि परिरहेका थिए । रोहित समूह उन्मूलन भएमा वास्तविक अपराधीहरूको पोल नखोलिने, भ्रष्टाचार नउदाङ्गिने, शत्रु साध्न पाउने र भावी चुनाव आफ्नो अनुकूल हुने कुरामा उनीहरू निक्कै आशावादी थिए । उनीहरूको निम्ति रोहित समूहलाई निर्मूल गर्ने सुवर्ण मौका प्राप्त भएको थियो । चन्द्रे, लाले आदि सी.आई.डी.हरू ह्योजुका परिवारहरू नवराज धौबन्जार र अन्य मण्डलेहरू सर्जमिनको रिपोर्ट, भित्रको सर्जमिनको स्थितिबारे बाहिर खत्रीहरूकहाँ पु¥याउँथे । उनीहरूले त्यहाँबाट ‘ह्योजुलाई नारायणमानले नै मार्न लगाएको हो । गोविन्द दुवाल, ज्ञानबहादुर न्याईच्याईले मारेको हो’ भनी कागजमा भएको तयारी पाठ घोकाएर सर्जमिन बक्न पठाउँथे । लोभ, लालच र दबाबमा फसेका यी व्यक्तिहरूमध्ये कतिले पछि गठित नगर पञ्चायत समितिमा र अन्य अफिसमा जागिर पनि पाएका थिए । यसरी भ्रष्ट पञ्च र मण्डलेहरूको मनपरी नियम कानुनविपरीत एकपक्षीय सर्जमिन भइरहेको टुलुटुलु हेरेर बसिराख्नु पर्दा उपस्थित नारीहरूको हृदय भित्र पनि रिसका अंकुरहरू टुसाउन थाले ।
दिन ढल्किन्दै थियो । महिलाहरूको धैर्यको बाँध टुटन थाले । सूर्योदय स्कूलमा पुगिने ६ वटै बाटाहरूमा हाकुपटासी लगाएकी किसान महिलाहरू टन्न बसेका थिए । सर्जमिन बक्न र हेर्नको निम्ति पर्खिरहेका ती महिलाहरू रिस र चिन्ताले आत्तिन थाले । उनीहरूले ‘यो सर्जमिन ठीकसँग भएको छैन, पक्षपात भएको छ, हामीले पनि देखे सुनेका छौं । झन् हामीलाई नै बोल्न नदिने’ भनी आक्रोश व्यक्त गर्न थाले । तर, प्रहरीहरूको बलमिचाइले स्थिति तनावपूर्ण हुँदै थियो । कुनै पनि बेला केही पनि हुन सक्ने स्थितिको आभास पाइन्थ्यो । सर्जमिन गर्न नदिइने षडयन्त्र देखेपछि एक दुई ठाउँबाट महिलाहरू प्रहरीको घेरा तोडी अगाडि बढ्न थाले । प्रहरीले उनीहरूलाई अश्लील गाली गर्दै रोक्न पुगे । महिलाहरू पनि आफ्नै तरहले रिस पोख्दै कराउन थाले । यसैबेला ती अबला मानिने नारीहरूलाई दुव्र्यवहार मात्र गरेको होइन पक्षपातपूर्ण सर्जमिनको विरोधमा साक्षी बक्न अगाडि बढेकाहरूलाई लाठी चार्ज ग¥यो । लाठी चार्जबाट एकजना केटी रत्नकेशरी किसी घाइते भइन् । तब महिलाहरूको रिस चुलीमा पुग्यो । प्रहरी अत्याचाराको विरोधमा आवाज उठे । आइमाइलाई पुरुष प्रहरीद्वारा हातपात गर्न नहुने प्रहरी मर्यादा र नियम थियो । तर, प्रहरीले आफ्नो राक्षसी स्वभाव प्रदर्शन गर्दै मर्यादा र नियमको उल्लङ्घन ग¥यो । आक्रोशित महिलाहरूले लाठी चार्ज गर्ने प्रहरीलाई झम्टिदै घेरामा हाले । पछि अन्य प्रहरीहरू आई सम्झाइ बुझाइ गरी घेरामा परेका प्रहरीलाई फुत्काएर लगे । प्रहरी अत्याचारको सामना गर्न महिलाहरू यसरी तम्सेको देखेपछि प्रहरीमा अब केही नरमपना आयो ।
करीब ३ बजेतिर ३÷४ जना महिलाहरूलाई सर्जमिन गर्न प्रहरी घेराभित्र पठाए । उनीहरू सर्जमिन बक्न जाँदा २०÷२५ जना वादी पक्षका ३÷४ हात लामो बयान त्यहाँ तयार भइसकेको थियो । प्रतिवादी तर्फबाट उनीहरूले साक्षी बकिसकेपछि लेखेको कुरा एक पटक सुनाउनुस् भन्दा ‘लामो कुरा नगर, सुरुक्क यहाँ सही गर’ भनी प्रहरी अधिकृतले आदेश दिए । उता रोहबर गराउन लगिएको ‘अभियुक्त’ हरूले अघिदेखि नियमबमोजिम सर्जमिन गर्न गराउने आवाज उठाइरहेका थिए । धेरै बेरपछि १÷२ जनालाई गाडीबाट उतारे । तर, सुन्न नसकिने गरी टाढै राखे । गोविन्द दुवालबाहेक अरु सबै ‘अभियुक्त’ हरूसँग हतकडी थियो । केही समयपछि दुईजना वृद्ध किसानहरूलाई सर्जमिन बक्न भित्र पस्न दियो । आफूलाई लागेको कुरा भन्नै पाएको थिएन, यही माथि भने बमोजिम त भइ हाल्ने नि, हैन बूढा ल ! यहाँ सही गर’ भनी वादी पक्षले दिएको बयान मुनि नै सही गर्न लगाए । विरोध गर्न सकिने वातावरण नै थिएन । भाषाको पनि समस्या थियो । तर्साउन सजिलो भइहाल्यो ।
सूर्य अस्ताइसकेको थियो । प्रहरी अधिकारी वादी पक्षहरू मण्डले–गुण्डा, भ्रष्ट पञ्च, षडयन्त्रकारीहरू र खटिएर आएको डोर आफ्ना सबै जाली झेली कामकाज सिध्याएर जाने तरखर गर्न लागे । ‘महिलाहरू तुच्छ जाति हुन् । त्यसमा पनि दासको दास मानिएका ज्यापुनीहरूलाई जे गरे पनि हुन्छ, जे भने पनि हुन्छ’ भनी सम्झेका यी सामन्तका पृष्ठपोषकहरूलाई यो थाहा थिएन कि जाली मुद्दामा फसाउन लागिएकाहरूलाई आफ्ना नेता र जनप्रतिनिधिहरूप्रति उनीहरू कति माया, ममता र सदभाव राख्छन् । सर्जमिनमा भएको धाँधलीले उनीहरूको मन आक्रोशित थियो । साँझको ७ बज्यो । अँध्यारो छायो । सर्जमिन सिध्याएर गाडीहरू परोपकारतिर ओरोलो लाग्दै थिए । सबभन्दा अगाडि केही प्रहरी भएको अफिसरहरूको गाडी, बीचमा ‘अभियुक्तहरू’ राखिएको गाडी त्यस पछाडि प्रहरीले भरिएको खुल्ला भ्यान पङ्क्तिबद्ध भएर अगाडि बढ्यो । पञ्चायती काल कोठरीमा फेरि फर्काउन लगिरहेका आफ्ना नेता, कार्यकर्ता एवं जन प्रतिनिधिहरूको मुख हेर्न, महिलाहरूको भीड तम्तयार भई बसेका थिए । लाठी, बूट, जेल, नेल, दमन, अन्याय अत्याचारको भरमा चलेको पञ्चायती सरकारले महिलाहरूलाई सम्झाउने, बुझाउने र स्थितिलाई शान्तपूर्वक सम्हाल्ने कुनै प्रयासै गरेन । बाटामा एकत्रित हजारौं महिलाहरूलाई लठ्ठी के हल्लाउँदै, डर धम्की त्रास देखाएर बाटो छोडाउँदै भीड छिचोल्न खोजिरहेको थियो । अभियुक्तहरू बसेको गाडीबाट आवाज निस्कँदै थियो– ‘यो जाली मुद्दा हो साथीहरू सर्जमिन पक्षपातपूर्ण भएको छ ….. ।’
प्रहरी गाडीको त्यो जालीदार झ्यालबाट ‘अभियुक्त’ हरूको अनुहार पल्याक पुलुक देखिन सक्तथ्यो । महिलाहरूको हकहितको निम्ति पनि उत्तिकै चासो राखेर काम गर्ने ती ‘अभियुक्त’ हरूप्रति न्यानो र जोशिलो अभिवादन टक्र्याउन हजारौं हातहरू हल्लिए । एकक्षणपछि ती हातका मुठ्ठी कसेर महिलाहरूले जोशिलो नारा लगाए– धाँधलीपूर्ण सर्जमिन बदल्नुपर्छ ! पक्षपाती सर्जमिन मुर्दावाद ! दोहोरो सर्जमिन हुनैपर्छ ! का. रोहितलाई छोडि देऊ ! जाली मुद्दा खारेज गर ! हनुमानघाटको आकाश यी नाराहरूले गुन्जियो । स्कूल क्याम्पसमा तिनीहरूले पढ्न पाएका थिएनन्, तिनीहरूले राजनीतिका ठूलठूला ग्रन्थसँग पनि त्यति चासो राखेर बुझेका थिएनन् । तर, पञ्चायती सरकारले भक्तपुरका जनता र कार्यकर्ताहरूमाथि गरेको अन्याय–अत्याचार बुझेर त्यसैको विरोधमा किसान महिलाहरू जुर्मुरिएर उठे । जहाँ बढी दमन हुन्छ त्यहीँ ठूलो विष्फोट हुन्छ भन्ने कुरा यहाँ पनि सावित भयो । बाँकी रहेका स्थानीय जाली फटाहा पञ्च मण्डले र सी.आई.डी.हरू, महिलाहरूको त्यो आवाज सुनेर सुइँकुचा ठोके । नारा लगाउँदै महिलाहरू गाडीको पछि पछि लागे । सरकारी र षडयन्त्रकारीहरूको पक्षपातपूर्ण सर्जमिनप्रति मात्र त्यो आक्रोश थियो । तिललाई पहाडै देख्ने ती भरौटे प्रहरीहरू हनुमन्ते पुलको आधाआधी पुग्दा नपुग्दै गाडी रोकी तल ओले । फेरि त्यहाँ लाठी चार्ज गर्दै महिलाहरूलाई लखेट्न थाले । दुर्वल महिलाहरू बिचल्लीमा परे । दिनभरीको भोक, प्यासले थकित महिलाहरू, बच्चा हातमा लिएका महिलाहरू पनि सिस्नाको झाङमा लडे , कति कुल्चिए, जगाती हुँदै सबै गाडीहरू काठमाडौँ फर्के । अँध्यारोमा लडेका, ठोकिएका महिलाहरू धुलो टक्टक्याउँदै फेरि झुण्ड झुण्डमा जम्मा भए । यतिकैमा नजिकै यातामा तालीको गडगडाहट आवाज सुनियो । महिलाहरूको भिड उतैतिर लागे । महिलाहरूको त्यहाँ ठूलो सभा भयो ।
सभामा धाँधली र पक्षपातपूर्ण सर्जमिनप्रति तीव्र आक्रोश आफ्नै भाषा र शैलीमा व्यक्त गरियो ।
महिलाहरूको त्यो सभा जुलुसमा परिणत भयो । मुठ्ठी कसेका ती हजारौं कोमल हातहरू पञ्चायती षडयन्त्रको विरोधमा आकाशतिर तेर्सिए । नारी कण्ठबाट नारा घन्क्यो । जाली मुद्दा–खारेज गर ! पक्षपातपूर्ण सर्जमिन–मूर्दावाद ! धाँधली पूर्ण सर्जमिन–बदल्नैपर्छ ! का. रोहितलाई छोडि देऊ ! हाम्रा साथीहरूलाई छोडि देऊ ! दोहोरो सर्जमिन गर्नै पर्छ ! …. दशौं हजार महिलाहरूको आक्रोशले भरिएको तीखो त्यो गगनभेदी नाराले टोल थर्कियो । असङ्ख्य नारीहरूको त्यो ऐतिहासिक जुलुस बिस्तारै अगाडि बढ्यो । महिलाहरूको त्यो सत्य र न्यायको पक्षमा घन्केको नारा जुलुस सँगसँगै भक्तपुरको मूल सडकमा गुञ्जिन पुग्यो । जुलुसमा सहभागी आक्रोशित केही महिलाहरू जुलुसलाई दरवार क्षेत्रतिर बढाउने र प्रशासनको कानैमा हाम्रो आवाज राख्नुपर्छ भन्न थाले । तर, स्थिति अनुकूल नभएको बोध गरी रामझुपडी (गोलमढी) को दबूमै जुलुस बिसर्जन गर्ने सल्लाह भयो । दबुमा उक्लेर एक व्यक्तिले पञ्चयती षडयन्त्रको तीव्र निन्दा विरोध गर्दै आगामी दिनहरूमा सङ्घर्षको परम्परालाई अगाडि बढाउन आह्वान गर्दै जुलुस–सभा बिसर्जन गरे । सहभागी महिलाहरूलाई आ–आफ्नो घर फर्कन अनुरोध गरे ।
त्यो जुलुस छोटो थियो तर महत्वपूर्ण थियो, पूर्वयोजना थिएन परन्तु अनुशासित थियो । त्यसैले हाकुपटासी लगाएका ती दशौं हजार महिलाहरूको उक्त अभूतपूर्व जुलुस एउटा ऐतिहासिक महत्वकै घटना बन्यो ।
आक्रोसित महिलाहरू एकछिन अल्मलिए र बिस्तारै घरतिर लागे । आक्रोश र चिन्ताले कोरिएका रेखाहरू उनीहरूको अनुहारहरू अझै विलिन भइसकेको थिएन ।
समाजका दलित पीडित र अबला मानिएका ती आधा जनसङ्ख्या पनि अन्यायी, अत्याचारी सरकारको विरोधमा जुलुस प्रदर्शन र अरु सङ्घर्ष गर्न सक्छ भने कुरालाई ०४५ साल आश्विन १ गतेको उक्त प्रदर्शनले प्रमाणित ग¥यो । भक्तपुर काण्ड र त्यसपछिका २ वर्षमा भक्तपुरका किसान महिलाहरूले खेलेको भूमिकाबाट यसलाई प्रष्ट पार्दै आएको छ । काण्डकै बेला घर टोलको रखवारी गर्न र जनतालाई प्रहरी आतङ्कबाट सचेत पारी राती महिला घुम्ती टोली बनाउनु, ०४६ को जनआन्दोलनमा आफ्नै प्रकारले योगदान दिनु, जन आन्दोलनमा घाइते भएका अनशनकारी घाइतेहरूको माग पूरा गराउन ने.म.कि. सङ्गठन भक्तपुर जिल्ला समितिको तत्वावधानमा भएको विशाल जुलुसमा पुरुषहरूसँगै हज्जारौं सङ्ख्यामा भाग लिनु उदाहरणीय छन् । अब त ती महिलाहरू आफ्नै वर्गीय सङ्गठन नेपाल क्रान्तिकारी महिला सङ्घमा आवद्ध भई महिलाहरूको हक हितको साथै देश र जनताको सेवामा अझ सक्रिय रूपले लाग्न सक्षम हुनेछन् । उक्त सङ्घको तत्वावधानमा ०४७ साउन २८ गते भएको महँगीविरुद्ध र अन्य सम–सामयिक माग राखी हजारौं महिलाहरूको जुलुसले बजार परिक्रमा र सभा आयोजना गरेबाट देश र जनताको हक हितको निम्ति किसान महिलाहरूले पनि आफ्नो कर्तव्यबोध गरेको छ भन्ने कुरा व्यवहारमा सावित गरी दिएको छ ।
सारमा पञ्चायती राज्य स्तरबाट रचिएको षडयन्त्रमा निर्दोष मानिसहरूलाई फसाउँदा नारी आक्रोश पनि सामना गर्नुप¥यो र षडयन्त्रकारी पञ्चायत पतन हुने लक्षण भक्तपुर काण्डकै बेलादेखि प्रबल हुँदै आएको थियो । त्यसको २० महिनापछि पञ्चामत ढल्यो । यसमा किसान महिलाहरूको भूमिकालाई कहिल्यै नकार्न सकिँदैन ।
स्रोत ः आवाज, भक्तपुर काण्ड, विशेष अङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *