भर्खरै :

‘भक्तपुर काण्ड’ निरङ्कुश सत्ताको प्रतिशोध

कृष्णकुमार वैद्य, काभ्रे
व्यभिचारीहरू यतिबिघ्न घिनलाग्दा हुँदारहेछ, मानिस विपद्मा परिरहँदा आफ्नो दुनो सोझ्याउन अनेक जालझेल र षड्यन्त्र बुनिरहेका हुन्छन् भन्ने तीतो यथार्थ २०४५ भदौ ९ को ‘भक्तपुर काण्ड’ मा गरिहो गरी अनुभव भयो । हुन त इमानदार जनसेवीहरू प्रतिक्रियावादीहरूको आँखामा बिझाउने गर्छन् । न्यायप्रेमी जनतालाई जनताका सेवक कार्यकर्ता ने आँखाको नानीझैँ प्यारो लाग्छ र माया गर्छन् ।
२०४५ भदौ ५ गते बिहान पौने पाँच बजे पूर्वी नेपालको उदयपुर जिल्लास्थित मुर्कुची केन्द्रविन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पले पूर्वमा धरान र उपत्यकाको भक्तपुरमा बढी क्षति पु¥याएको समाचार प्रसारण भयो । काभ्रेपलाञ्चोक जिल्ला भक्तपुर जिल्लाको छिमेकी जिल्ला हो । भक्तपुरमा के कस्तो अवस्था रह्यो भन्ने जानकारी लिन साथी धर्मलाल मानन्धर र म भक्तपुरतिर गयौँ । बाटामा भत्किएका घर, पर्खालहरू यत्रतत्र अलपत्र परेका थिए ।
हामीले देखेको अस्तव्यस्त अवस्थाबारे नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छें समक्ष अवगत गराउने ध्येयले उहाँलाई भेट्न गयौँ । कार्यकर्ताको हैसियतले नेतृत्वसमक्ष क्षतिग्रस्त ठाउँका जनताको अवस्था अवगत गराउनु हामीले आप्mनो कर्तव्य ठान्यौँ । हामी उहाँ कहाँ पुग्दा भक्तपुरका कार्यकर्ताहरू अगाडि नै पुगिसकेका रहेछन् । हामीले पनि उहाँसँग भेट ग¥यौँ । श्रद्धेय अध्यक्षज्यू अस्वस्थ देखिनुहुन्थ्यो । उहाँले तत्कालीन अवस्थामा घर भत्केका जनतालाई सुरक्षितसाथ बस्ने र खाने बन्दोबस्त मिलाउन र भग्नावशेषहरू पनि राम्रोसँग पन्छाउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । उहाँ कार्यकर्ताहरूमाझ व्यस्त हुनुहुन्थ्यो । हामी लामो समय त्यहाँ अल्मलिने अवस्था थिएन । श्रद्धेय अध्यक्षबाट बिदा लिएर हामी चोक, गल्ली चहार्दै साँझतिर जगातीबाट गाडी चढ्यौँ । साथी धर्मलाल मानन्धर र म तीनदोबाटोमा ओर्लियौँ । साथीलाई तीनदोबाटोस्थित उहाँको घरमा पठाएर म आप्mनो पसल चाँदनीचोक आएँ ।
त्यसको केही पछि एक दिन पसलमा बस्दै गर्दा दाइ देवेन्द्रकुमार वैद्य आएर ‘भक्तपुरमा कर्ण ह्योजुलाई मारे रे, नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता सबैलाई पुलिसले खोजिरहेका छन् रे’ भन्ने खबर दिए । त्यो खबर सुनेर म अक्कमक्क परेँ । साथीलाई खबर गरी म पसल थुनेर घर गएँ । मलाई पनि प्रहरीको चहल पहल बढेको र निगरानी गर्न थालेको आभास भयो ।
भोलिपल्ट घरमा बस्न नहुने अवस्था देखेर बुबा आमालाई जानकारी दिएर बनेपाको उत्तरी जङ्गलतिर जाने निधो गरेँ । घोकेचौरमा साथी हरिबहादुरको घरमा गएँ । उहाँ बारीमा भेटिनुभयो । उहाँको परिवार बारीमा काम गर्दै थियो । नर्कटले बार लगाएको भएर झट्ट बाहिरबाट भित्रका मानिस देखिँदैनथ्यो । एकक्षण साथीसँगै बारीमा बसेँ । साथीसँग छलफल गरेँ । उहाँका अभिभावकहरू सामान्य किसान भएकोले हाम्रो कुराप्रति खासै चासो राख्नुभएन । हामी दुईले सल्लाह गरेर जङ्गलको बाटो भएर नालामा जाने निधो ग¥यौं । बारीमा खाजा खाएर हामी दुवै जङ्गलको बाटो लाग्यौँ ।
बाटैबाटो लाग्दा प्रहरीको फन्दामा पर्ला भनी हामी पाखा भित्ता हुँदै नाला गयौँ । नालामा साथीको फुपूको घर थियो । फुपूको घर पुग्दा अँधेरो भइसकेको थियो । यति अँधेरोमा किन आएको भनेर सोध्नुभयो । हामीले भक्तपुरको घटनाले बनेपामा बस्न अनुकूल नभएको कुरा सुनायौँ । हाम्रो कुरा सुनेर फुपूले आपूmलाई प्रहरीको डर लागेकोले घरमा राख्न नसकिने बताउनुभयो । त्यहाँ कर गरेर बस्नु उचित लागेन । रात परिसकेको थियो । तर, पनि हामी बरु बनेपामा नै फर्कने, कतै न कतै बस्ने ठाउँ खोज्ने विचारले फर्कियौँ ।
हामी गएकै बाटो फर्केर पुनः घोकेचौर आयौँ । भैरवकुण्डनेर एउटा सानो होटल थियो । चिनेको भएर उहाँलाई बोलायौँ । यति राति किन यहाँ आयौ भनी सोधे । हामीले काम विशेषले घरमा आउन ढिलो भएकोले यहीँ खाजा खाएर जाने भनेर आएको भन्यौँ । पसलमा चिउरा र थोरै दहीमात्र बाँकी रहेछ । त्यही खायौँ र पैसा तिरेर हामी निस्क्यौँ । हुन त हामी हाम्रो घर नजिक पुगेका थियौँ । यद्यपि घर जानु उपयुक्त देखेनौँ । त्यसपछि हामी दुवै पुराना किसान कार्यकर्ता आशामरु सुवालको घर भीमसेन स्थान गयौँ । राति उहाँको ढोका घचघच्याएर उठायौँ । किन यति राति आयौ भनेर सोध्नुभयो । हामीले भएको सारा कुरा बताएपछि उहाँले अब के गर्छौ त भनी सोध्नुभयो । उहाँको घर पनि काँचो इँटाको सानो घर भएकोले आप्mना परिवारसमेत बल्लतल्ल अटेको थियो । हामीले घरभित्र बास माग्नु उचित ठानेनौँ । उहाँको सानो गोठमा भैँसी थियो । गोठमा भैँसीलाई मात्र पुग्ने ठाउँ थियो । भैँसीलाई खुवाउन परालको जोहो गरेर कुन्यू लगाइएको थियो । परालको कुन्यु ठूलठूला थिए । परालको बिट्टा थुतेर कुन्यूभित्र सुत्ने निधो ग¥यौँ । उहाँले परालको बिट्टा निकालेर कुन्यूभित्र दुई जना सुत्न लायक ठाउँ बनाएर सुकुल ओछ्याई दिनुभयो । हामीभित्र पस्यौँ, उहाँले बाहिरबाट परालको बिट्टाले छेकी दिनुभयो ।
बिहान सबेरै हामी उहाँसँग बिदा मागेर घर हिँड्यौँ । केही दिन दिउँसो यताउति लुकेर बस्ने र रातमा पनि सतर्क भएर सुत्ने ग¥यौँ । काभ्रेपलाञ्चोक जिल्लाका साँगा, बनेपा, नाल्दुमलगायत नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता भएको ठाउँमा प्रहरी घर–घर चहार्ने र आतङ्कित बनाउने काम गरे । कतिपय साथीहरू जिल्ला बाहिर महिनौँ बिताएर फर्के ।
‘भक्तपुर काण्ड’ को त्रासदी भक्तपुरमा मात्र सीमित थिएन । बाहिर जिल्लामा पनि भएको दमनले ‘भक्तपुर काण्ड’ नेपाल मजदुर किसान पार्टीलाई नष्ट गर्ने हेतुले रचिएको षड्यन्त्र नै हो भन्ने तथ्य पुष्टि भयो । नेपाल मजदुर किसान पार्टीको लोकप्रियताले जलेका निरङ्कुश सत्ता पक्षको प्रतिशोधकै कारण ‘भक्तपुर काण्ड’ रचिएको हो । ‘जो आगोमा खेल्छ त्यो आगोमै मर्छ, जो पानीमा खेल्छ त्यो पानीमै मर्छ’ भनेझैँ नेपाल मजदुर किसान पार्टीलाई सिध्याउन खोज्दा निरङ्कुश पञ्चायत आफंै समाप्त भयो ।
सत्ताको आडमा आज पनि प्रतिक्रियावादीहरू सही सत्य माथि धावा बोल्न खोज्छन् । विचार र सिद्धान्तको भन्दा धन र बलको लिँडेढिपी गर्ने गर्छन् । भिन्न मतलाई निषेध गर्न अनेक बाधा व्यवधान तेस्र्याउँछन् । आप्mनालाई शत्रु ठानेर पराइको पाउ पर्छन् । तसर्थ प्रतिक्रियावादीहरू खोपीमा षड्यन्त्र बुनिरहेको हुनसक्छ । सचेत रहनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *